शेयर बजारमा तरलता बढाउन लगानीको औजार बढाउनु पर्छ, सन्तोष मैनालीको विश्लेषण




आर्थिक विकासको लागी आवश्यक पर्ने पूँजी परिचालन गर्न धितोपत्र दोस्रो बजारको भूमिका अप्रत्यक्ष तर धेरै नै महत्त्वपूर्ण हुन्छ। दोस्रो बजार नहुने हो भने प्राथमिक निष्कासनमा कोही पनि खरिदकर्ता सहभागी हुन आउँदैनन। धेरैभन्दा धेरै पूँजी परिचालन गरी तीव्र आर्थिक विकास गर्ने हो भने दोस्रो बजारलाई विकसित र बिश्वसनीय बनाउन एकदमै जरुरी हुन्छ। 

उच्च तरलता, पारदर्शिता र कारोबार राफसाफको पूर्ण प्रत्याभूति रहेको बजारलाई विकसित तथा विश्वसनीय बजार मानिन्छ। अस्वाभाविक उतारचढाव नहुने, कारोबार भइरहेकै मूल्यको आसपासका विभिन्न मूल्यहरूमा ठूलो रकमको लागि खरिदबिक्री आदेश प्रवाह हुने र  ठूलो रकमको कारोबार हुने बजारलाई नै राम्रो तरलता भएको बजार मानिन्छ।

TATA
SANIMA new
Jagdamba Steel

विगत केही दिनदेखि नेपालको पूँजी बजारमा दैनिक कारोबार ओरालो लाग्दै आइरहेको छ। हरेक वर्ष दशैं नजिकिँदै गर्दा कारोबार कम हुँदै जानु स्वाभाविक मानिन्छ। तर यसपालि बजारमा दशैं आउनुभन्दा धेरै अघिदेखि नै कारोबार कम हुँदै गएको थियो। विगत केही हप्ताको मात्र नभई  तुलनात्मक रूपमा नेपालको दोस्रो बजारमा कारोबार वा तरलता एकदम न्यून छ। 

विगत तीन आर्थिक वर्षको तथ्याङ्क हेर्ने हो भने औसतमा बजार पूँजीकरणको १० प्रतिशत मात्रै वार्षिक कारोबार हुने गर्दछ। यसको अर्थ औसतमा बजारमा सूचीकरण भएको १० कित्ता शेयर मध्ये वर्षभरिमा १ कित्ता मात्र कारोबार हुनु हो। यस्तो अनुपात हाम्रो छिमेकी मुलुक भारतमा ५० प्रतिशतभन्दा माथि रहेको छ भने अन्य विकसित मुलुकहरूमा शत् प्रतिशतभन्दा माथि रहेको पाइन्छ। 

तरलता कम हुँदा धितोपत्रहरुको उचित मूल्याङ्कन नहुने हुन्छ जसले गर्दा नयाँ धितोपत्र जारी गरी पूँजी परिचालन गर्न खोज्ने निस्कासनकर्ताले उचित लाभ लिन सक्दैनन्। साथै तरलता कम भएको बजारमा कारोबार लागत पनि उच्च हुने, चाहिएको बेला धितोपत्र खरिदबिक्री गर्न असहज हुने, बजारमा चलखेलको सम्भावना अत्यधिक रहने, ठूला तथा विदेशी लगानीकर्ताहरू बजारप्रति आकर्षित नहुने आदि कारणले गर्दा बजारप्रति आम लगानीकर्ताहरूको विश्वास कम भई समग्र अर्थतन्त्रले नै यसबाट उचित लाभ लिन नसक्ने परिस्थिति सृजना हुन सक्छ। 

कहिलेकाहीँ तरलता कम भएको बजारमा धितोपत्रहरु एकदमै अवमूल्यन पनि हुने गर्दछ जसले लगानीको लागि आकर्षक अवसर पनि प्रदान गर्दछ। तर यो परिस्थिति समग्र अर्थतन्त्र र आम लगानीकर्ताको बृहत्तर हितमा भने हुँदैन। तसर्थ यथेष्ट पूँजी परिचालन हुनु पर्ने हाम्रो वर्तमान अवस्थामा विभिन्न उपायहरू अपनाइ दोस्रो बजारको तरलता वृद्धि गर्नु सम्बन्धित सबैको प्राथमिकता हुनु जरुरी छ। 

