विश्व बैंकले भन्यो, आर्थिक चुनौतीको सामना मौद्रिक नीतिबाटै गर्नु पर्छ, ऋण ब्यवस्थापन चुस्त

बिजमाण्डू
२०७५ पुष २७ गते ०९:२४ | Jan 11, 2019
विश्व बैंकले भन्यो, आर्थिक चुनौतीको सामना मौद्रिक नीतिबाटै गर्नु पर्छ, ऋण ब्यवस्थापन चुस्त

काठमाडौं। विश्व बैंकले विकासशील देशहरुलाई आफ्नो देशको ऋण ब्यबस्थापन चुस्त राख्न र आर्थिक सुधारका कामहरु तीब्रता दिन सुझाव दिएको छ। 

Tata
GBIME
Nepal Life

सन् २०१९ को लागि विश्व आर्थिक बृद्धिको प्रक्षेपण गर्दै विश्व बैंकले आगामी दिनमा विश्व अर्थतन्त्रको चुनौती सामना गर्नका लागि विकासशील देशहरुले आफ्नो मौद्रिक नीतिबाटै तयारी गर्नुपर्ने बताएको छ। 

विश्व बैंकले सन् २०१९ मा विश्व आर्थिक बृद्धि २.९ प्रतिशतमा खुम्चने प्रक्षेपण समेत गरेको छ।  विश्व बैंकले गत वर्षको ३ प्रतिशतबाट घटाएर यस बर्षका लागि विश्व आर्थिक बृद्धि २.९ मा सिमित रहने प्रक्षेपण गरेको हो। 

सन् २०१९ मा अन्तराष्ट्रिय ब्यापार तथा अन्य परियोजनाहरुको निर्माणमा समेत समस्या उत्पन्न हुनसक्ने तर्फ पनि विश्व बैंकले संकेत गरेको छ। 

विश्व बैंकले सन् २०१९ मा विकासशील देशहरुले आफ्नो ऋण ब्यबस्थापनमा धेरै ध्यान दिनुपर्ने बताएको छ। पहिलेदेखि नै ऋण ब्यबस्थापन कमजोर रहेका देशहरुकालागि पनि यो जटिल विषय बन्न सक्ने प्रतिवेदनमा उल्लेख छ। 

विश्व बैंक समूहका अध्यक्ष जिम योङ किमले जारी गरेको प्रतिवेदनमा विकासशील देशका अझै ५ मध्ये ४ ब्यक्तिलाई सरकारले सामाजिक सुरक्षाको अनुभूति गराउन नसकेको उल्लेख छ।  यस प्रतिवेदनबाट ति देशका  सरकारमाथि आफ्ना नागरिकको न्यूनतम सामाजिक सुरक्षाको ग्यारेन्टी गर्न समेत दबाब पर्नेछ।  

विश्व बैंकले नेपालमा सरसफाइमा गरेको लगानीले एनिमिया रोकथाम गर्न विशेष सहयोग पुर्याएको उल्लेख गरेको छ। 

मानव विकास सूचकांकमा १५७ देशमध्ये १०२ नम्बरमा रहेको नेपालमा विश्व बैंक अन्तर्गत संचालन भएको महिलाहरुको स्वरोजगार तालिमबाट कृषि बाहेकको क्षेत्रको रोजगारी १७४ प्रतिशतले बढेको पनि प्रतिवेदनमा उल्लेख छ। 

विश्वभर नै औपचारिक र अनौपचारिक क्षेत्रको रोजगारीमा असमान ज्याला रहेकोमा नेपालमा पनि अनौपचारिक क्षेत्रको भन्दा औपचारिक क्षेत्रमा चारगुनाले बढी ज्याला भएको बताइएको छ। दक्षिण अफ्रिकामा यो ६ गुनाले बढी देखिएको प्रतिवेदनमा उल्लेख छ। 

बैंकले जारी गरेको प्रतिवेदनमा विश्व अर्थतन्त्र विकास भैरहेको र गरिबीको दर पनि अहिलेसम्म कै न्यून भएको भन्दै यसले आगामी दिनका अफ्ठ्यारो अवस्था चिर्न मद्दत गर्न सकारात्मक भूमिका खेल्ने पनि जनाएको छ।