दौंतरी बैंकले छलाङ मार्दा सिभिल किन सानो देखिँदैछ?




काठमाडौं। सिभिल, जनता, मेगा र सेञ्चुरी कमर्सियल दौंतरी बैंक हुन्। उस्तै प्रकृतिको व्यापार, उत्तिकै निक्षेप तथा पूँजी। 

सातमध्ये सुरुका चार बर्ष यी बैंकको रफ्तार एउटै थियो। राष्ट्र बैंकले दुई अर्ब रुपैयाँको चुक्ता पूँजीलाई दुई बर्षभित्रै ८ अर्ब रुपैयाँ पुर्याउन निर्देशन दिएपछि बाँकी बैंक अगाडि बढे, सिभिल भने पछि पर्यो।

TATA
SANIMA new
Jagdamba Steel

चालु आर्थिक बर्षको पहिलो त्रैमास (साउनदेखि असोज) सम्म आइपुग्दा नाफामा 'ख' वर्गका तीन विकास बैंकले समेत सिभिललाई उछिनिसकेका छन्।

पूँजी वृद्धिको 'घुम्ति' मा सिभिल यसरी अल्मलियो, आफूसँगै यात्रा थालेकाहरु निकै अगाडि बढे, उसको प्रतिस्पर्धा विकास बैंकहरुसँग हुन थाल्यो।

नौं महिना मात्रै जेठो जनता बैकले पूँजी वृद्धि योजनापछि मर्जरलाई प्राथमिकतामा राख्यो। जनताले त्रिवेणी विकास बैंक र सिद्धार्थ डेभलपमेन्ट बैंकलाई गाभ्यो। 

मर्जरअघि जनतासँग कुल निक्षेप २२ अर्ब र ऋण प्रवाह २१ अर्ब रुपैयाँ थियो। त्यतिबेला सिभिलसँग २८ अर्ब निक्षेप र २७ अर्ब ऋण प्रवाह थियो।

मर्जरपछि जनताको निक्षेप ४८ र ऋण ४६ अर्ब रुपैयाँ पुग्यो। सिभिलले पनि मर्ज त गर्यो तर व्यापारभन्दा पूँजी धेरै भएको कम्पनी- आइएलएफसी फाइनान्ससँग।

सिभिलले मर्ज गर्दा उसँग २ अर्ब रुपैयाँ पूँजी थपियो तर ऋण प्रवाह १ अर्ब र निक्षेप डेढ अर्बले मात्रै बढ्यो। 

त्यसबेला चार बैंकमध्ये दोस्रोमा रहेको सिभिल आज फर्किएर हेर्दा सबैभन्दा अन्तिममा पुगेको छ। आज जनताको निक्षेप ७५ अर्ब पुगेको छ, सिभिलको ४३ अर्ब। अझसँगै अगाडि बढेको मेगाको निक्षेप ८० अर्ब हाराहारी पुगेको छ। जनता चाँडै ग्लोबल आइएमइ बैंकसँग विलय हुँदैछ भने मेगाले पनि गण्डकी विकास बैंकलाई गाभेर अर्को फड्को मार्दैछ।

ऋण लगानीमा पनि सिभिल तल छ। सिभिलसँग ४४ अर्ब ऋण छ भने जनतासँग साढे ६८ अर्ब रुपैयाँ छ। सिभिलभन्दा एक तह माथि रहेको सेञ्चुरीसँग साढे ५८ अर्ब रुपैयाँ ऋण लगानी छ।

'पूँजी वृद्धिपछिको रणनीति फरक हुँदा समकालिन बैंकसँगको व्यापार दूरी फराकिलो बन्यो' सिभिलका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बिजमाण्डूसँग भने, 'हामी मर्जरपछि २८ अर्बको निक्षेप साढे २९ अर्बमा पुग्यौं। जनता बैंक २१ अर्बबाट ४६ अर्बमा उक्लियो।'

मर्जरले जनताको व्यापार मात्रै बढाएन सञ्जाल पनि विस्तार गर्यो। सिभिलले पनि मर्ज गरेको थियो, तर जनताको तुलनामा निकै कम सञ्जाल विस्तार भयो। सिभिल ३६ बाट ५१ शाखामा उक्लियो भने जनता एकैचोटी १०४ स्थानमा पुग्यो।

सेञ्चुरी र मेगा बैंकले पनि व्यापारसँगै पूँजी वृद्धि गर्न मर्जरलाई प्राथमिकतामा राखे। सेञ्चुरीले क्षेत्रीयस्तरका ६ वटा वित्तीय संस्थालाई गाभ्यो। जसले गर्दा सेञ्चुरीको निक्षेप १८ अर्ब र ऋण १६ अर्ब रुपैयाँले बढ्यो। 

