भारतमा मन्दी आएसँगै नेपाली बजार छिरे लगानीकर्ता, ३४ र ३५ ब्रोकरबाट कसले खरिद गर्दैछन् शेयर?

बिजमाण्डू
२०७६ भदौ १९ गते ११:०३ | Sep 5, 2019


काठमाडौं। शेयर बजार लगातार ओरालो झर्दै गर्दा विगत एक महिनाको अवधिमा केही संस्थागत लगानीकर्ताले ठूलो मात्रामा शेयर खरिद गरिरहेका छन्। ब्रोकर नम्बर ३४ बाट मात्रै  एक हप्ताको अवधिमा २६ करोड ६८ लाख रुपैयाँको शेयर खरिद भएको छ।

Tata
GBIME
Nepal Life

उक्त कारोबारमा भिजन सेक्युरिटिजको मात्रै १० प्रतिशत हिस्सा रहेको छ। भिजनबाट २८२४ वटा कारोबार हुँदा अधिकांश कारोबार बढाएर भएको देखिन्छ।

भिजनसँगै अनलाइन सक्युरिटिज, डाइनामिक मनी म्यानेजर, इम्पेरियल सेक्युरिटिजबाट ठूलो संख्यामा शेयर खरिद भएको छ। अनलाइन सेक्युरिटिजबाट २० करोड ७२ लाख रुपैयाँको शेयर खरिद भएको छ भनेइम्पेरियल सेक्युरिटिजबाट पनि १२ करोड ६६ लाख रुपैयाँको खरिद भएको देखिन्छ।

तर अनलाइनबाट यसै अवधिमा १९ करोड ४६ लाख रुपैयाँको शेयर बिक्री भएको देखिन्छ। त्यस्तै इम्पेरियल सेक्युरिटिजबाट १४ करोड १४ लाख रुपैयाँको शेयर बिक्री भएको देखिन्छ।

ब्रोकरहरुका अनुसार भारत र नेपाल दुबैतर्फ शेयर शेयर कारोबार गर्नेहरु पूर्ण रुपमा नेपाली बजारमा केन्द्रित भएका छन्। पछिल्लो समय भारतमा आर्थिक मन्दीले ठूलो प्रभाव पारिरहेको छ। भारतमा बजार घट्ने आँकलन गर्दै उनीहरुले विस्तारै शेयर खरिद गरिरहेका हुन्।

विगत एक महिना अगाडि देखिनै उनीहरुको सक्रिएता बढेको एक ब्रोकरले बताए। केही मात्रामा उनीहरुले शेयर खरिद गरे पनि अधिकांश शेयर संस्थागत लगानीकर्ताहरुले नै खरिद गरिरहेका हुन्। नेपालको शेयर बजार धेरै तल झरेको मौका छोपेर उनीहरुले विस्तारै विस्तारै आफ्नो हिस्सा बढाउन थालेको ब्रोकरहरु बताउँछन्।

दोस्रो बजारको मूल्यमै शेयर खरिद गर्दा पनि कम्पनीहरुको लाभांशले जित्ने भएकोले पैसा हुने संस्थागत लगानीकर्ताहरुले खरिद गरिरहेका हुन्।

राम्रो कम्पनी छानेर शेयर खरिद गर्दा राम्रो लाभांश पाउन सक्ने अवस्था छ। तल्लो तहमा रहेको बजार अलिकति मात्रै सुधार भएमा पूँजीगत लाभ लिन सकिने भएकाले संस्थागत लगानीकर्ता आकर्षित भएका हुन्।

वैशाख यता नेपाल धितोपत्र बोर्डबाट ६ वटा म्युचुअल फण्डले ६ अर्ब ५५ करोड रुपैयाँको आकारको म्युचुअल फण्ड निष्कासन गर्ने अनुमति पाएका छन्। अनुमति पाएका अधिकांश फण्डले सार्वजनिक निष्काशन गरेर दोस्रो बजारमा लगानी सुरु गरिसकेका छन्। ब्रोकरहरुका अनुसार नयाँ आएका म्युचुअल फण्डले विस्तारै शेयर खरिद गरिरहेका छन्।

गत साउनमा शेयर बजार सुधार हुने अपेक्षा गरिएको थियो। तर बजार सुधार हुन सकेको थिएन। मंगलबार एका एक शेयर बजार २० अंकले सुधार भयो। तर बुधबार यसले निरन्तरता पाउन सकेन। कतिपय लगानीकर्ताले दशै खर्चका लागि शेयर बिक्री गर्न खोज्ने हुँदा बजार सुधार हुने भन्दा पनि घट्ने विश्लेषण गर्दै बजार प्रवेश गर्न खोजिरहेको देखिँदैन।

आम लगानीकर्तामा बजार बढ्छ भने मनोविज्ञान हाबी भए पनि कन्फिडेन्स नहुँदा बजारले गति लिन सकेको छैन। बजारलाई असर गर्ने कुनै पनि नकारात्मक पक्ष नहुँदा पनि बजार सुधार हुन सकेको छैन।

बिगत दुई दिनमा शेयर बजार २३ अंकले सुधार हुँदा ब्रोकर लगायत केही लगानीकर्ताले ठूला लगानीकर्ता छिरेको हल्ला फिजाउँन थालेको चर्चा समेत चलेको छ।