हाम्रो बजारमा तरलता कम हुनु पछाडि लगानीका औजार सीमित हुनु, सूचीकृत कम्पनीको सङ्ख्या कम हुनु, वास्तविक क्षेत्रका कमपनीको सूचीकरण कम हुनु, विकसित बजारहरूले प्रयोग गरिरहेका कारोबार पद्दति तथा पूर्वाधारहरूको प्रयोग नहुनु,  सुसूचित लगानीकर्ताहरूको सङ्ख्या कम हुनु आदि कारणहरूको मुख्य भूमिका रहेको पाइन्छ। 

लगानीका औजार 
दोस्रो बजार कारोबार सुरु भएको लगभग २६ वर्ष बितिसक्दा पनि हामीले कारोबार औजारमा खासै विविधीकरण हासिल गर्न सकेका छैनौँ। लगानीकर्ताहरूको जोखिम बहन गर्ने क्षमता र लगानीबाट प्राप्त हुने लाभको अपेक्षा  लगानीकर्तापिच्छे फरक फरक हुन्छ। यो भिन्नता अनुसार एक वा दुई प्रकारका औजार मात्रै प्रयोग गरी  लगानीकर्ताहरूले उचित पोर्टफोलियो निर्माण गर्न सँधैभरि सक्दैनन्। तसर्थ, लगभग साधारण शेयर मात्रै कारोबार हुने हाम्रो बजारमा लगानीकर्ताहरू त्यति धेरै आकर्षित हुँदैनन्। 

आकर्षित भइहाले पनि आवश्यक परेको बेलामा औजारको सीमितताले गर्दा जोखिम व्यवस्थापन गर्न नपाई बजारबाट पलायन हुन पुग्दछन्। ऋणपत्रहरु सूचीकरण भए पनि मूल्य निर्धारण र ब्याजमा लाग्ने करको अन्योल र अन्य आवश्यक पूर्वाधारको अप्राप्तयताले गर्दा लगानीकर्ताहरूको खासै रुचिमा पर्दैन। 

केही म्युचुअल फन्डका युनिटहरु सूचीकरण भए पनि तिनले गर्ने लगानी धेरैजसो साधारण शेयरमा नै सीमित हुने हुँदा लगानीकर्ताको जोखिम व्यवस्थापनमा खासै सहयोगी नहुने भएकाले लगानीकर्ताको रुचिमा पर्दैनन्। बजारमा तरलता वृद्धि गरी लगानीकर्तालाई टिकाइ राख्न अलग अलग जोखिम–लाभ भएका उपकरणहरूको सुरुवात गर्न जरुरी हुन्छ। हाम्रो वित्तीय प्रणाली त्यति धेरै विकसित भइनसकेको र सुसूचित तथा संस्थागत लगानीकर्ताहरूको उपस्थिति कमै रहेको अवस्थामा जटिल किसिमका वित्तीय उपकरणहरूभन्दा पनि सर्वप्रथम ऋणपत्रको कारोबारलाई अझ चुस्त बनाउनु महत्त्वपूर्ण हुनेछ। जोखिम-लाभ मिश्रणको आधारमा साधारण किसिमका नयाँ उपकरणहरूको प्रवेश गराउनु उचित हुनेछ। हाल बजारभन्दा बाहिर रहेको हक हस्तान्तरणलाई दोस्रो बजारको दायरामा ल्याउन सकेमा बजारमा सबैलाई खरिद गर्ने समान अवसर प्राप्त हुने थियो भने हस्तान्तरण गरिदिनेको लाभपनि बढ्ने सम्भावना हुने थियो। 

साथै यसबाट सरकारले राजस्व प्राप्त गर्ने हुँदा हक हस्तान्तरण गरिदिनेले प्राप्त गर्ने रकमको स्रोत पनि प्रस्ट हुने थियो। उच्च तरलता र कम जोखिम वा कम उतारचढाव हुने शेयरहरूको एउटा छुट्टै इन्डेक्स गणना गरी त्यसलाई आधार बनाएर नमुना परियोजनाको रूपमा एक इक्विटी फ्युचर र इक्विटी अप्सनको सुरुवात गरी इक्विटी डेरिभेटिभको सम्भावना खोज्न सकिन्छ। 

