१४ वर्षपछि भारतको चर्चित दैनिक डिएनए बन्द, पत्रिकाको युग सकिएकै हो?





नयाँ दिल्ली। भारतमा १४ वर्ष पुरानो दैनिक पत्रिका डेली न्युज एण्ड एनालाइसिस (डिएनए) बन्द भएको छ। डिएनए दैनिकले आफ्नो प्रिन्ट एडिसन गत बुधबार बन्द गरेको घोषणा गर्यो।

१४ बर्षअघि टाइम्स अफ इन्डियाको संभावित प्रतिश्पर्धी र विकल्पका रुपमा मुम्बईबाट यो पत्रिका सुरु भएको थियो। मुम्बईबाट सुरु भएपनि बिस्तारै यसले दिल्ली, बैगलुरु, पुने, जयपुर र अहमदाबादबाट पनि आफ्नो संस्करण निकाल्न थालेको थियो। कुनै समय मुम्बईमा मात्रै यसको ६ लाख प्रतिबद्ध ग्राहक थिए।

बुधबार प्रेस बिज्ञप्ती जारी गर्दै डिएनएले आफ्नो बढ्दो खर्चका बीच घाटा ब्यहोर्न समस्या भएको भन्दै पत्रिका बन्द गरेको उल्लेख गरेको छ। यो ब्राण्डले आफ्नो डिजिटल प्लेटफर्ममा भने समाचार प्रकाशन जारी नै राख्ने जनाएको छ।

TaTa
TVS
Sanima

साथै डिएनएले चाँडै नै मोबाइल एप पनि लन्च गर्ने बताएको छ, जसबाट उसले आफ्नो भिडियो बेस्ड कन्टेन्टहरु प्रशारण गर्न सकोस्।  

आकस्मिक रुपमा डिएनए पत्रिका बन्द हुनुले आफूहरु आश्चर्यमा परेको त्यहाँ कार्यरत कर्मचारीहरुले बताएका छन्। उनीहरुले यसलाई 'अनपेक्षित' भनेपनि यसबारेमा संचार क्षेत्रमा लामै समयदेखि खासखुस चलिरहेको थियो। खासमा माउ कम्पनी सुभाष चन्द्राको एसेल ग्रुपले चरम आर्थिक संकट ब्यहोरेपछि पत्रिका बन्द हुने हल्ला चल्दै आएको थियो।

बुधबार पत्रिकालाई विधिवत रुपमा बन्द गरिएको घोषणा गर्दा अहमदाताबाद र मुम्बई संस्करण मात्रै चालु अवस्थामा थिए। सबैभन्दा पछिल्लो संस्करण डिएनए दिल्ली सन् २०१९ को सुरुवातमै बन्द भएको थियो भने जयपुर संस्करण पनि यसअघि नै बन्द भैसकेको थियो।

डिएनएका कार्यवाहक सम्पादक आकाश शाहले पत्रिका चलाउनु 'आगामी दिनका लागि उपयुक्त नभएको' कारण देखाउँदै बन्द भएको बताए। उनले पत्रिका बन्द हुनु पछाडिको वास्तविक कारणबारे राखिएका थप जिज्ञासाको भने जवाफ दिएनन्।

डिएनएका सिइओ संजिब गर्गले पत्रिका बन्द भएको बिषयमा प्रतिक्रिया जनाएनन्। पत्रिकामा सम्पादक तहमा कार्यरत केही पत्रकारले भने उत्साहप्रद सुरुवात गरेको यस पत्रिकाले संचार क्षेत्रमा लामो समयसम्म आफूलाई टिकाउन नसक्नुका पछाडि बिभिन्न कारणहरु रहेको बताएका छन्।

उत्साहप्रद सुरुवात
डिएनए सन् २००५ मा मुम्बईमा लञ्च भएको थियो। बजारमा पत्रकारलाई दिने चल्तीको रेटभन्दा धेरै बढी तलब दिएर मिडियाका राम्रा पत्रकारहरु तान्दै यसको सुरुवात भएको थियो। पत्रिकामा मिडिया क्षेत्रका दक्ष जनशक्ति र सम्पादक टिम बलियो बनाइएको थियो।

लञ्च गर्दाले यसले 'क्याची' ट्याग लाइन प्रयोग गरेकाले धेरैको ध्यान तानेको थियो। 'स्पिक अप इट्स इन योर डिएनए' भन्ने ट्यागलाइनले बजारमा बिज्ञापनको राम्रो काम गरेको थियो। मानव शरीर र सूचनालाई जोडेर बनाइएको ट्यागलाइनले तत्कालीन बजारम ठूलै हल्ला मच्चाएको थियो।

