एनआइसी एसियाको त्यो विज्ञप्ति, जसले पार्‍यो बैंकिङ क्षेत्रलाई एक घण्टा तरंगित, ‘गल्तीले भयो’

बिजमाण्डू
२०७६ मंसिर ४ गते १०:१३ | Nov 20, 2019
एनआइसी एसियाको त्यो विज्ञप्ति, जसले पार्‍यो बैंकिङ क्षेत्रलाई एक घण्टा तरंगित, ‘गल्तीले भयो’

Tata
GBIME
Nepal Life

काठमाडौं। एनआइसी एसिया बैंकले मंगलबार एउटा विज्ञप्ति जारी गर्‍यो- बचत खातामा साढे नौ प्रतिशत ब्याजको।

जारी भएको एक घण्टामै बैंकले यसलाई गल्तीले छापिएको विज्ञप्ति भन्यो। तर यो एक घण्टामा भने बैंकिङ क्षेत्र निकै तरंगित भएको थियो। 
बचतमा साढे नौ प्रतिशत ब्याज दिएपछि अरु बैंकको निक्षेप एनआइसी एसियामा सर्ने अवस्था थियो। बचत मात्रै नभइ संस्थागत निक्षेपकर्ताको 'कल डिपोजिट' पनि एनआइसी एसियामा सर्ने निश्चित थियो।

बैंकहरुले भद्र सहमति गरेर बचतमा अधिकतम साढे ६, ब्यक्तिगत मुद्दतीमा ९.७५ र संस्थागत मुद्दतीमा ९.६ प्रतिशतसम्म ब्याजलाई टिकाइ रहेका छन्। भद्र सहमतिका नाममा डेढ वर्षदेखि चलेको यो कार्टेलिङ मंगलबार अचानक एनआइसी एसियाले तोड्यो भनेर पुरै बैंकिङ क्षेत्र नै तरंगित भएको हो।

यो विषयमा राष्ट्र बैंकसम्मको ध्यानाकर्षण भएको थियो। 'यो के गरेको ?' भन्दै राष्ट्र बैंकका अधिकारीहरूले एनआइसी एसिया ब्यवस्थापनसँग चासो राखेको थियो। बैंकर्स संघले पनि एनआइसीसँग कुराकानी गरेको थियो।

एनआइसी एसियाले 'यो मुद्दती खाता नै हो, तर बचत भन्ने शब्द बढि परेर गल्ति भएको' प्रष्टीकरण सबैलाई दिएको थियो। त्यसपछि बैंकले आफ्नो पुरानो विज्ञप्ति सबै सञ्चार माध्यमलाई फोन गरेर नछाप्न आग्रह गरेको थियो। 

बुधबार बैंकले विज्ञप्ति जारी गर्दै मंगलबारको विज्ञप्तिका बारेमा प्रष्ट पारेको छ। 

बैंकले विज्ञप्तिमा भनेको छ- आफ्ना ग्राहक महानुभावहरुलाई अधिकतम लाभ प्रदान गर्ने उद्देश्यले “सुपर चमत्कारिक मासिक निक्षेप खाता” योजना सार्वजनिक गरेको जानकारी गराउदै उक्त योजना बैंकको “सुपर चमत्कारिक रिकरिङ्ग निक्षेप खाता” को नाम परिर्वतन मात्र रहेको समेत जानकारी गराइन्छ। 

आम जनमासहरुलाई सजिलोसँग बुझ्न र बुझाउन सजिलो होस भन्ने हेतुले यस योजनालाई “सुपर चमत्कारिक मासिक निक्षेप खाता” भनि नामाङ्कन गरिएको बैंकको नयाँ विज्ञप्तिम उल्लेख छ।