बिग मर्जरका बारेमा बैंकहरुमा छलफल सुरु, कुन उपयुक्त भन्दै हिसाबकिताव निकालिन थालियो




काठमाडौं। बजेटमा 'ठूला बैंक' मर्ज गर्ने नीति लिने उल्लेख भएपछि बाणिज्य बैंकहरुको सञ्चालक समिति र उच्च ब्यवस्थापनमा 'बिग मर्जर' को गहन छलफल हुन थालेको छ।

चालु बर्ष नै बिग मर्जर नीति लिन खोजेको राष्ट्र बैंकलाई बजेटमा सरकारले संबोधन गरिदिएपछि आगामी बर्ष नीति ल्याउन अझ सहज भएको छ। त्यसैले पनि अधिकांस बैंकबीच बिग मर्जरमा जाँदा कुन बैंक उपयुक्त पार्टनर हुनसक्ला भनेर छलफल सुरु भएको हो।

Tata
Jagdamba Steel
Sanima Bank

नेपाल बैंकर्स संघले औपचारिक रुपमै मर्जर नीति ल्याउन सुझाब दिइसकेको छ। त्यसका लागि उसले केही सहुलियत पनि मागेको छ।

गभर्नर डा. चिरञ्जिबी नेपालको कार्याकाल आगामी चैतमा सकिँदैछ। फागुनबाटै उनी बिदामा बस्ने छन्। यस हिसाबले उनीसँग ८ महिनाको समय हुनेछ। ८ महिनाको अवधिभित्र कम्तिमा मर्जरको 'सैद्धान्तिक स्वीकृति' सक्ने मुड गभर्नर छन्। यस अवधिमा केही बैंकलाई 'अन्तिम स्वीकृति' दिएर एकिकृत कारोबार गराउन पनि सकिने बुझाइ राष्ट्र बैंकको छ।

यसको संकेत राष्ट्र बैंकका अधिकारीहरुले बैंक ब्यवस्थापन र सञ्चालक समिति सदस्यहरुलाई दिइसकेका छन्। त्यसैले पनि बैंकरहरु मर्जरका लागि उपयुक्त पार्टर छान्न छलफलमा जुटेका हुन्।

कतिपय बैंकको सञ्चालक समितिले कुन बैंक उपयुक्त हुन्छ भनेर विश्लेषण गर्ने जिम्मा व्यवस्थापनलाई दिइसकेको छ। ती बैंकहरुले वासलातको चिरफार गरेर 'हाम्रा लागि यो उपयुक्त हुन्छ' भनेर 'पावर पोइन्ट प्रिजेन्टेसन' पनि दिन थालेका छन्।

स्रोतहरुका अनुसार, भर्खरै केही विकास बैंकलाई गाभ्ने सहमति गरेको प्राइम कमर्सियल बैंकको सेञ्चुरी बैंकसँग कुराकानी चलिरहेको छ। यी दुई बैंकमा केही साझा लगानीकर्ता पनि छन्। अहिले प्राइम बैंक ठूलो समस्यामा छ। एकातिर जुनसुकै बेला अर्को बैंकमा सर्नसक्ने कल डिपोजिटको हिस्सा ठूलो छ भने दृष्टीबन्धक गरिसकेको अवस्थामा पनि कबुल गरेको ऋण रकम दिन सकेको छैन। त्यसैले प्राइमले अहिले तरलता सहज हुने र कल डिपोजिटको मात्रा कम हुने गरी मर्जरका लागि पार्टनर खोजिरहेको छ।

ग्लोबल आइएमइ बैंक पनि पार्टनर खोज्न जुटेको छ। आधा दर्जन संस्थालाई गाभेको ग्लोबल आइएमइको पहिलो रोजाइमा सानिमा बैंक छ। सानिमाले भने ग्लोबलसँगको मर्जरलाई 'इन्टरटेन' गरेको छैन। सँगसँगै ग्लोबलले कुमारी बैंकलाई पनि प्रस्ताब गरिसकेको छ।

सानिमा बैकको पहिलो रोजाइमा भने बैंक अफ काठमाण्डू (बिओके) छ। उसको दोस्रो विकल्प भने लक्ष्मी बैंक हो। लक्ष्मीमा राजेन्द्र खेतान समूहको बहुमत शेयर भएकाले त्यहाँ अल्पमतमा परिने हो कि भन्ने भय सानिमा पक्षलाई छ। नबिल बैंकले सानिमालाई केही समयअघि मर्जरका लागि अनौपचारिक प्रस्ताव गरिसकेको छ। 

