आँपको मूल्य १० वर्ष यताकै महँगो, आन्तरिक उत्पादन न्यून, विषादी जाँच प्रकरणले निम्त्यायो समस्या

बिजमाण्डू
२०७६ असार २५ गते ०९:५७ | Jul 10, 2019

Tata
GBIME
Nepal Life

काठमाडौं। यस वर्ष नेपाली बजारमा आँप १० वर्ष यताकै महँगो भएको छ। कालीमाटी तरकारी बजारका अनुसार बि सं २०६५ सालको असारमा प्रति केजी आँपको थोक औसत मूल्य ५० रुपैयाँ ६५ पैसा थियो भने सोमबारको थोक मूल्य ९५ रुपैयाँ पुगेको छ।

आन्तरिक उत्पादनमा कमी र आयातमा समस्याका कारण आँप १० वर्ष यताकै महँगो भएको कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिले जनाएको छ।

यस वर्ष आन्तरिक उत्पादनमै कमी आएको कुलेश्वर फलफुल व्यवसायी सङ्घका अध्यक्ष अमर बानियाँले जानकारी दिए। 'यस वर्ष आन्तरिक उत्पादनमै कमी आएको कारण आँपको मूल्य बढेको हो' बानियाले भने ।

आँप एक सिजनमा धेरै फल्ने गर्छ भने अर्को सिजनमा कम फल्छ। यस बर्ष आँप कम फल्यो। बानियाँका अनुसार यस वर्ष कुलेश्वर फलफुल बजारमा प्रति केजी थोक मूल्य नै १५० रुपैयाँ सम्म पुगेको थियो। थोक मूल्य नै आकासिएपछि उपभोक्ताले खुद्रा मूल्य किलोको २५० रुपैयाँसम्म हाल्न बाध्य भए। एक दशकमा यति धेरै मूल्य तिरेर उपभोक्ताले आँप खानुपरेको पहिलो पटक हो।

गत वर्ष असारमा प्रति केजी आँपको औसत मूल्य ६५ रुपैयाँ ३१ पैसा रहेको थियो। अघिल्लो वर्ष ९३ रुपैयाँ ७१ पैसा रहेको थियो। १० वर्ष अघि २०६५ साल असारमा यसको मूल्य ५० रुपैयाँ ६५ पैसा थियो। तर यस वर्ष आँपको मूल्य एकाएक आकासिएपछि उपभोक्ताले खरिद समेत घटाएको कुलेश्वर फलफुल व्यवसायी सङ्घले जनाएको छ।

अघिल्लो वर्ष आँप पारखी उपभोक्ता थोक बजारमै आँपको पेटिनै खरिद गर्न पुग्ने गर्थे। मूल्य बढेका कारण त्यस्ता उपभोक्ता थोक बजारमा नै नपुगेको संघले जनाएको छ। पहिले तीन चार पेटी खरिद गर्नेले पनि यो वर्ष मूल्य वृद्धिका कारण एक दुई पेटिमै चित्त बुझाएको अध्यक्ष बानियाँको अनुमान छ।

यस वर्ष आँपको उत्पादन घटेको अनुमान राष्ट्रिय फलफुल विकास केन्द्रले गरेको छ।  तर कति घट्यो भन्ने यकिन विवरण भने सिजन नसकिएकोले नआइसकेको केन्द्रका प्रवक्ता भरत आचार्यले बताए। गत वर्ष तीन लाख २८ हजार २७३ मेट्रिक टन आँप उत्पादन भएको राष्ट्रिय फलफुल विकास केन्द्र किर्तीपुरले जनाएको छ। नेपालमा गत वर्ष ३६ हजार पाँच सय ४३ हेक्टर क्षेत्रफलमा आँप लगाइएको थियो।

कुलेश्वर फलफुल व्यवसायी सङ्घले भने यस वर्ष नेपाली उत्पादन ७० प्रतिशतले घटेको अनुमान गरेको छ।'पोहोरको तुलनामा यस वर्ष ३० प्रतिशत पनि नेपाली आँप बजारमा आएन'बानियाँले भने।

फलफुल तथा तरकारीमा विषादी जाँचको विषयले प्राथमिकता पाउँदा अन्य मुलुकबाट आयात हुने फलफुलको आयात समेत रोकिदा आँपको मूल्य बढेको हो। बानियाँका अनुसार नेपानी उत्पादनले मात्रै बजार धान्न सक्ने अवस्था छैन।

विषादी जाँचले भन्सारमा फलफुलका गाडी रोकिएकाले व्यवसायीले कम आँप आयात गरे। बजारमा आँपनै कम आएको कारण मूल्यमा प्रभाव परेको बानियाँको भनाई छ।

अझै पनि व्यवसायीले निर्धक्क फलफुल आयात गर्न सकेका छैनन्। अति नाशवान भएकोले भन्सारमा आयातित फलफुल केही दिन मात्रै रोकिएपनि लाखौँ रुपैयाँको घाटा हुने भएकोले उनीहरू आयात गर्न डराएका हुन्।

आयात सहज नभएसम्म आयातित फलफुलको मूल्य अझै केही दिन महँगै पर्ने छ। आयात सहज भएसंगै मूल्य घट्दै जाने बानियाँले जानकारी दिए।