काठमाडौं। अमेरिकी डलरको भाउ फेरि ४० पैसाले बढेर ११५ रुपैयाँ २० पैसा पुगेको छ। करिव तीन सातामा डलरको भाउ ४ रुपैयाँ ८३ पैसाले बढेको छ।
अमेरिका-चीन व्यापार युद्धका कारण विस्तारै उक्लिन थालेको डलरको भाउ अघिल्लो साता भारतले जम्मुकस्मिर बारे लिएको महत्वपूर्ण निर्णयका कारण उचालिएको हो।
स्वतन्त्र राज्यका रुपमा रहेको जम्मु कस्मिरलाई केन्द्रीय सरकार अन्तर्गत ल्याए लगत्तै भारु कमजोर देखिएर डलर बलियो भएको हो। यसैगरी भारतीय अर्थतन्त्रमा मन्दी आउने आँकलनहरु सार्बजनिक भइरहँदा पनि भारु कमजोर देखिन थालेको हो।
भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुन्छ। किनभने नेपाली र भारतीय रुपैयाँबीच स्थिर बिनिमय दर (१०० भारु बराबर १६० नेपाली रुपैयाँ) छ। भारुमा आउने तरङले नेपाली रुपैयाँलाई पनि असर पार्ने गर्छ।
तीन साताअघि डलर ११० रुपैयाँ ३७ पैसामा सजिलै पाईन्थ्यो। दुई सातादेखि डलर ११३ रुपैयाँ हाराहारीमा बसेको थियो। ११० मा रहेको डलरले ११२ लाई नटेकी १११ हुँदै सोझै ११३ रुपैयाँमा उक्लिएको थियो।
डलरको भाउ बढ्दा विदेशमा रहेका नेपालीको पैसा बुझ्ने स्थानीय परिवारलाई फाइदा हुन्छ। तर व्यापार घाटा थप बढाउन भने यसले मद्दत गर्छ। सबै आयातित सामान महँगोमा किनेर भित्र्याउनु पर्ने हुन्छ।