अहिले अधिकांस बैंकको आँखा भने बिओकेमाथि छ। प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्त 'फर्स्ट जेनेरेसन बैंकर' भएकाले अब निरन्तरता नदिने भएकाले अर्को बैंकलाई व्यवस्थानपन 'टेकअप' गर्न सहज हुने बुझाइ बैंकरहरुको छ। 

एभरेष्ट बैंकसँग मर्जरको 'च्याप्टर' बन्द भएपछि लक्ष्मी बैंकले आफ्ना लागि उपयुक्त पार्टनरका रुपमा सानिमा बैंकलाई हेरेको छ। यससँगै उसको नजरमा कुमारी र सिद्धार्थ बैंक पनि परेको छ।

तरलता अभाव र केही ठूला ऋणमा समस्या परेका कारण मेगा बैंक पनि यतिबेला मर्जर पार्टनर खोजिरहेको छ। मेगाले कोसँग मर्जर गर्ने भनेर प्रकृया भने अगाडि बढाएको छैन। सञ्चालक समितिभित्रै रहेको पुरानो मर्जर समितिले विकास बैंकहरुसँग मर्जर गर्दा सजिलो हुने भन्दै केहीको नाम सिफारिस गरेका छन्।

सिभिल बैंकले आधा दर्जन संस्थालाई प्रस्ताव गरिरहेको छ। सिटिजन्सदेखि जनता बैकसम्म सिभिलको अनौपचारिक कुराकानी चलेको छ। प्राइमसँग मर्जर टुटेपछि ओमलाई गाभ्न खोजेको सिटिजन्स पनि पार्टनरको खोजीमा छ। ओमले एनएमबी बैंकसँग मिसिने निर्णय गरिसकेको छ। ऋणको गुणस्तरमा आश्वस्त हुन सके संभवत सिटिजन्स र सिभिलको कुराकानी अगाडि बढ्न सक्ने बैंकरहरु बताउँछन्।

मर्जरको चर्चामा सँधै रहने तर प्रकृया नथाल्ने नेपाल बंगलादेश बैंकले पनि ग्लोबलपछि सिटिजन्ससँग कुराकानी गरेको छ। तर कुराकानी खास अगाडि बढेको छैन।

बैंकरहरुका अनुसार, केही बैंकबाहेक बाँकी सबैको सबैसँग कुनै न कुनै रुपमा मर्जरको बिषयमा कुराकानी भइरहेको छ। मर्जरको सूचीमा सरकारी तीन बैंकका साथै, स्टान्डर्ड चार्टर्ड र नेपाल एसबिआइ बैंक छैन। कुराकानी गर्ने तर मर्जर नगर्ने चरित्रको भन्दै एभरेष्टलाई पनि कसैले मर्जरको सूचीमा राखेका छैनन्। आफ्नै हिसाबले वासलात ठूलो बनाएको एनआइसी एसिया बैंकसँग पनि कसैको नाम जोडिएको छैन। यस बाहेक सबै बैंक मर्जरका लागि छलफलमा छन्।

ठूला भनिएको नबिलसँग सानिमाको नाम जोडिएको छ भने नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंक मर्जर हुन सक्ने  आँकलन गरिएको छ। तर दुबै बैंकले मर्जरका लागि कुनै पनि छलफल नभएको जनाएका छन्। माछापुच्छ्रे बैंक सकभर विकास बैंकलाई गाभ्ने नभए मात्र बाणिज्य बैकलाई गाभ्ने रणनीतिमा छ।

प्रभु र जनता बैकबीच पनि अनौपचारिक कुराकानी भएको छ। नेपाल क्रेडिट एण्ड कमर्स (एनसिसी) बैंक मर्जरका लागि इच्छुक देखिए पनि कसैले पनि उसलाई मर्जरको प्रस्ताोब भने गरेको छैन। सनराइज बैंकको सञ्चालक समितिमा रत्नराज बज्रचार्य प्रमुख कार्यकारी हुँदा सामान्य छलफल भएपनि पछिल्लो समय कुराकानी अगाडि बढेको छैन। स्रोतहरुका अनुसार बज्राचार्यका पालामा सिद्धार्थ बैंक उपयुक्त हुने बारे छलफल भएको थियो।