त्यसैताका हिन्दुस्तान टाइम्सको मुम्बई एडिसन पनि लञ्च भएको थियो।

द एसेल ग्रुप कम्पनीको डिलिजेन्ट मिडिया कर्पोरेसन लिमिटेडले डिएनए संचालन गरे पनि सुरुवातमा यसलाई भास्कर ग्रुपसँगको जोइन्ट भेन्चरमा सुरु गरिएको थियो। यसको मुम्बईमा आफ्नै प्रिन्टिङ प्रेस पनि थियो।

'भाइब्रेन्ट न्यूजपेपर' को रुपमा ख्याती कमाएको डिएनएले डिएनए मनी, आफ्टर आवर्स तथा हाइपर लोकल एडिसनहरु सप्लिमेन्टका रुपमा निकाल्ने गर्थ्यो। यसबाट ग्राहकको सकारात्मक प्रतिक्रिया पाएपनि यसले आर्थिक रुपमा भने पत्रिकाको उत्साह टिकाउन सकेन। पहिलो वर्षमा आफ्नो ३ सय करोड भारतीय रुपैयाँ लगानी गरेपनि मुश्किलले लाखमा कमाउन सक्यो।

पहिलो वर्षदेखि नै दैनिक पत्रिका लगातार घाटामा गएको मिडिया उद्योग सम्बद्धहरु बताउँछन्। लगातार घाटामा गएपछि भाष्कर ग्रुप सन् २०१२ मा कम्पनीबाट बाहिरियो र एस्सेल ग्रुपले डिएनएलाई पूर्ण नियन्त्रणमा संचालन गर्यो।

पत्रिकामा सन् २०११ देखि एक वर्षससम्म काम गरेका वरिष्ठ पत्रकार आदित्य सिन्हाका अनुसार डिएनए आफ्नो कन्टेन्टका आधारमा राम्रो उत्पादन थियो र यसले तत्कालीन समयमा टाइम्स अफ इन्डियाको प्रतिद्वन्दीका रुपमा आफूलाई उभ्याएर बजार तताएको थियो।

हाल डेकान क्रोनिकल/एसियन एजका सम्पादक सिन्हा भन्छन् -"त्यसबेला मुम्बईका बिज्ञापनदाताहरु टाइम्स अफ इन्डियाको बिकल्प खोजिरहेका थिए। टाइम्स अफ इन्डियाको बिज्ञापन दर धेरै थियो। त्यसैले उनीहरुले सोचे प्रतिश्पर्धाले यसको दर घटाउँछ। त्यसैले डिएनएले मिडिया इन्डस्ट्रीका दक्ष जनशक्तिलाई तानेर उत्साहप्रद सुरुवात गर्यो। तर टाइम्स अफ इन्डिया पनि निदाइरहेको त थिएन।"

उनका अनुसार पहिलो वर्षदेखि नै डिएनए घाटामा चल्न थाल्यो र यो कहिल्यै ब्रेक-इभनमा पनि पुग्न सकेन।

'डिएनको कुनै योजनाबद्ध तालिका थिएन। सुरुवाती अफरभन्दै पत्रिकाको बिज्ञापनदर कम तोकियो। यस्तै थप कपी प्रिन्ट भैरहने र त्यो सबै खेर गैरहेको अवस्था थियो। यसले खर्च पनि बढाइरहेको थियो त्यसैले यसको सुरुवातदेखि नै समाप्तिको बाटो देखिसकेको थियो।'- उनले भने। उनले छोडेको समयमा नै डिएनएको नोक्सानी ७०० करोड भारतीय रुपैयाँ पुगिसकेको उनी अनुमान गर्छन्।

माउ कम्पनी सुभाष चन्द्राको जि ग्रुपले तलरता अभाव भोग्नुपरेसँगै डिएनएको फाइनल सटडाउन भएको उनले बताए।

चन्द्राको जि इन्टरटेनमेन्टको शेयर पाँच वर्षको सबैभन्दा तल्लो बिन्दुमा पुगेको छ। यस्तै चन्द्राको एक अर्ब डलर बराबरको ऋण भएको बताइन्छ। द वायरले सार्वजनिक गरेको एक रिपोर्ट अनुसार एस्सेल ग्रुपको यस्ता कम्पनीहरुसँग सम्बन्ध देखिएको छ जसको शंकास्पद बैंक डिपोजिट बारे अनुसन्धान भैरहेको बताइन्छ।

डिएनए लञ्च टिममा सहभागी तथा सन् २००७ देखि २०१० सम्मका सम्पादक आर जगन्नाथनका अनुसार पहिलो दिनदेखि नै पत्रिकालाई बजारमा राम्रोसँग स्थापित गर्न सकिएन।

