काठमाडौं। चीनमा व्यापार गरेका गैरआवासीय नेपाली घनश्याम अधिकारीको समूहले किनेको भनिएको सौर्य एयरलाइन्सले तीन महिनाको अवधिमा चार करोड रुपैयाँ पनि तिर्न नसकेर उडाननै रोकिने अवस्थामा पुगेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा शुल्क वापतको चार करोड रुपैयाँ पनि तिर्न नसकेपछि उडाननै रोकिने अवस्थामा पुगेको हो। विराटनगरका दीपक पोखरेल, दिनेश राठी, प्रदीप मुरारका लगायतको समूहबाट अधिकारीको समूहले किनेको तीन महिनासम्म चार करोड रुपैयाँमा डेढ करोड रुपैयाँ तिर्न नसकेर उडाननै प्रभावित हुने अवस्था आएको हो। विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले सौर्यले प्रतिवद्धता अनुसार पैसा नतिरेकोले आइतबार उडान रोक्ने जानकारी दिए।
‘कम्पनीले शुक्रबार बक्यौंता तिर्ने प्रतिवद्धता गरेको थियो। तर विहिबार कुरा फेर्दै आइतबार १२ बजे अगाडि पैसा ल्याउँछु भनेर जानकारी दियो’ उनले बिजमाण्डूसँग भने,’यसरी तारिख सार्नेको विश्वास गर्न सकिदैन। हामी सौर्यको उडान आइतबारदेखि रोक्छौं। त्यो एक घण्टा हुन्छ की दुर्इ घण्टा हुन्छ की तीन घण्टा हुन्छ उडान रोक्छौं।’ सौर्यको उडान समय मध्यान्न १२ बजेको मात्रै छ।
नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक सन्जीव गौतमले प्राधिकरणको विमानस्थल सेवा सुरक्षा नियमावली अनुसार सौर्यको उडान रोकिने बताए। सो नियमावली २०६७को नियम ३०को उपनियम २ कुनै व्यक्ति वा निकायले ६० दिनसम्म सेवा शुल्क नतिरेमा उडान तत्काल रोक लगाइने व्यवस्था छ। विमानस्थलले एक महिना अघि सौर्यको उडान एक घण्टा ढिला गरिदिएको थियो। गत महिना विमानस्थलले नियमित उडानमा ढिलार्इ गरिदिएपछि सानो रकम बुझाएर थामथुमको प्रयास कम्पनीले गर्दै आएको थियो।
किन परिवर्तन भएन अध्यक्ष?
तीन महिना अघि घनश्यामको समूहले किनेको भनिएको सौर्य एयरलाइन्सको चेयरम्यान अहिलेसम्म पनि परिवर्तन भएको छैन। कम्पनीको वेवसाइटमा अहिले पनि दीपकनै अध्यक्ष देखिन्छन्।
कम्पनी रजिष्ट्रार कार्यालयमा समेत स्वामित्व हस्तान्तरणका लागि कुनै प्रकृया अघि बढेको छैन। 'अहिलेसम्म कम्पनीको संचालक परिवर्तन सम्वन्धि कुनै निवेदन आएको छैन' कार्यालय स्रोतले भन्यो।निरन्तर घाटा भएपछि पोखरेल समूहले ६७ करोडमा यो कम्पनी बिक्री गरेको दाबी थियो। घनश्याम समूहले जहाज किनेपछि विग्रिएको जहाज मर्मत गर्ने र अरु सिआरजे-७०० जहाज किन्ने घोषणा गरेको थियो। अहिले सौर्यको एउटा जहाजले मात्रै उडान गरिरहेको छ।