भारतमा महिन्द्रा र फोर्डको व्यापारिक साझेदारी सुरु, महिन्द्राले फोर्डको ५१% शेयर किन्यो

बिजमाण्डू
२०७६ असोज १५ गते १३:४२ | Oct 2, 2019

Tata
GBIME
Nepal Life

भारतमा महिन्द्रा एण्ड महिन्द्राले फोर्ड मोटर कम्पनीको ५१ प्रतिशत शेयर किनेर संयुक्त साझेदारीमा व्यवसाय अघि बढाउने भएको छ।  
महिन्द्रा कम्पनीले फोर्ड मोटरको भारतस्थित युनिटको ५१ प्रतिशत शेयर किनेको हो।

आगामी दिनमा संयुक्त साझेदारीबाट  नै भारतमा फोर्ड गाडीको ब्यबस्थापन हुनेछ। महिन्द्रा एण्ड महिन्द्रा कम्पनीले  फोर्डको शेयर खरिद गरेको समाचार सार्वजनिक भएलगत्तै कम्पनीको शेयर १.७ प्रतिशतले बढिसकेको छ।

महिन्द्रा एण्ड महिन्द्र कम्पनीले बिज्ञप्ती जारी गर्दै दुई कम्पनीबीच बिजनेस ट्रान्सफर एग्रिमेन्ट भएको जनाएको छ। कम्पनीले फोर्डको भारतस्थित युनिटको ५१ प्रतिशत अक्वायर गरेको बिज्ञप्ती मार्फत जानकारी दिएको छ।

सन् २०२० को मध्यसम्ममा सबै कारोबार टुंगिने बताइएको छ। महिन्द्रा एण्ड महिन्द्राले फोर्डको ५१ प्रतिशत शेयर प्राप्त गर्नकोलागि अनुमानित ६५७ करोड भारतीय रुपैयाँ तिर्नुपर्ने छ।

कम्पनीले फोर्डमा थप लगानी गर्ने समेत प्रतिबद्धता जनाएको छ। ५१ प्रतिशत शेयर किनेपछि कम्पनीको भावी रणनीति तथा ब्यापारमा थप १४ सय करोड लगानी गर्ने महिन्द्राले बताएको छ।

फोर्डले आफ्नो भारतीय युनिटलाई जोइन्ट भेन्चरमा संचालनको लागि महिन्द्रा एण्ड महिन्द्रालाई हस्तान्तरण गर्नेछ जसमा उसको चेन्नइ र सानन्दको एसेम्बली प्लान्ट समेत पर्नेछन्।

तथापि फोर्डले सानन्दको इन्जिन प्लान्ट तथा ग्लोबल बिजनेस सर्भिस युनिट,  फोर्ड क्रेडिट र फोर्ड स्मार्ट मोबिलिटी भने महिन्द्रालाई बेचेको छैन। यो फोर्डले आफैले संचालन गर्नेछ।

'महिन्द्राले इन्जिनियरिङमा हासिल गरेको बिज्ञता तथा सफल मोडलहरु र फोर्डको प्राविधिक दक्षता मिलेर अब हामी भविष्यमा विश्वव्यापी रुपमा सफलता हात पार्नेछौं। यो साझेदारीपछि दुबै कम्पनीको साझा मूल्य र मान्यताबाट अघि बढ्नेछ।'- महिन्द्रा ग्रुपका अध्यक्ष आनन्द महिन्द्राले भने।

फोर्डले भारतको प्रतिस्पर्धात्मक बजारमा हालसम्म कमै मात्र सफलता हात पार्न सकेको छ। दुई कम्पनीको साझेदारीपछि यसले भारतभरमा आफूलाई दह्रो रुपमा उभ्याउने विज्ञहरुले अनुमान गरेका छन्।