दुर्गा माताको मूर्ति बनाउन सर्लाही देखि काठमाडौं सम्म, मूर्ति बनाएर मधेश र पहाड जोड्दै

सहयोग रञ्जित/बिजमाण्डू
२०७६ असोज १८ गते १२:४३ | Oct 5, 2019

काठमाडौं। सर्लाहीका विभिन्न स्थानमा दुर्गा पूजाका लागि ठूलठूला पंडाल बनाइएका छन्। घटस्थापनाको दिनदेखि त्यहाँ नौ रातसम्म जाग्राम बसेर देवी दुर्गा भगवतीको आह्वान गरिन्छ। पंडालमा देवी दुर्गाले महिषासुरको बध गर्दै गरेका ठूला मूर्तिसहित विभिन्न देवी देवताका स्वरुपहरु राखिएका छन्। मधेशभर अहिले दुर्गा पूजाको रौनक छ।

Tata
GBIME
Nepal Life

यता, काठमाडौंमा पनि पंडाल बनाएर दुर्गा पूजा गर्ने प्रचलन बढ्दै गएको छ। कमलपोखरी, कालिमाटी, गौरीघाट लगायतका स्थानमा धेरैवर्ष अगाडि दुर्गाको मूर्ति स्थापना गरेर पूजा गर्ने प्रचलन सुरु भएको थियो। त्यसको निरन्तरता स्वरुप अहिले उपत्यकाका विभिन्न स्थानमा दुर्गा पूजा आयोजना हुँदै आइरहेको छ। टेकु दोभानमा आयोजना भइरहेको 'जय माता दी दुर्गा पूजा' मा मात्रै यसपटक करिब चार लाख भक्तजन आउने विश्वास गरिएको छ। अहिले सबै पंडालहरुमा दुर्गा भवानीको मूर्ति स्थापना भइसकेको छ। पूजाका लागि मूर्ति बनाउने काम चाहिँ मधेशबाट आएका नेपालीहरुले नै गरेका हुन्।

आफ्नै गाउँमा भव्य रुपमा मनाइने पर्व छोडेर उनीहरु काठमाडौंमा लगाइएका पंडालहरुको शोभा बनाउन जुटेका हुन्। अर्डर अनुसार मूर्ति बनाएर त्यसमा रंग भरेर पंडालमा लगेर 'फिटिङ' गरिदिनेसम्मको काम उनीहरुले नै गर्छन्। मूर्ति बनाउने धेरैजसो काम भने कुपण्डोलस्थित वाग्मती नदी किनारमा हुन्छ।

विगत ३० वर्षदेखि सर्लाहीका बिकाउ पण्डित काठमाडौं आएर दुर्गा पूजाका लागि मूर्ति बनाउँदै आइरहेका छन्। पहिला केही स्थानमा मात्रै सीमित पूजा अहिले धेरै स्थानमा फैलिएको उनको दाबी छ।

‘नेपालीहरु नवरात्रभर देवी भगवतीका नौ रुपमा पूजा गर्ने गर्छन्। यता, यसरी पंडालमा भने दुर्गाको महिषासुर मर्दिनी स्वरुपको पूजा हुन्छ। हातमा त्रिशुल समाउँदै गरेकी देवी दुर्गाको चरणमा महिषासुर रहेको हुन्छ। देवीको वाहन सिंहका साथै सरस्वती, लक्ष्मी, गणेश र कार्तिकेयको मूर्ति पनि यसरी पंडालमा लगाइएका हुन्छन्,' उनले भने।

१२ वर्षको उमेरदेखि सर्लाहीमा दुर्गाको मूर्ति बनाउन सुरु गरेका पण्डित अहिले ६० वर्षका भए। अहिले उनी अरुलाई मूर्ति बनाउन सिकाउँछन् पनि। भन्छन्, 'घरमा यसै बस्नुभन्दा यहाँ आएर काम गर्‍यो। देवीको मूर्ति बनायो। यसैमा खुशी छौं।'

पण्डितजस्तै धेरै व्यक्ति मधेशबाट विश्वकर्मा पूजा अगाडि नै काठमाडौं उपत्यका प्रवेश गर्छन्। विश्वकर्माको मूर्ति बनाइसेकपछि उनीहरु सबैजना दुर्गा पूजाका लागि मूर्ति बनाउनमै व्यस्त हुन्छन्।

मूर्ति बनाउन काठमाडौं ओर्लिएका बद्रीनारायण पण्डितका अनुसार सर्लाहीमा काठमाडौंमा भन्दा धेरै ठूला मूर्ति र पंडालहरुमा पूजा हुनेगर्छ। ठूलो क्षेत्रमा एउटा पंडाल हुन्छ। दुई-तीन गाउँका मानिसहरु सबैजना त्यहीँ जम्मा भएर दुर्गा भवानीको आह्वान गर्ने गर्छन्। काठमाडौंमा भने धेरै ठाउँमा छुट्टाछुट्टै पंडालहरु बनाएर पूजा गरिन्छ।

दुर्गा पूजाको लागि आवश्यक मूर्तिहरुको मूल्य भने फरकफरक हुन्छ। डिजाइन, तौल, आकार हेरेर १० हजार देखि ५० हजार वा सो भन्दा बढीमा मूर्तिहरु बन्छन्। बद्रीका लागि यो मौसमी काम हो। काठमाडौंमा आएर मूर्ति बेचेर कमाउने पैसाले मात्रै घर खर्च चल्दैन। गाउँ फर्केपछि खेती गर्नैपर्छ।

