विद्युतीय गाडी कम्पनी ओलामा टाटाले लगानी गर्यो, २ वर्षभित्र १० लाख इको फ्रेन्डली गाडी बनाउने

बिजमाण्डू
२०७६ बैशाख २३ गते १४:२९ | May 6, 2019


नयाँ दिल्ली। भारतको टाटा समूहले विद्युतीय गाडी उत्पादनका लागि ओला इलेक्ट्रिक मोबिलिटी कम्पनीमा लगानी गरेको छ।

Tata
GBIME
Nepal Life

ओलाका अनुसार टाटाको यो लगानीले विद्युतीय गाडी उत्पादनका लागि  ओलालाई अझ महत्वाकांक्षी बन्न सहयोग पुग्नेछ। कम्पनीमा टाटा समूहले कति रकम लगानी गरेको भन्नेबारे भने सार्वजनिक गरिएको छैन।

टाटाले ओलाकै प्यारेन्ट कम्पनी एएनआई टेक्नोलोजीमा यसअघि नै  लगानी गरिसकेको छ। एएनआई टेक्नोलोजीमा टाटाले सन् २०१५ मा नै लगानी गरेको हो।

यसै वर्षको मार्चमा ओलाले विद्युतीय सवारी उत्पादन तथा विस्तारका लागि पहिलो चरणमा ४०० करोड भारतीय रुपैयाँ लगानी उठाउने घोषणा गरेको थियो। यसकालागि उसले टाइगर ग्लोबल र म्याट्रिक्स इन्डियाबाट फण्डिङ पाइसकेको छ।  विद्युती सवारी उत्पादन गर्न आवश्यक थप लगानीका लागि ओला र टाटाबीच सम्झौता भएको हो।

'विद्युतीय सवारीले वातावरणलाई पार्ने सकारात्मक असरका कारण विकास र आर्थिक बृद्धिका लागि यसले प्रमुख भूमिका खेल्छ त्यसैले यसमा लगानी गर्न नयाँ बिजनेस एराको लागि रणनीतिक मुभ हुनेछ'- ओलासँगको टाईअपपछि टाटा समूहका अध्यक्ष रतन टाटाले बिज्ञप्तीमा भनेका छन्।

टाटाले ओला इलेक्ट्रिकमा गरेको लगानीबाट चार्जिङ स्टेसनहरु बिभिन्न मोडलका बजार सुहाउँदो विद्युतीय कारहरु उत्पादन गरिने बताइएको छ।

हाल ओलाले बिभिन्न किसिमका दुई, तीन तथा चार पाङ्ग्रे सवारी साधन, त्यसको  ब्याट्री तथा चार्जिङ स्टेसनहरु बनाउने परियोजनामा काम गरिरहेको छ।

ओलाका संस्थापक तथा सिइओ भविस अग्रवालले टाटाको लगानीले ओलाको यो यात्रालाई अझ सहज बनाउने बताए।

'रतन टाटालाई ओलाको बोर्डमा लगानीकर्ता तथा मेन्टरका रुपमा भित्र्याउन पाउँदा म एकदमै उत्साहित छु। हामीले रतन टाटाको अभिभावकत्व तथा सहयोग फेरि एकपटक पाएका छौं। यबाट हामीले सन् २०२१ सम्ममा १० लाख विद्युतीय सवारी पुर्याउने लक्ष्य प्राप्तीका लागि काम गर्नेछौं।'- भविसले बताए।

ओलाले नागपुरमा आफ्नो इलेक्ट्रिक मोबिलिटी पाइलट प्रोग्राम संचालन गर्दै आएको छ। सन् २०१८ मा ओलाले मिसन इलेकट्रिक योजना घोषणा गरेको थियो।