मेगा बैंकले पनि टुरिज्जम र पश्चिमाञ्चल विकास बैंकलाई गाभ्यो। यसबाट मेगाको निक्षेप २० अर्ब र ऋण प्रवाह १८ अर्ब रुपैयाँले वृद्धि भयो। शाखा सञ्जाल पनि उल्लेख्य रुपमा विस्तार भयो।

'८ अर्ब रुपैयाँ पूँजी पुर्याउने नीति आइसकेपछि हामीले जस्तै अरु बैंकले पनि मर्जरलाई अगाडि सारे,' गुरुङले भने, 'अरु बैंक पूँजीका साथै व्यापार सिनर्जीमा गए। हामी पूँजी जोहोमा गयौं। त्यहाँदेखि भएको ग्याप अहिलेसम्म पनि कायम छ।'

रणनीति कहाँ फेल खायो?
बैंकको वित्तीय विवरणहरु अध्ययन गर्दा दुई अर्ब पूँजी बोकेर आइएलएफसी सिभिलसँग आउँदा १९ प्रतिशत खराब ऋण पनि भित्रिएको थियो। त्यसअघि मर्ज गरिएको एक्सिस डेभलपमेन्ट बैंक र सिभिल मर्चेन्टमा पनि खराब ऋण थियो।

सिभिलको आफ्नै पनि कतिपय ऋणहरु बिग्रिएको थियो। यी सबै खराब ऋणलाई व्यवस्थापन गरेर पाँच प्रतिशतभन्दा तल झार्नु पर्ने थियो। व्यवस्थापन त्यतातिर अल्मलियो भने सञ्चालकहरु थप पूँजी जोहोमा लागे।

पूँजी वृद्धि चल्दै गर्दा बैंकिङ क्षेत्रमा तरलता अभाव चर्किँदै गयो, जुन आजसम्म पनि कायम छ। जसको शाखा सञ्जाल धेरै ठाउँमा छ, उसलाई तरलता अलिक सहज भयो भने कम हुनेलाई गाह्रो। कम सञ्जाल भएका कारण सिभिलले अभावसँग नराम्रोसँग जुध्नु परेको थियो। 

पूँजी जुटेपछि ऋण प्रवाह आफै बढ्छ भन्ने हिसाबले व्यापार नभएको कम्पनी ताक्दा सिभिलको रणनीति 'फेल' भएको देखिन्छ। 'हो, हामीले पूँजी मात्रै ल्यायौं। हामीसँगैका बैंकले व्यापार पनि ल्याए। यदि व्यापारको सिनर्जी नपाएको हुँदो हो त ती पनि हाम्रै हाराहारीमा हुन्थे,' गोविन्द भन्छन्। 

त्यसबेला पूँजी जुटाउन लिएको रणनीति सही भएको उनको तर्क छ। यदि दुई अर्ब पूँजी भएको आइएलएफसीसँग मर्ज नगरेको भए सिभिललाई ८ अर्ब पुर्याउन गाह्रो हुन्थ्यो। हकप्रदबाट ५०/६० प्रतिशतभन्दा बढि पूँजी उठाउन गाह्रो थियो। 

'हाम्रो रणनीति गलत थिएन। अलिक फरक तरिकाले हिँड्दा व्यापार बिस्तार गर्न भने नसकिएको हो,' उनले भने, 'त्यसबेला हामीले लिएको रणनीति आज आएर गलतजस्तो देखिएको छ। तर त्यतिबेला पूँजीका हिसाबले ठिक रणनीति थियो।'

त्यसबेला सिभिलसँग मर्ज गर्न दर्जनौं संस्थाका प्रतिनिधि छलफलमा बसेका थिए। उनीहरुका अनुसार, सिभिल पक्षले २/४ रुपैयाँका लागि पनि धेरै मोलमोलाइ गर्यो। शेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) एक रुपैयाँ भएपनि नछाड्ने वार्गेनिङ सिभिल सञ्चालकहरुले गरेका थिए। 

'अति नै धेरै बार्गेनिङका कारण सिभिलभन्दा अरु बैंकसँग मिल्न सहज भयो' सिभिलसँग कुराकानी नमिलेपछि अर्कै संस्थामा गएका एक शेयरधनीले भने, 'दुई/चार रुपैयाँका लागि लोभ नगरेको भए आज सिभिलको ब्यापार नै धेरै माथि पुग्थ्यो।'

