शुक्रबारदेखि खानी विभागमा ज्वेलरी एक्स्पो, प्राचिन र आधुनिक गरगहना एकै स्थानमा पाइने

बिजमाण्डू
२०७६ जेठ १ गते १९:२२ | May 15, 2019

Tata
GBIME

काठमाडौं। शुक्रबारदेखि अन्तर्राष्ट्रिय जेम्स एण्ड ज्वेलरी एक्स्पो हुने भएको छ। नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र खानी तथा भूगर्भ विभागको संयुक्त आयोजनामा एक्स्पो हुन लागेको हो।

लैनचौरस्थित विभाग परिसरमा हुने एक्स्पोमा ६० वटा स्टल रहनेछन्। एक्स्पो उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्।  एक्स्पोमा गोल्ड, डायमण्ड ज्वेलरीका ३६ वटा, लुज जेम्स ४, सिल्भर ज्वेलरी २, ल्यापिडरी २, रक एण्ड मिनरल्स १२ र एजुकेशन ४ ओटा स्टल रहने महासंघका अध्यक्ष रमेश महर्जनले बताए। तीन दिन चल्ने मेलामा नेपाली पत्थरको पनि प्रर्दशनी गरिने विभागका महानिर्देशक सोमनाथ सापकोटाले जानकारी दिए ।

मेलाबाट बहुमूल्य तथा अर्धबहुमूल्य रत्न, पत्थर, स्वदेशी कच्चा पदार्थको अन्वेशण, उत्खनन्, प्रशोधन र प्रयोगको संभावनालाई स्पष्ट पारी आन्तरिक तथा वाह्य प्रविधि एवं पूँजीलाई आकर्षित गर्ने विभागले जनाएको छ।