त्यसैगरी घरजग्गा सम्बन्धी व्यवसाय गर्ने कम्पनीहरूलाई रियल इस्टेट इन्भेस्टमेन्ट ट्रस्ट  जारी गर्न प्रोत्साहन गर्ने, अन्य कम्पनीहरूलाई पृफरेन्स शेयर, वारेन्टस र हाल प्रचलनमै रहेको कन्भर्टिबल प्रिफरेन्स शेयर र अन्य कन्भर्टिबल्स जारी गर्न प्रोत्साहन गरेमा बजारमा तरलता बढाउन अहिलेको अवस्थामा उपलब्ध उपकरणको दृष्टिकोणले पर्याप्त हुने थियो। 

सूचीकृत कम्पनी 
हाम्रो दोस्रो बजारमा मर्जर तथा प्राप्तिका कारण सूचीकृत संस्थाको सङ्ख्या केही वर्ष पहिला भन्दा अहिले कम छ। पछिल्लो समय जलविद्युत कम्पनीहरूले सार्वजनिक निष्कासन गरिरहेका कारण यो सङ्ख्या केही वृद्धि भने भइरहेको छ। समग्र अर्थतन्त्रको सानो हिस्सा ओगटेको वित्तीय क्षेत्र तथा जलविद्युत क्षेत्रका कम्पनीहरूको उपस्थित बजारमा लगभग ८५ प्रतिशत रहेको छ भने अर्थतन्त्रको ठूलो हिस्सा ओगटेको कृषि तथा उद्योग को उपस्थिति लगभग न्यून छ। यसले गर्दा हाम्रो इन्डेक्स पनि हाम्रो अर्थतन्त्रको ऐनाको रूपमा स्थापित हुन सकिरहेको छै । यसरी हाम्रो बजारमा क्षेत्रगत विविधीकरण एकदमै न्यून हुन गएको छ जसले गर्दा वित्तीय क्षेत्रका नियामक निकायले कुनै नयाँ कानुनी व्यवस्था गरे त्यसको प्रत्यक्ष असर बजारमा पर्दछ। 

हाम्रो बजारको चक्रको विश्लेषण गर्ने हो भने प्रायजसो हरेक चक्रको सृजना वित्तीय क्षेत्रका नियामकले गरेको नयाँ कानुनी व्यवस्थाका कारण भएको पाइन्छ। ती व्यवस्थाले बजारमा अत्याधिक उतारचढाव ल्याइ बजारलाई अस्थिर बनाउने गर्दछ। जसका कारण साना तथा नवप्रवेशी लगानीकर्ताहरू फस्ने गर्दछन्। सुसूचित लगानीकर्ताहरू पनि वित्तीय क्षेत्रमा अवसर देखिँदा बजार प्रवेश गर्ने र त्यस्तो अवसर समाप्त हुँदा बजारबाट बाहिरिने गर्दछन्। जसका कारण वित्तीय क्षेत्रका कम्पनीमा अवसर नभएको समयमा लगानीकर्ताहरूको उपस्थिति तथा तरलता एकदमै न्यून हुने गर्दछ। 

वास्तविक क्षेत्रका कम्पनीहरूलाई दोस्रो बजारमा प्रवेश गराउन सरकार तथा नियामक निकायले विभिन्न प्रयास गरेपनि ती पर्याप्त देखिँदैन। कुल ग्राहास्थ उत्पादनमा योगदान गर्ने अधिकांश क्षेत्रका कम्पनीहरूलाई बजारमा प्रवेश गराउन थप पहल गरेमा बजार अनावश्यक उतारचढाव हुनबाट जोगिन्छ। साथै लगानी विविधीकरण गर्न पनि सहयोगी हुने हुँदा लगानीकर्ताहरू बजारप्रति थप आकर्षित हुनेछन्। 