सिभिलले ९० रुपैयाँ दिन्छु भनेको संस्थालाई अर्को बैंकले ९१ दिएर लग्यो। ८५ दिन्छु भनेकोलाई ९० रुपैयाँ दिएर लग्यो। ९४ रुपैयाँ दिन्छु भनेकोलाई अर्को निक्कै राम्रो बैंकले ८५ रुपैयाँसमेत दिएर लगेको थियो। 

सिभिलसँग १०० रुपैयाँ मागियो। सिभिलले ९० रुपैयाँभन्दा हुँदैन भन्यो। अन्तिम मूल्य ९७ रुपैयाँ दिनुस् भनेर आए। सिभिल ९० रुपैयाँभन्दा टसमस भएन। 

'मर्जरमा शेयर मूल्यका लागि मोलमोलाइ सामान्य हो। लगानीकर्ताको 'भ्यालु' बढाउनु पर्छ भन्नु गलत होइन,' गुरुङले भने, 'कुराकानी गरेका सबैसँग मर्जर कहाँ सम्भव हुन्छ र?

सिभिलको मोलमोलाइका कारण राम्रा संस्थाहरु अरुतिर पुगे। सिभिलसँग छनौट विकल्प पनि कम हुँदै गएको थियो। अन्तिममा उसले पूँजी बढाउने उद्देश्य पुरा हुने संस्थासँग मर्जर गर्यो।

जानकारहरुका अनुसार, सिभिलले मर्जरमा धेरै मोलमोलाइ गर्नुको पछाडिको कारण- पूँजी वृद्धि योजना फिर्ता हुन्छ भन्ने विश्लेषण थियो। किनभने बैंकका अध्यक्ष इच्छाराज तामाङ संसदको अर्थ समितिमा थिए।

उनले पूँजी वृद्धि योजना टार्नका लागि लबिङ गरिरहेका थिए। समितिले राष्ट्र बैंकका गभर्नरदेखि उच्च तहका अधिकारीहरुलाई बोलाएर दुई बर्षको समय कम हुने भन्दै बढाउन दबाब दिइरहेको थियो। अर्कोतर्फ पूर्वअर्थमन्त्रीहरु डा. रामशरण महत, सुरेन्द्र पाण्डेलगायत पनि पूँजी समय बढाउन दबाब दिइरहेका थिए।

राष्ट्र बैंकले आफ्नो निर्णय पुनर्विचार गरेन। बरु एफपिओ र हकप्रदबाट पनि पूँजी जुटाउन सकिने विकल्प दियो। अन्तत: सिभिल पूँजी जुटाउन वाध्य भयो।

त्यसबेलासम्म राम्रा संस्थाहरु अरुतिर गइसकेका थिए। सिभिल पूँजीका लागि आइएलएफसीलाई भित्र्याउने निर्णयमा पुग्यो। 

पूँजीको आवश्यकता अरुलाई पनि छ, त्यसैले मोलमोलाइ गर्दा सस्तोमा आइहाल्छन् नि भन्ने सोच सिभिल सञ्चालक समितिलाई भयो। सिभिलजस्तै पूँजीदेखि व्यापारसम्म आवश्यक परेका अरु संस्थाहरु पनि थिए। एक/दुई रुपैयाँको अहिले मूख नहेरौं पछि कमाउँला भन्ने ती संस्थाले सोचे र आफ्नो उद्देश्य पुरा गरे। राम्रो मूल्याङ्कनमा संस्थाहरु लिएर गए। सिभिल पछाडि पर्यो। 

'हाम्रो उद्देश्य पूँजी सिनर्जी थियो, जुन हामीले हासिल गर्यौं। त्यसबेला व्यापार सिनर्जी पनि आउने रहेछ त्यतातिर भने हाम्रो फोकस कम भएकै हो,' गुरुङले खुलाए, 'तैपनि व्यापार वृद्धिलाई हेर्दा हामी अरुभन्दा धेरै पछाडि भने छैनौं।' 

अब के गर्दैछ सिभिल?
सिभिल बैंक व्यवस्थापनलाई लागेको छ- अब व्यापार विस्तार गर्ने हो भने स्रोतको जोहो गर्नु पर्छ। त्यसका लागि शाखा सञ्जाल विस्तार गर्नु पर्छ।

सिभिलसँग अहिले १०१ वटा शाखा छन्। गत बर्ष बैंकसँग जम्मा ७३ वटा शाखा थिए। पूँजी वृद्धिपछि बैंकले ५० वटा शाखा थपिसकेको छ। 