भन्छन्, 'हातमा हुनर (सिप) छ। त्यसैले मूर्ति बनाउछौं। बाँकी समय खेती गर्छौं। मूर्ति बनाउनु हाम्रो पुर्खौली पेशा भएकाले सजिलै हामी यसबाट टाढा जान सक्दैनौं।'

दशैंको काम सकियो। तर, उनीहरु सर्लाही फिर्ता जाँदै छैनन्। काठमाडौंमा नै बसेर दशैं मनाउँदैछन्। तिहार पनि यतै। त्यसलगत्तै उनीहरु छठमा छठी माइको मूर्ति बनाउने तयारीमा जुट्ने छन्। त्यसपछि फेरि सर्लाही गएर खेतबारी।

बद्री र बिकाउ उमेरले ६० कटिसके। अब उनीहरु आफ्नो पुर्खयौंली कला युवाहरुलाई हस्तान्तरण गर्दैछन्।

अरुण पण्डितलाई १० वर्षको उमेरमै मूर्ति बनाउन सिकाउने बिकाउ नै थिए। अहिले ३० वर्ष पुगेका अरुण गाउँबाट कामदार ल्याएर करिब १० जनालाई रोजगार दिन सक्षम भएका छन्। बिकाउ भने अरुणलाई सहयोग गरिरहेका छन्।

अरुणले काठमाडौं आएर मूर्ति बनाएको १२ वर्ष भयो। उनी पनि पहिलाभन्दा अहिले धेरै स्थानमा हुने दुर्गाको मूर्ति पूजाका लागि माग भइरहेको बताउँछन्। यस वर्षको विश्वकर्मा पूजाका लागि उनीहरुले १ सय ११ वटा विश्वकर्माका मूर्ति बनाए भने दशैंका लागि दुर्गा (गणेश, कार्तिक, लक्ष्मी र सरस्वतीको मूर्ति सहित) को ११ सेट तयार पारे।

'पहाड र मधेशमा दुर्गा पूजाको चलनमा फरक छ। पहिला यहाँ पंडालमा माताजीको स्थापना गरेर पूजा गरिदैन थियो। पछि बिस्तारै यहाँ पनि यसरी पूजा हुन थाल्यो। पछिल्लो चरणमा सबैले यो संस्कृतिलाई ग्रहण गर्दै लगेका छन्,' अरुणले भने।

पहाडले मधेशमा भव्य रुपमा पंडाल लगाएर मनाइने दुर्गा पूजाको संस्कृतिलाई ग्रहण गरे पनि शहरले पूजाको नियमहरु पालना गर्न नसकेकोमा उनको विमति छ।

'हाम्रो गाउँमा नियमपूर्वक हुन्छ। यहाँ त घटस्थापनाको दिनमा नै देवीको आँखा खुल्ला गरेर विराजममान गरिदिन्छ। मधेशमा विधिपूर्वक सप्तमी (फूलपाती) का दिन मात्रै देवीको आँखा खोल्ने गरिन्छ,’ उनले भने, ‘यदि मनबाट नै पूजा गर्ने हो भने नियमपूर्वक पूजा गर्नुपर्छ। यहाँ अलि फेसन जस्तो भयो।'

महिषासुरलाई सप्तमीको दिन दुर्गा भवानीले मारेको हुनाले सो दिन मूर्तिको आँखा खोल्ने परम्परा रहेको छ।

अरुण पनि अरु जस्तै मूर्ति बनाउने सिजनमा मात्रै काठमाडौं आउँछन्। गाउँमा हुँदा सरस्वतीका साथै महाजगका लागि मूर्ति बनाउने काम गर्छन्। अरु बेला खेती गर्छन्। तर, काठमाडौंमा आएर मूर्ति बनाउन उनलाई सन्तोष मिल्छ। दशैंमा दुर्गा भवानीले काठमाडौं र मधेशबीच भाइचार विकास गराएको उनको बुझाइ छ।

भने, 'यहाँ आएर काम गर्दा रमाइलो लाग्छ। आउने काम गरेन भने कसले बनाउँछ? गाउँमा सबैले उतै मूर्ति बनाउन आउ भन्छन्। यहाँकाले यहाँ बनाउन बोलाउँछन्। काठमाडौंमा वर्षै पिच्छे आउने भएकाले यहाँका चिनेकाले भाइजस्तै व्यवहार गर्छन्। यसरी सबै देवताको मूर्ति राखेर पहाडमा पूजा हुँदैन। मधेशमा हुने यस्तो पूजाले पहाड र मधेशबीच भाइचार बढाएको छ।'

सप्तमीको दिन दुर्गाको आँखा खोलेपछि दशमीको दिन दर्गा भवानीलाई नजिकैको नदीमा लगेर बिसर्जन गर्ने गरिन्छ। मधेशमा विजया दशमीका दिन टीकासँथै जौ र जलले कपालमा बाध्ने परम्परा रहेको उनले बताए।

भने, 'पहाड र तराईमा सबै कुरा उस्तै हो। पूज्ने देवी दुर्गा नै हो। तरिका अलिअलि मात्रै फरक हो नि। तर, जे फरक भए पनि यी सबै परम्पराहरु हाम्रो आफ्नै हुन्।'