विश्वकपको लागि तयार हुँदै कतार, श्रम शोषण गरेको भन्दै लिभरपुलले गर्‍यो पाँचतारे होटल बहिष्कार

मुकुन्द घिमिरे/बिजमाण्डू
२०७६ कात्तिक २० गते १२:४० | Nov 6, 2019

Tata
GBIME
Nepal Life

सन् २०२० मा कतारमा विश्वकप फुटबल आयोजना हुँदैछ। त्यसका लागि स्टेडियमका साथै भौतिक पूर्वाधारहरुको निर्माण कार्य जारी छ। तर, कतारले विश्वकपका लागि तयारी गरिरहँदा पूर्वाधार निर्माणका क्रममा चरण श्रम शोषण भएका तथ्यहरु सार्वजनिक भएका छन्। त्यसका लागि कतारको चर्को आलोचना हुँदै आएको छ। त्यसैबीच कतारमै आयोजना हुन लागेको क्लब विश्वकपको मिति नजिकिँदै गर्दा त्यहाँ भएको श्रम शोषणको विषय फेरि एकपल्ट चर्चामा आएको छ।

गत सिजनको युरोपियन च्याम्पियन लिभरपुलले श्रम शोषण र मानव अधिकारको हनन् भएको भन्दै कतारको दोहास्थित एउटा होटलमा बस्न अस्वीकार गरेपछि यस विषयले चर्चा पाएको हो।

युरोपियन च्याम्पियन बनेको लिभरपुलले फिफाले आयोजना गर्ने क्लब विश्वकप फुटबलका लागि मध्य पूर्वमा तयारी सुरु गरेको थियो। लिभरपुलका लागि कतारस्थित मार्सा मलाज केम्पिंस्की होटलमा बस्ने व्यवस्था मिलाइएको थियो। केम्पिंस्की कतारको उत्कृष्ट ५ होटलमध्ये एक हो।

लिभरपुलले उक्त होटलमा इथिकल (नैतिक) कारण देखाउँदै बस्न अस्वीकार गरेको हो।

लिभरपुलले पाँच तारे उक्त होटलमा बस्न अस्वीकार गर्नुको मुख्य कारण बन्यो श्रम शोषण।

लिभरपुलका म्यानेजर जर्गन क्लोपले पहिले होटलमा हुने श्रम शोषणबारे  'नोटिस' गरिरहेका थिए। उनले पछि थाहा पाए कि होटलका स्टाफलाई औसत १० देखि १२ घन्टा र कहिलेकाहीँ त्यो भन्दा पनि बढी समय काममा लगाइन्छ। 'हेभी ड्युटी' मा काम गर्ने कामदारहरुलाई एकदमै कम पारिश्रमिक दिएको पनि उनले थाहा पाए।

कतारमा उच्च तापक्रमका कारण लामो समयसम्म काम गर्न गाह्रो हुन्छ। क्लोपलेले त्यहाँ रहँदा सो कुराको अनुभूति गरेका थिए। त्यसैले १२ घन्टाभन्दा बढी काम गर्दा कामदारहरुको स्वास्थ्य स्थिति नाजुक बन्ने उनले महसुस गरेका थिए।

क्लोपको माध्यमबाट खेलाडीहरुले पनि यस विषयमा जानकारी पाए। र, अन्तत: लिभरपुलले होटल छाड्ने निर्णय गरेको एटलान्टिकले जनाएको छ।

लिभरपुलले अर्को कुनै दोस्रो चार तारे होटलमै भए पनि बस्न तयार भएको तर उक्त होटलमा नबस्ने घोषणासमेत गरेका छन्।

फिफा क्लब विश्वकप यही डिसेम्बरबाट सुरु हुनेछ।

**

सन् २०१८ अक्टोबरमा द गार्जियनले गरेको एक अध्ययनको क्रममा केम्पिंस्की होटलमा बाहिरबाट ल्याइने कामदारहरुलाई न्यूनतम ज्यालाभन्दा कम तलब दिएर श्रम शोषण गर्ने गरेको खुलासा गरेको थियो।

उक्त अध्ययनका अनुसार ४५ डिग्री तापक्रममा १२ घन्टाभन्दा बढी काम गर्ने श्रमिकले दैनिक ८ पाउन्ड मात्र पाउने खुलासा गरेको थियो। उक्त अनुसन्धानमा २/३ महिनासम्म कामदारलाई कुनै छुट्टीबिना काममा लगाएको र काम गर्ने समयमा सुतेको भन्दै उनीहरुले पाउने तलबबाट जरिवाना काट्ने गरेको खुलासा भएको थियो।

द एटलान्टिकका अनुसार लिभरपुलले कतारको अधिकारी र फिफालाई समेत यस विषयको जानकारी गराइसकेको छ। यसका साथै आफू बस्ने होटलसमेत परिवर्तन गर्ने जनाइसकेको छ।

होटल परिवर्तनका लागि लाग्ने रकम लिभरपुल आफैंले वहन गर्ने र लिभरपुलको निर्णयमा फिफाको पनि समर्थन रहेको बताइएको छ। कतारले होटल परिवर्तन भएसँगै फेरि अर्को संरचनामा सुरक्षा व्यवस्था गर्नु पर्नेछ।

यता होटलले यो विषयलाई गम्भीरतापूर्वक लिएको र यसमा अनुसन्धान गर्ने बताएको मिररले जनाएको छ।

यस अघि द गार्जियनले होटलमा हुने श्रम शोषणबारे रिपोर्ट सार्वजनिक हुँदा बाहिर देशबाट कामदार ल्याएर एकदमै न्यून पारिश्रमिकमा लामो समयसम्म काम लगाउने गरेको खुलासा भएको थियो।

यसबाहेक पनि कतारमा स्टेडियम निर्माणका क्रममा श्रम शोषण हुने गरेको रिपोर्टहरु सार्वजनिक हुँदै आएका छन्। एमनेस्टी इन्टरनेशनलले कतार विश्वकपका क्रममा व्यापक श्रम शोषण रिपोर्ट सार्वजनिक गरेको छ।

रिपोर्टमा कामदारहरुलाई बिनातलब काम गराएर श्रम शोषण भइरहेको दाबी गरिएको छ। यति मात्र होइन एमनेस्टीले कतार सरकारलाई 'श्रम शोषणको लाजमर्दो अवस्था'लाई  अन्त्य गर्न समेत आग्रह गरेको थियो। विश्पकपका लागि भौतिक पूर्वाधार निर्माणका लागि नेपालबाट पनि ठूलो संख्यामा कामदारहरु जाने गरेका छन्। विभिन्न रिपोर्टहरुले उनीहरु पनि चरण श्रम शोषणमा गर्ने गरेको देखाएको छ।