'अहिले खोलिएको ५० वटा नयाँ शाखाबाट प्रतिफल आउन समय लाग्छ। तर खर्च भने भइसकेको छ। पूँजीदेखि कर्मचारी ब्यवस्थापनसम्म खर्च भएको छ,' गुरुङले भने, 'त्यसको आउटपुट आउन एक बर्षदेखि ३ बर्षसम्म लाग्छ।'

व्यापार कम भएकै कारणले बैंकलाई 'कमजोर' मान्न नहुने उनले बताए। बैंकलाई अगाडि बढाउन मर्जरको ढोका खुला राखेर आन्तरिक रणनीतिमा काम भइरहेको उनले सुनाए। 'अब सिभिलले व्यापार सिनर्जीका लागि मर्ज गर्छ,' उनले भने।

सिभिलका लागि मर्जर निर्विकल्प छ। तैपनि मर्जर नभएमा बैंक शाखा विस्तारमा अगाडि बढ्ने भएको छ। बैंकले अरु १९ वटा शाखा थप्दैछ। यसमध्ये आगामी १० गते तीन वटा खुल्दैछन्।
 
व्यापार गर्न स्रोत चाहिने भएकाले त्यो जुटाउन सञ्जाल विस्तारमा लागेको गुरुङले बताए। 'हामीले बचत संकलनमा जोड दिएका छौं। कल डिपोजिटको हिस्सा घटाउँदैछौं,' उनले भने। सिभिलसँग केही अघिसम्म २४ प्रतिशतसम्म कल डिपोजिटमा पैसा थियो। अहिले घटेर १४ प्रतिशतमा आएको छ। यसलाई अझै घटाउने योजना छ।

बैंकसँग अहिले बचत तथा चालु खातामा कुल निक्षेपको २९.७ प्रतिशत हाराहारी पैसा छ। यसमध्ये २४ प्रतिशतजति बचतमै छ। बचत तथा चालु गरेर निक्षेपको हिस्सा ६० प्रतिशतसम्म पुर्याउने योजना बैंकले बनाएको छ। '१०० वटा शाखाबाट १० करोडका दरले उठायो भने पनि १० अर्ब रुपैयाँ उठ्छ,' उनको तर्क छ। 

बचत तथा चालु खाताको रकमलाई बढाउन सिभिले रेमिटेन्सव्यापारमा ध्यान दिएको छ। अहिलेसम्म सिभिल रेमिटेन्स वितरणका लागि 'पुल' को काम गर्थ्यो। अब भने आफै भित्र्याउने छ। अहिले दुबइमा प्रतिनिधि राखेर काम सुरु गरेको छ। हरेक दिन ५० देखि १ लाख डलर आउन थालेको छ। अब यसको सञ्जाल विस्तार गर्न सिभिल कस्सिएको छ। '१०० वटा रेमिटेन्समध्ये ५/१० वटा बचत खातामा परिवर्तन गर्न सक्यौं भने पनि त्यो हाम्रो ठूलो उपलब्धि हुने छ,' गुरुङले भने।

सिभिलले 'डिजिटल बैंकिङ' मा पनि ध्यान दिने भएको छ। यसबाहेक एटिएम बुथ पनि विस्तार गर्दै लगेको छ। ६३ वटा वुथलाई बढाएर ८३ वटा पुर्याइसकेको छ। 'एटिएम हुँदा खाता खोल्न आउने नभए नआउनेजस्तो पनि देखियो,' उनले भने, 'त्यही भएर बुथको संख्या बढाउँदै लगेका छौं।'

बैंकले ऋणतिर 'कर्पोरेट' को हिस्सा घटाउँदै साना तथा मझौला उद्योग र उपभोक्ता क्षेत्रमा ध्यान दिन थालेको छ। कर्पोरेटको ७० प्रतिशतको हिस्सालाई ४३ प्रतिशतमा झारिसकेको छ। यसलाई ३० प्रतिशतसम्म झार्ने योजना बैंकको छ। 

बजारसँग गुनासो
सिभिल बैंक व्यापारका हिसाबले सबैभन्दा सानो देखिएको छ। सानो भएकै आधारमा 'कमजोर' भनिएकोमा प्रमुख कार्यकारी गुरुङलको गुनासो पनि छ।

'बैंक व्यापारको मात्रा, नाफा वा निक्षेप हेरेर बलियो वा कमजोर हुँदैन,' उनले भने, 'हामी पूँजी कोष अनुपातमा सवल छौं। खराब कर्जा थोरै छ। सानो हुँदैमा त कमजोर भइँदैन नि।'