"डिएनएको मूल्य धेरै सस्तो राखिएको थियो। र ब्यबस्थापनले बिज्ञापनबिना नै उच्च सर्कुलेसनको लक्ष्य राखेको थियो। उनीहरुले बिज्ञापनबारे मिस क्यालकुलेट गरे। त्यसैबेला प्रतिद्वन्दी पत्रिकाले भने बजार हिस्सा सम्झौताका आधारमा सबै बिज्ञापनदाताहरुलाई आफ्नो पोल्टामा पारे" उनले भने।

उनी भन्छन् "यसकारण कम्पनी पूरै घाटामा गयो। चार वर्षमै यसको नोक्सान ५०० करोड भारतीय रुपैयाँ पुगिसकेको थियो। सन् २००८ मा वैश्विक मन्दीका समयमा पत्रिकाको अववस्था धेरै गम्भीर भैसकेको थियो। त्यसबेला उनीहरुले धेरै कर्मचारीहरुलाई कटौती समेत गरेका थिए।"

डिएनएका पहिलो सम्पादक प्रदिप गुहाले भने यसबारेमा कुनै पनि प्रतिक्रिया दिएका छैनन्।

सुधारका कदम र लगातारको असफलता

बिज्ञापन सुक्दै जान थालेपछि डिएनएले अनेक किसिमका एडिटोरियल पोलिसी अपनायो। सर्कुलेसन बढाउनकालागि उसले बिबिध मार्केटिङ ट्याक्टिस पनि अपनाउन थाल्यो।

यसका लागि डिएनएले नयाँ नयाँ एडिटरहरु ल्याउन थाल्यो। गौतम अधिकारीबाट सुरु भएको यो सिलसिला आर जगन्नाथन र आदित्य सिन्हा हुँदै रवि जोशी, सिपी सुरेन्द्रन, उदय निर्गुणकर र द्विपायन बोससम्म पुग्यो। छिटो छिटो सम्पादक फेर्नुका साथै  पटक पटक लोगो र मास्टरहेड परिवर्तन गर्यो। सन् २०१७ मा कम्पनी स्टक एक्सचेन्जमा समेत लिस्टिङ भयो।

तर यी सबैले पत्रिकालाई सफल बनाउन सकेन। कम्पनीको फाइनान्सियल रिपोर्टलाई हेर्ने हो भने सन् २०१८/२०१९ मा डिएनएले कुल ५७.६ करोड भारुको नोक्सानी ब्यहोर्यो।

सन् २०१७/२०१८ मा यसको घाटा ९८.१७ करोड भारु थियो भने सन् २०१६/२०१७ मा यसले २५.५१ करोड भारुको घाटा ब्यहोरेको थियो।

यसै बेला डिएनएले आफ्ना धेरै कर्मचारीहरु कटौती गर्यो। तर यसको बदलामा कर्मचारी थप्ने काम भने गरेन। यसबाट १० रुपैयाँको ३२ पेजको पत्रिकाको साइज घटेर ५ रुपैयाँमा १२ पेजको पत्रिका निस्कन थाल्यो।

कम्युनिकेसन्स फर्म टेम्पुस फुगिटका सिइओ साइ नागेसका अनुसार डिएनए सम्पादकिय रुपले उत्कृष्ट थियो र यसले केही फरक गर्ने कोशिश पनि गरेको हो। तर बिगत दश वर्षमा कुनै पनि नयाँ पत्रिकाको परफर्मेन्स राम्रो भएन।

"युवाहरु समाचारकालागि पत्रिकामा भन्दा अनलाइनमा सिफ्ट भए। जो अझै पनि न्यूजपेपर नै पढ्छन् ति ३५ वर्षभन्दा बढी उमेरका छन् र उनीहरु आफ्नो आदतका रुपमा मात्र पत्रिका पढिरहेका छन्। उनीहरुको पत्रिकासँग साइकोलोजिकल फेमिलियरटी विकास भैसकेको हुन्छ। त्यसैले जब नयाँ दैनिकहरु लञ्च हुन्छन् तिनीहरुले  त्यो वर्गको ध्यान तान्न गार्हो हुन्छ।"

उनी भन्छन् "खासमा जब मानिसले पत्रिका पढ्छ त्यो केवल समाचारको लागि मात्र हुँदैन। उनीहरुले त्यहाँ सूचनाहरु पनि खोज्छन्। बर्गीकृत बिज्ञापन, बैबाहिक बिज्ञापन, जागिरको अवसर र यस्तै खाले बिबिध जानकारीहरु पनि चाहन्छन्। नयाँ दैनिक आउँदा यस्ता बिज्ञापनहरुलाई तान्न सक्दैनन् जसले गर्दा सर्कुलेसन र रिडरसिप बढ्न समय लाग्छ।"