Share this Story

   

बिग मर्जरका बारेमा बैंकहरुमा छलफल सुरु, कुन उपयुक्त भन्दै हिसाबकिताव निकालिन थालियो को लागी ४ प्रतिक्रिया(हरु)

Student management[ 2019-06-17 08:14:27 ]
— १ पटक सम्पादित
पहिला नयाँ विमा कम्पनीहरुकाे लाइसेन्स बाँडने अनि लगत्तै संख्या बढी भयाे भन्दै बलजफ्ती मर्जरका लागि आदेश दिने। बैंकहरुमा पनि यहि राेग हाे। स्वेच्छिक मर्जरबाट बैंकहरुकाे(क,ख,ग)संख्या यथेष्ट मात्रामा घटिसकेकाे अवस्थामा फेरि मर्जरकाे हल्लाले कतै अनिष्ट तर्फ त संकेत गरिरहेकाे छैन?
बचतमा १, २ % ब्याजदर र मुद्रा स्फ्रिति ११% हुँदा केही नबाेल्ने बैंकर्स संघ हाल निक्षेपमा ब्याज ११% पुग्दा भद्र सिण्डिकेटकाे राग अलाप्ने गर्छ। त्यही सिण्डिकेट ताेडन खाेज्नेलाई कारवाहीकाे धम्की दिन्छन नियमनकारी निकायका सरदारहरु। कराेड सर्वसाधारण निक्षेप कर्ताकाे भलाई हेर्नेकी केही हजार सुसचेत कर्जा प्रयाेग कर्ताकाे स्वार्थ?


बिग मर्जरको नाममा गलत काम हुन लागेको भान हुन्छ। नेपालका ब्यावसायिक सँगठन हरुको नाफामुखी ब्यवहारलाई राम्ररी ब्यवस्थापन नगरि बिग मर्जर गर्नु भनेको गरीबलाई सधै गरीब नै रहन दिनु हो। हाल तीब्र रुपले बैक बित्तिय सस्थाको संख्या बृद्दी हुनाको फाइदा गरीबले महसुस गर्न सकेको छ। नत्र सुकिलो कार्यालय तिर फर्कन पनि गरीबले १० चोटी सोच्नु पर्ने हुन्थ्यो। गरीब सम्म बैक पुग्ने क्रममा छन। हिजो एउटा खाता खोल्न लाई सिफारिस चाहिने अवस्था थियो आज बैक घरमै पुगेर खाता खोल्दिने अवस्था बनेको छ। हिजो धनी ले मात्र उपभोग गर्ने कर्जा सुबिधा आज सानो काम गर्ने उध्यमिले सम्म प्रयोग गर्न थालेको छ। तर यो अझै सुरुवाती चरण मै छ। अझै धेरैका हातमा सहज बैकिङ पहुँच र बैकिन पुँजी नपुगुन्जेल बैक को संख्या घटाउनु भनेको गरीब माथी अन्याय हुन जान्छ। अझै पनि सुन पसले र साहु बाट ३६ प्रतिसत मा पैसा लिनुपर्ने क्रम गाउँघर तिर विद्यमान छ। कुनै चोकमा धेरै बैक का शाखा थुप्रियो भन्दैमा सम्पूर्ण क्षेत्रमा बैकिङ सेवा पुगेको छ र बैक धेरै भयो भन्नु मुर्खता बाहेक केहि पनि हैन। छिट्टै धनी हुन खोज्नेले जग्गा दलाली गरेर कमाउने र त्यसमा बैकले पुजी ओइर्याउने प्रबित्ती ले गर्दा अहिलेको स्थिती आएको हो। बैक बाट पैसा निकालेर घडेरी प्लटिङ गर्‍यो बिदेसिएका गरीब लाई मुल्य बढाएर घडेरिका टुक्रा बेच्यो। बसी बसी करोडौ पैसा कमाएर त्यही पैसा ले महँगो गाडि, बिलासी जिवन जिउन थाल्यो, परिवारलाई लिएर बिदेश सयार गर्‍यो, छोरा छोरी बिदेश पढ्न पठायो। अनि देशको पुजी सबै बाहिर पठाएर आफै बैकको ब्याज बढी भएको डन्का पिट्यो । तरलता नभएको हल्ला फैलायो। ल बिग मर्जर भएको अवस्था मा माथी उल्लेखित कुन कुन कुरा मा नियन्त्रण हुन्छ कसैले भन्न सक्छ? सिमित बैक को दवदवा बढ्नाले त्यस्ता कृयाकलापमा झन सिमित ब्यक्ती को हालिमुहाली हुन्छ।