उनले बैंक क्रमिक वृद्धिमा लाग्ने बताए। 'पूँजी बढेको अनुपातमा त्यो भार व्यापार विस्तारमा लगाइयो भने त्यहाँ बैंक दुर्वल हुन जान्छ,' उनको तर्क छ, 'व्यापार बढाउन चाह्यो भने अहिले बढ्छ। हामीले १० करोडभन्दा बढि ऋण नदिएकाहरुलाई केही बैंकले १८/२० करोड दिएर लगेका छन्। कमजोरको मापन त त्यसरी हेर्नु पर्ने होइन र?'

किन कमजोर भन्ने धारणा बन्यो?
बैंकिङ क्षेत्रका जानकारहरुका अनुसार, सिभिल खुल्दा नै रियलस्टेट कारोबारी इच्छाराज तामाङको बैंक भन्ने धारणा बन्यो। सँगै तामाङले घुमाइफिराइ बैंकको पैसा प्रयोग गरेका छन् भन्ने हल्ला पनि चल्यो।

सिभिल समूहका अध्यक्ष तामाङले बैंकको नाम पनि सिभिल नै राखेकाले यि हल्लाहरु 'सत्य नै हो' भन्ने हिसाबले अझै फैलियो। वित्तीय विवरण हेर्ने हो भने रियलस्टेटमा बैंकको लगानी एकदमै न्यून छ। बैंकले ८ प्रतिशतभन्दा कम रियलस्टेटमा लगानी गरेको छ। 

रियलस्टेट व्यापारमा मन्दी लागेपछि सिभिल बैंकको भविस्यलाई लिएर पनि अर्को खालको हल्ला फैलिन थाल्यो। 'बैंक भित्र राम्रो भए पनि बाहिरी 'परसेप्सन' राम्रो बन्न सकेन' एक जानकारले भने, 'त्यसको असर बैंकको शेयर मूल्यमा पनि पर्यो। आज पनि बैंकहरुमा सबैभन्दा सस्तो मूल्य सिभिलको छ।'

सिइओको मापन
गुरुङ बजारमा जेजस्तो हल्ला चलेपनि वा चलाइए पनि बैंक सवल र बलियो रहेको बताउँछन्। उनी आफ्नो व्यापार गर्ने तरिका फरक रहेको भन्दै आन्तरिक नियन्त्रण प्रणाली बलियो राख्दै बैंकले कमभन्दा कम जोखिममा काम गरिरहेको सुनाए।

उनले सिभिले ह्वात्तै व्यापार बढाएर २० प्रतिशत लाभांस बाँड्ने पक्षमा नरहेको बताउँदै अर्थतन्त्रको वृद्धि अनुसार नै बैंकलाई पनि अगाडि लैजाने पक्षमा रहेको सुनाए। 

'हामीलाई सानो बैंक भन्न पाइयो, तर कमजोर बैंक भन्न पाइँदैन। हामी कमजोर छैनौं। हाम्रो सबै सूचक राम्रा छन्,' उनले भने।

तर बजारले व्यापारको पनि मापन गर्छ। नाफा र प्रतिफलको पनि गर्छ। त्यो नपाउँदा सिइओको क्षमतामाथि प्रश्न उठ्दैन र?

गुरुङले सरल जबाफ दिए- यो बाटो मैले छानेको हुँ। म यसलाई स्वीकार गर्छु। म आक्रामक व्यापार गर्दिन। जोखिम बढ्ने बैंकिङ पनि गर्दिन। त्यो नगर्दा कसैले 'अन्डर परफरमर' भन्छ भने त्यो उसको कुरा हो। यो आरोप म स्वीकार्छु तर आफ्नो बुझाइ र योजनाबाट पछाडि हट्दिन।


Share this Story

   

दौंतरी बैंकले छलाङ मार्दा सिभिल किन सानो देखिँदैछ? को लागी २ प्रतिक्रिया(हरु)

Ramu[ 2019-11-22 04:05:11 ]
यो सबै भन्दा काम न लाग्ने ब्याङ्क भन्ने कुरा मा कुनै doubt छ र?

   हालसम्म ३४ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Criketor[ 2019-11-19 11:50:42 ]
कुनै पनि अर्गनैजेशन भनेको आफैमा केहि पनि होइन , त्यस भित्र रहेका व्यक्तिहरुको क्लास नै बैंक मा Reflect हुने हो ।

   हालसम्म ५४ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
Ncell