बजार पूर्वाधार 
बजारप्रति आम लगानीकर्ताहरूको विश्वास अभिबृद्धि गर्न राफसाफको प्रत्याभूति हुनु एकदमै जरुरी हुन्छ। स्वदेशी लगानीकर्ताहरूले बजारप्रति विश्वास गरेकै छन् तर गैरआवासीय नेपाली तथा विदेशी संस्थागत लगानीकर्ताहरूलाई ढुक्क भई लगानी गर्ने वातावरण सृजना गर्ने हो भने राफसाफ प्रत्याभूति कोषको आकारलाई वृद्धि गरी यसको व्यवस्थापनलाई वैज्ञानिक बनाउनु जरुरी हुन्छ। 

साथै बजार बढिरहेको बेला अत्याधिक रहने तथा बजार घटेको बेला हराउने तरलताको समस्या हल गर्न मार्केट मेकरको व्यवस्था गर्न जरुरी हुन्छ। विगत केही वर्षदेखि नागरिक लगानी कोषलाई मार्केट मेकरको रूपमा बजार प्रवेश गराउने चर्चा चलिरहेको छ। तर हाम्रो बजारको आकार अनुसार एउटा मार्केट मेकर मात्र पर्याप्त हुँदैन । तसर्थ, निजी क्षेत्रबाट पनि मार्केट मेकर प्रवेश गराउन गृहकार्य सुरु गर्न ढिला गर्नु हुँदैन। सानो आकारको शेयर जारी गर्ने कम्पनीहरूले केही प्रतिशत शेयर मार्केट मेकरको लागि छुट्ट्याउने, त्यस्ता कम्पनीको छुट्टै सूचीकरण गर्ने व्यवस्था गर्ने र निश्चित समयसम्म त्यस्ता कम्पनीहरूको लागि विशेष मार्केट मेकरको व्यवस्था गरेमा हाल साना कम्पनीमा देखिने तरलता समस्या समाधान भएर जान्छ। 

कारोबार पद्धति 
हाम्रो बजार एकतर्फी छ। अर्थात् बजार बढेको बेलामा मात्रै लगानीकर्ताहरूले कमाउने अवसर प्राप्त गर्छन् भने बजार घटेको बेला बजारमा रहने लगानीकर्ताले गुमाउँछन्। तसर्थ, घटेको बेला लगानीकर्ताहरूलाई बजारमा टिकाइराख्न असम्भव जस्तै हुन्छ। जसका कारण बजार घट्ने क्रम हाम्रोमा अन्य बजारमाभन्दा धेरै नै लामो हुने गर्दछ। 'सट सेल' को सुरुवात गर्न सकेमा बजार घट्दा पनि लगानीकर्ताहरू बजारमै रहिरहन्छन् र बजारको घट्दो क्रम छोटो हुनेछ। 

हाल पलायन भएका लगानीकर्ताहरूलाई बजारम फर्काउन सरकारले जति मिहिनेत गर्नु पर्छ त्यो आवश्यक पर्दैन। तर सट सेल जोखिमयुक्त हुने हुँदा सट सेलको सुरुवात गर्ने कम्पनीको छनौंट गर्ने आधार प्रस्ट हुन जरुरी हुन्छ। त्यसैगरी दिनभरिको उतारचढावबाट पनि लगानीकर्ताहरूलाई फाइदा लिने अवसर उपलब्ध गराउन इन्ट्राडे कारोबारको व्यवस्था गर्न जरुरी हुन्छ। यस्तो कारोबारमा लाग्ने कारोबार शुल्क धेरै न्यून हुनेहुँदा सानोसानो उतारचढावबाट पनि लगानीकर्ताहरूले फाइदा लिन सक्छन्। यस्तो कारोबार गर्दा पूँजीको पनि अधिकतम सदुपयोग हुन्छ। 

सट सेल र  इन्ट्राडे कारोबारको लागि आवश्यक पर्ने पूर्वाधार सेक्युरिटिज लेन्डिङ एन्ड बरोइङको  हो। यो  सुरु गर्न सकेमा एकातिर लामो समयका लागि लगानी गर्ने लगानीकर्ताहरूले आफुसँग भएको धितोपत्रहरु भाडामा लगाइ धितोपत्रबाट हुने नियमित आम्दानीसँगै भाडा बापत थप आम्दानी गर्न सक्छन् भने अर्कोतर्फ यसले सट सेल र इन्ट्रा डे कारोबार सुरु गर्न पूर्वाधार खडा गर्दछ। यस्ता किसिमका कारोबार पद्धति सुरु गरेमा बजारको तरलता वृद्धि गर्न धेरै नै सहयोगी हुनेछ। 

