
काठमाडौं। ओम डेभलपमेन्ट बैंकसँग मिलेर जर्मनको सरकारी डेभलपमेन्ट बैंक (केएफडब्लु) रिकन्स्ट्रक्सन क्रेडिट इन्ष्टिच्युटले कृषि क्षेत्रमा लगानी गर्ने भएको छ। तीन बर्षको प्रयासपछि दुबै संस्थाबीच बुधबार समझदारी भएको छ।
केएफडब्लुले दिगो आर्थिक विकास कार्यक्रमका लागि नेपालको ग्रामिण भेगमा लगानी गर्छ। उसले यहाँ विभिन्न चरण गरेर १० बर्ष काम गर्छ। समझदारीसँगै बैंकले विदेशी मुद्रा भित्र्याउन राष्ट्र बैंक र अर्थमन्त्रालयसँग स्वीकृत माग गर्ने प्रकृया अघि बढाएको छ।
‘केएफडब्लुले कृषि क्षेत्रमा ऋण दिनका लागि ३५ करोड र किसान तथा बैंकका कर्मचारीलाई तालिम, अन्य पूर्वाधार जुटाउन साढे १२ करोड रुपैयाँ लगानी गर्छ’ ओम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले बिजमाण्डूसँग भने।
उनका अनुसार, बैंकमार्फत ऋण लगानी गर्का लागि ३५ करोड रुपैयाँ पहिलो चरणमा आउँछ। यो रकम फिर्ता गर्नु पर्छ। यसको बार्षिक ब्याज दर ७.२ प्रतिशत तय भएको छ, जुन प्रत्येक ३/३ महिनामा पुनरावलोकन हुन्छ।
३५ करोडमध्ये ३० प्रतिशत रकम कृषि क्षेत्रमा अनिवार्य रुपमा लगानी गर्नु पर्छ। बैंकले ४० प्रतिशत कृषिमा लगानी गर्ने प्रतिबद्धता जनाएको छ। बाँकी रकम बैंकले अन्य क्षेत्रमा ऋण लगानी गर्ने छ।
अर्को साढे १२ करोड भने कर्मचारी तथा किसानका लागि खर्च गरिने छ। यसको ब्याज तथा साँवा तिर्नु पर्दैन। यो पैसाबाट केएफडब्लुले किसानको वित्तीय पहुँच बढाउनुका साथै बैंकका कर्मचारीलाई तालिम दिने अधिकारीले बताए। साथै किसानलाई बिउ तथा मल किन्दिने, हाते ट्याक्टर उपलब्ध गराउनसमेत यो पैसा खर्च हुन्छ। वित्तीय साक्षरतामा समेत केएफडब्लुले काम गर्ने छ।
बैंकले ३५ करोड रुपैयाँ आफ्नो ग्रामिण क्षेत्रका शाखाबाट लगानी गर्नु पर्छ। अहिले बैंकका ४१ शाखा छन्, यसमध्ये १७ वटा ग्रामिक्ष क्षेत्रमा रहेको अधिकारीले बताए।
किसानहरुले अपेक्षा अनुसार काम गरेमा दोस्रो चरणमा उनीहरुको ब्याज घटाउनेदेखि ब्याज मिन्हासम्म गर्ने योजना केएफडब्लुको रहेको अधिकारीले बताए। कृषि वाली तथा पशु पालनको प्रकृति अनुसार ऋण तथा अनुदानको दोस्रो, तेस्रो चरण निर्धारण हुन्छ।
यसैगरी केएफडब्लुले बजारमा उत्पादक र उपभोक्ताबीचको दूरीलाई कम गर्नेसमेत काम गर्ने छ। यसका लागि एउटा समूह गठन गरेर उसले किसानबाट उत्पादन खरीद गरेर उपभोक्तासम्म पुर्याउनेसमेत काम गर्ने छ।