अर्थमन्त्री बारे चलाइएको ‘हल्ला’ ले शेयर बजारमा देखियो उतारचढाव, चार कम्पनीमा सर्किट लाग्यो

बिजमाण्डू
२०७५ साउन ८ गते १५:३८ | Jul 24, 2018

 
काठमाडौं। मंगलबार सुरुवातदेखिनै बढ्न थालेको शेयर बजारले आफ्नो बृद्धि थेग्न नसक्दा सामान्य अंकले हरियो भएर बन्द भएको छ। बैंकहरुले ब्याजदर घटाउन थालेको तथा तरलता पनि विस्तारै सहज हुँदै जाने अनुमानसँगै मंगलबार कारोबारको मध्यान्नसम्ममा बजारमा १८ अंकको सुधार देखिएको थियो। 
 
सूचकमा सुधार देखिए पनि कारोबार रकममा भने सुधार देखिएको थिएन। साविककै कारोबार भैरहेको बजारमा लगानीकर्ताको सक्रियता पनि धेरै देखिएन। बैंकहरुको व्याजदर घट्ने समाचारले बजारलार्इ साथ दिएको भए पनि विचमा केहि राजनितिक हल्लाको कारणले बजार थोरै माथि गएर तल झरेको लगानीकर्ता रेबतराज तिमल्सिनाले बताए। 
 
बजारमा ब्याज दर र तरलतासँगै मन्त्रीको राजिनामा बारे पनि हल्ला चलाइएको थियो। कानुन मन्त्री शेरवहादुर तामाङसँगै अर्थमन्त्री डा. युवराज खतिवडा र अन्य केही मन्त्रीले राजिनामा गर्ने हल्ला फिँजाइएको थियो। खासगरी अर्थमन्त्री बारे फिँजाइएको हल्लाले बृद्धि देखिएको लगानीकर्ताहरु बताउँछन्। तर त्यो हल्ला मित्थ्या सावित भएपछि बजार फेरि पछाडि फर्किएको हो।
 
सोमबार दोहोरो अंकले बृद्धि भएको शेयर बजार मंगलबार १८ अंकको बृद्धि टिक्न नसक्दा ४.७७ अंकको मात्रै सुधार देखिएको छ। कारोबार सुरु भएदेखिनै बढ्न थालेको शेयर बजार १ बजेर ३८ मिनेट सम्ममा १८ अंकको सुधार देखिएको भए पनि त्यसपछि विस्तारै करेक्सन हुँदै ०.४० प्रतिशतको बृद्धिमा खुम्चिएको हो। बजारमा केहि उतार चढावसँगै २९ करोड ४१ लाख रुपैयाँको कारोबार भएको छ।
 
उत्पादन तथा प्रसोधन र माइक्रोफाइनान्सको उपसूचक घटेपनि अन्य सम्पुर्ण सूचक तथा उपसूचक भने बढेका छन्। होटलको उपसूचक सबैभन्दा धेरै २.७९ प्रतिशतले बढेको छ। 
 
सबैभन्दा धेरै नविल बैंकको एक करोड ८८ लाख रुपैयाँको कारोबार भयो। यस्तै सबैभन्दा धेरै बढेका सिर्जना फाइनान्स र नयाँ नेपाल लघुवित्तको कारोबारमा सर्किट लागेको थियो भने सबैभन्दा धेरै घटेका वेष्ट फाइनान्स र प्रोग्रेसिभ फाइनान्सको कारोबारमा पनि सर्किट लागेको थियो। 

Tata
GBIME
Nepal Life