

कोइरालाले सुवेदीको सरुवा बारेमा मन्त्रीपरिषद्का अध्यक्ष खीलराज रेग्मीसँग समेत परामर्श गरिसकेका छन् । स्रोतका अनुसार रेग्मीको परामर्शमा कोइरालाले सकारात्मक जवाफ पाएका छन् । सुवेदी एकीकृत माओवादी सरकारमा हुँदा सचिवमा आएका हुन् । अर्थमन्त्री वर्षमान पुनले उनलाई अर्थसचिवमा ल्याएका थिए ।
स्रोतका अनुसार कोइरालाले अघि बढाउन लागेका योजनामा सुवेदीले साथ दिएका छैनन् । ‘राम्रा कामहरु अघि बढाउन खोज्दा अहिलेका सचिवले सहयोग गरेका छैनन,’ अर्थमन्त्रालयका एक अधिकारीले भने, ‘उनले कुनै पनि सहयोग नगरेपछि सरुवाको विकल्प भएन ।’
बजेट बनाउने बेलामा सचिवको सहयोग आवश्यक पर्छ सचिवनै सहयोगी नभएकोले बजेटमा राख्ने कार्यक्रमकै बारेमा टुंगोमा पुग्न सकिएको छैन । सुवेदी हटाउने चर्चासँगै अर्थसचिवमा आउन दौडधुप पनि सुरु भइसकेको छ ।
स्रोतका अनुसार अर्थसचिवमा आउन उद्योग सचिव कृष्ण ज्ञवाली, राष्ट्रिय योजना आयोगका सचिव युवराज भुषाल र शारदा त्रितालले लबिङ थालेका छन् । मन्त्री कोइरालाले उद्योग सचिव ज्ञवालीलाई ल्याउन चाहेका छन् । ज्ञवालीलाई पूर्व अर्थमन्त्री रामशरण महतको समेत समर्थन रहेको छ भने युवराज भुषाललाई रामचन्द्र पौडेलको समर्थन छ । युवराज र रामचन्द्र नाता पर्छन् । यो वाहेक त्रिताल पनि कांग्रेसका खाँटी कार्यकर्ता हुन् । माओवादीको सरकारले त्रिताललाई क्षेत्रीय प्रशासकमा थन्क्याएको थियो ।