होटल विवादमा एफएनसीसीआर्इका पूर्व उपाध्यक्ष पक्राउ, पार्टनरलेे हालेको ठगीको उजुरीमा पक्राउ

बिजमाण्डू
२०७५ जेठ २४ गते ०९:३५ | Jun 7, 2018

भक्तपुर।नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष  कृष्णप्रसाद ताम्राकारलाई प्रहरीले आज पक्राउ गरेको छ ।

Tata
GBIME
Nepal Life

नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाको टोलीले उनकै निवास कमलविनायकबाट उनलार्इ पक्राउ गरी महानगरीय प्रहरी परिसर भक्तपुरको हिरासतमा राखेको छ ।  कमलविनायकमा सञ्चालित होटल यातुका मुख्य सञ्चालक ताम्राकार लगानीकर्ता मनसुनविक्रम शाह र सरु महतबीच होटल यातु सञ्चालन शुरु हुनुअगावै विवाद सार्वजनिक भएको थियो ।

 होटलमा शाहले रु एक करोड १५ लाख लगानी गरेको र सो रकम फिर्ता गर्न माग दावी गरेका थिए भने महतले पनि लगानी गरेको बताइएको छ ।  ताम्राकारले दुवैको होटलमा धेरै लगानी नभएको र रु ३२ लाख मात्र लगानी भएको जिकिर गर्दै आएका थिए । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख हिमालयकुमार श्रेष्ठले महानगरीय अपराध अनुसन्धान महाशाखाबाट खटिएको प्रहरी टोलीले अनुसन्धानका क्रममा व्यवसायी ताम्राकारलाई नियन्त्रणमा लिएको जानकारी दिए।

 उनले होटल यातुका सञ्चालकबीचको विवादको मुद्दामा अपराध महाशाखाले ताम्राकारलाई नियन्त्रणमा लिई कागजपत्रसहित भक्तपुर प्रहरीलाई अनुसन्धानका लागि बुझाएको बताए।

 यस्तो छ विवाद
पूर्व उपाध्यक्ष ताम्राकार तथा होटल डे कोर्टयार्ड भक्तपुर र सरु महत सञ्चालक रहेको होटल निर्माण सकिए पनि सञ्चालनमा आउनु अघि नै विवाद देखिएको थियो।

होटलमा ताम्राकारको ५२ प्रतिशत अर्थात १ करोड ४ लाख र कोर्टयार्ड होटल र महतको ४८ प्रतिशत अर्थात ९६ लाख रुपैयाँ लगानी छ। होटलको निर्माण सम्पन्न भएपछि ताम्राकारले एकलौटी गर्न खोजेको आरोप महत पक्षले लगाएको छ। कोर्टयार्ड होटल महतको एकल स्वामित्व भएको होटल हो।
 
'अहिले ताम्राकार हाम्रो सम्पर्कमा हुनुहुन्न, विभिन्न बहाना गरेर हामीबाट अलग हुन खोजिरहेका छौँ,' महतले केही महिना अघि पत्रकार सम्मेलन गरेर जानकारी दिएका थिए, 'हामीले उहाँलाई १ करोड ३२ लाख रुपैयाँ दिइसकेका छौँ, उहाँले कि आफैं चलाएर हाम्रो लगानी फिर्ता गर्नुपर्यो कि हामीलाई चलाउन दिनुपर्यो।'
 
होटल यातु सञ्चालनमा आउनुअघि नै ताम्राकारले कम्पनी रजिष्टारको कार्यालयमा होटल याचु दर्ता गरेको भन्दै त्यसले आफूहरुलाई थप शंका गर्ने ठाउँ दिएको महतका पति मणिविक्रम शाहले बताए। शाह जापानमा समेत व्यवसाय गर्दै आएका व्यवसायी हुन्।
 
होटल यातुमा ३२ कोठा, तीनवटा रेष्टुरेन्ट र स्विमिङ पुल छन्। यसलाई विस्तार गरेर ६० कोठाको पुर्याउने र चारतारे मान्यता लिने आफूहरुको योजना भएपनि ताम्राकारले असहयोग गरेको उनले बताएका थिए।(राससको सहयोगमा)