सुसूचित लगानीकर्ता
नेपालको दोस्रो बजारमा तरलता कम हुनु तथा अनावश्यक उतारचढाव आउनु पछाडिको अर्को कारण बजारमा संस्थागत लगानीकर्ता तथा हाइ नेटवर्थ इन्भेस्टरको उपस्थिति न्यून हुनु हो। हाम्रो बजारमा तुलनात्मक रूपमा लगानीकर्ताको सङ्ख्या कम छ र त्यसमा पनि साना व्यक्तिगत लगानीकर्ताको बाहुल्यता छ। 

साना लगानीकर्तामा लगानी सम्बन्धी सचेतना तुलनात्मक रूपमा कम हुन्छ जसले गर्दा बजार ज्यादा सम्वेदनशील हुन पुग्दछ। ज्यादा सम्वेदनशील बजारमा उतारचढाव आउँदा बचत परिचालनको स्तम्भ मानिने साना तथा नयाँ लगानीकर्ताहरूले गुमाउन पुग्दछन् र बजारबाट पलायन हुन्छन्। यसले बजारको तरलतालाई नराम्रो असर गर्दछ। यस्ता लगानीकर्ताको हित संरक्षण गर्नु सरकार तथा नियामकको जिम्मेवारीभित्र पर्छ। यसका लागि साना तथा नयाँ लगानीकर्ताहरूलाई बजार तथा लगानी सम्बन्धी  सचेतना कार्यक्रमको जरुरी पर्दछ। 

यस्ता कार्यक्रम हाल नेपाल धितो पत्र बोर्ड, नेप्से, सिडिएस, सदस्य दलाल व्यवसायी तथा अन्य व्यावसायिक संस्थाहरूले सञ्चालन गरिरहेको भए पनि पर्याप्त भने छैनन। यसले बजारमा लगानी गरिरहेका र प्रवेश गर्न चाहने अधिकतम लगानीकर्तालाई समावेश गर्न सकिरहेको छैनन्। बजारमा स्थायित्व प्रदान गर्ने हो भने संस्थागत लगानीकर्ताहरूको सङ्ख्या वृद्धि गर्नुको विकल्प छैन। 

संस्थागत लगानीकर्ताहरूले दीर्घकालीन लगानी गर्ने र उपलब्ध  सूचनाको आधारमा राम्रो विश्लेषण गरेर लगानी गर्ने हुँदा यस्ता लगानीकर्ताहरूको उपस्थितिले बजारलाई स्थायित्व दिनेछ। साथै उनीहरूको लगानी सम्बन्धी विश्लेषण तथा निर्णय प्रक्रियाबाट साना लगानीकर्ताहरूले पनि सिक्ने अवसर पाउँछन् । 

तरलता वृद्धि गर्नु अहिलेको हाम्रो आवश्यकता हो। माथि उल्लेख गरिएका सुधारहरू पूर्ण भने होइनन्। तरलता वृद्धि गर्न अन्य धेरै कामहरू पनि गर्नुपर्ने हुन्छ। तर हामीसँग उपलब्ध साधन स्रोत तथा बजार र लगानीकर्ताहरूको अवस्था हेर्दा ती सबै उपायहरू अहिले अवलम्बन गर्न सम्भव पनि छैन। तसर्थ, छोटो समयमा गर्न सकिने यिनै उपायहरू अवलम्बन गरी बजारमा तरलता वृद्धि गरी बजारको विकास गर्नुनै उपयुक्त हुनेछ। 
लेखक ब्रोकर नम्बर ३६ सेक्वर्ड सेक्युरिटिजका सञ्चालक हुन्।


Share this Story

   

शेयर बजारमा तरलता बढाउन लगानीको औजार बढाउनु पर्छ, सन्तोष मैनालीको विश्लेषण को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
Ncell