त्यस्तै मानौ दुइ वटा बैक मर्ज भएर १६ अर्बको पूँजी बन्छ भने, सो १६ अर्ब पूँजीलाई जस्टिफाइ हुने बमोजिमको ब्यापार बिस्तार गर्न पुन आक्रामक हुनै पर्दछ ।बिगतमा ८ अर्ब पुजी पुर्याउदाको अनुभवले पनि देखाइ सकेको छ। बैकले इपिएस्, आरओए, आरओइ मेन्टेन गर्नका लागी पुन आक्रामक रणनिती लिन्छ नै। त्यसलाई लगाम लगाउन खोजियो भने बैक नै अधोगती तिर जान सक्ने सम्भावना रहन्छ भने लगाम नलगाउदा पूँजीको प्रवाह पुन गलत दिशामा जाने जोखिम रहन्छ । अब बैकको पुजी बढाएर बढी जोखिम लिन उत्प्रेरित गराउनुको परिणाम स्वरुप उ थप जोखिम बोक्न तयार हुँदा नेपाल जस्तो देशमा बैक घोटालाका नयाँ नयाँ अध्याय सुरु होलान। त्यस्तै ठुला बैक को लगानी योग्य कोष ३ खर्ब छ भने उसले आफुले चाहेको क्षेत्रको बजार मा १०% (३० अरब्) ले लगानी बढायो भने त्यो क्षेत्र अस्वाभिक रुपले स्पेकुलेसन हुन सक्छ। बिगतको बजार अनुभवले पनि त्यो देखाएको छ। त्यस्तै हाल सम्म निती निर्माणमा रास्ट्र बैकले बैकका तर्फ बाट कुनै पनि दवाब झेल्नु नपरेको अवस्था छ तर भोली अर्थतन्त्रको ठुलो स्टेक होल्डर बन्न पुग्ने बैक निती निर्माणमा अनावस्यक दवाब सिर्जना गर्न सक्षम हुन पुग्छन। तसर्थ बिग मर्जरको धेरै हल्ला गर्नु भन्दा बैक बित्तिय सस्थाको सेवा सुबिधामा बिबिधता ल्याउन जरुरी छ। अझै नेपालको बैकिन सेवा विदेशी बैक भन्दा एक युग पछाडी छ त्यसमा अझै प्रतिस्पर्धा कम हुँदै जाने हो भने नयाँ पुँजी नयाँ प्रबिधी ल्याउन नेपाली बैक ले हतारो नगर्न सक्छन्।

   हालसम्म २०० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


khagendra pardeshi[ 2019-06-17 03:54:06 ]
अनुमानित कुरा लेखेर बजार प्रभावित गर्ने कुरा मात्र हाे याे सम्भावनाकै कुरा त जे पनि हुन सक्छ । भुकम्पकाे भविस्यवाणाी.....

   हालसम्म १९५ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Management student[ 2019-06-17 03:23:57 ]
मानौ मैले बृटेनकी राजकुमारी मन पराए र म बिहे गर्न चहान्छु भने जस्तै भयो यो समाचार । यस्तो हावादारी पनि समाचार हुन्छ । यो त बिज्माण्डु डट कमले जबरजस्ती आफ्नो एजेण्डा प्रकासित गरेजस्तो भएन र भन्या ? ? यो अध्यारोमा झट्टि हाने जस्तो समाचार छापेर के प्रमाणित गर्न खोजेको हो प्रस्ट भएन ।
यदी बिग मर्जर को समर्थक हो भने खोज र जानकारी मुलक्, तथ्यपरक र लजिकल समाचार छापेर दवाब दिन आग्रह गर्दछु ।

   हालसम्म २४८ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Anmol[ 2019-06-17 03:08:02 ]
Merger is the demand of time, however commercial banks are not much encouraged as much as the rumor is announcing by the media. Regulatory authority needs to take appropriate decision to encourage it.

   हालसम्म १६४ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
Ncell