द हुट डट ओआरजीकी संस्थापक सम्पादक सिभान्ती निनानका अनुसार टाइम्स अफ इन्डिया, हिन्दुस्तान टाइम्स, द इन्डियन एक्सप्रेस र द हिन्दूजस्ता पत्रिकाहरु पुरानो बिरासत बोकेका संस्थाहरु हुन्। तर डिएनए भने जि बिजनेस एम्पायरको सानो समूहमात्र     हो। उनी भन्छिन्- "जब कुनै समूह बित्तीय संकटमा पर्छ त्यसबेला उसले पत्रिका बन्द गर्छु भन्नु सामन्य नै हो। किनभने त्यो उसको ब्यापारको सानो हिस्सा हो र यसले लामो समयदेखि ब्यापारमा कुनै महत्वपूर्ण सहयोग गरिरहेको छैन भने किन बन्द नगर्ने भन्ने हुन्छ।"

'नट योर फादर्स पेपर'

डिएनए जतिबेला समस्यामा पर्यो उसले एकैसाथ दश जना टप एडिटोरियल हेडका साथै मार्केटिङ र एचआर चिफहरु हटाउँदै गयो। यसैगरी उसले आफ्नो संस्करणहरु पनि एक एक गर्दै बन्द गर्दै गयो।

सन् २०१४ मा यसले आफ्नो बेंगलुरु र पुने एडिसन बन्द गर्यो। महाराष्ट्रमा यसको राम्रो ग्राहक संख्या हुँदाहुँदै पनि यसले त्यहाँ बन्द गर्यो। त्यसबेला महाराष्ट्रमा यसको २५ हजार सब्सक्राइबर थियो भने यसले त्यहाँ युवा लक्षित 'नट योर फादर्स पेपर चुज योर डिएनए' बिज्ञापन क्याम्पेन पनि संचालन गरेको थियो।

गत फेब्रुअरीमा डिएनएको दिल्ली एडिसन बन्द भयो। त्यो सन् २०१६ मा मात्र सुरु भएको थियो। जम्मा तीन वर्ष पनि संचालन नहुँदै त्यो बन्द गरिएको थियो। यसैगरी घाटा कम गर्न भन्दै जयपुरको एडिसन पनि बन्द भयो।

डिएनएले बिभिन्न स्थानबाट संस्करणहरु निकाल्नु पनि एक किसिमको एक्सपेरिमेन्ट नै भएको कुनैसम्य डिएनएमा काम गरेका एक स्रोतले बताए। उनका अनुसार पत्रिकाको लोकप्रियता बढाउनकालागि यस्तो एक्सपेरिमेन्ट गरिएको थियो।  उनी भन्छन्- 'तर यो डिएनएको मात्रै कुरा होइन। मुम्बई र दिल्लीका अरु पत्रिका पनि हेरौं। यहाँ औंलामा गन्न सकिने दैनिक पत्रिकाले मात्र नाफा कमाएका छन्। तर केवल मालिकको 'इगो'का कारण मात्र टिकाउने र  निरन्तरता दिने काम भैरहेको छ।'

डिएनए बन्द भएको घोषणा गत बुधबार भयो। कम्पनीमा कार्यरत सबै कर्मचारीहरुलाई मंगलबार रातको २ बजेतिर मात्र इमेल मार्फत जानकारी दिइएको थियो।

एक कर्मचारीका अनुसार कम्पनी ब्यवस्थापनले उनीहरुलाई भोलिपल्ट बोलाएर बिगत एक वर्षयता अत्यधिक संकट ब्योहोरिरहेकोले पत्रिका बन्द गरेको जानकारी दिएको बताए। आर्थिक संकटका कारण डिएनएले आफ्नो सबै प्रिन्ट एडिसन बन्द गरिएको र कर्मचारीहरुलाई एक साताभित्रमा सबै बक्यौता तिर्ने बताएको पनि उनले  जानकरी दिए।

व्यवस्थापनले आर्थिक संकट आएको पहिले नै जानकारी पाएपनि व्यवस्थापनले लामो समयसम्म बन्द गर्न लागेको कुरा बिरोधीले चलाएको हल्लामात्र भएको भन्दै नकार्दै आएको पनि ति कर्मचारीले बताए।

डिएनए पत्रिकामा कार्यरत हालका कर्मचारी तथा पत्रकारलाई उसले आफ्नो डिजिटल प्लेटफर्ममा लैजाने वा नलैजाने भन्ने बारेमा पनि हालसम्म केही जानकारी हुन सकेको छैन।

 


Share this Story

   

१४ वर्षपछि भारतको चर्चित दैनिक डिएनए बन्द, पत्रिकाको युग सकिएकै हो? को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
ncell