
वसन्त खड्का/विजमाण्डू
काठमाडौं । नेपाल खाद्य संस्थानले दसैको लागि तीनहजार खसीबोका ल्याउने भएको छ । दसैको समयमा उपभोक्तालाई सहुलियतदरमा खसीबोका बिक्री गर्दै आएको संस्थानले यो वर्ष तीन हजार ल्याउन लागेको हो । यो वर्षपनि हामीले खसीबोका ल्याउँदैछौ, संस्थानका अध्यक्ष आनन्द चन्दले भने, मुलुकभित्रबाटै तीन हजार खसीबोका खरीद गर्दछौ । दसैको बेलामा खसीबोकाको मूल्य नियन्त्रणका लागि संस्थानले खसीबोका ल्याएर बिक्री गर्दै आएको छ ।
विगतको वर्षमा संस्थानले बिक्री गरेको खसीबोकामा विवाद आउने गरेको थियो । यस्तै चाडपर्वमा अत्यावश्वक वस्तु सहुलियत मूल्यमा बिक्री गर्ने उदेश्यले सुरु भएको सुपथ मूल्य पसलमा उपभोक्ता आर्कषित भएका छन् । ती पसलहरुमा उपभोक्ताको भीड लाग्न थालेको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयले साल्ट ट्रेडिङ, नेसनल ट्रेडिङ र खाद्य संस्थानको समन्वयमा मंगलबारदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको थियो ।
उपत्यकाको कालिमाटी, टेकु थापाथली, रामशाहपथ, कोटेश्वर तथा ललितपुरको विशालबजार लगायतका स्थानमा सुपथ मुल्य पसलहरु सञ्चालनमा ल्याएको छ ।
बजार मुल्यभन्दा सस्तो मुल्यमा दैनिक उपभोग्य सामानहरु बिक्रिवितरण भएकाले उपभोक्ताको सहभागीता उत्साहजनक रहेको खाद्य सस्थान बागमती अञ्चल प्रमुख दिपक लम्सालले बताए । सुपथ मुल्य पसलबाट सस्तो मुल्यमा सामान पाएकोमा उपभोक्ताहरु दङ देखिन्थे । नेसलन ट्रेडिङबाट सस्तो मुल्यमा समान किनिसकेपछि खुसी व्यक्त गदै भक्तपुरका विष्णुरत्न नापितले भने सरकारले बाह्रैमहिना यस्ता सुपथ पसलहरुको व्यवस्था गर्न सके हामीजस्तो उपभोक्तालाई राहत हुन्थ्यो ।
उपत्यकामा सञ्चालित सुपथ पसलहरुमा दैनिक उपभोग्य सामानहरु जस्तै दाल चामल, नुन, तेल चिनी आटा दुग्ध पदार्थ, मेसिनरी सामान, ग्यास, मदिरा लगायतका सामग्रीहरु बजार मुल्यभन्दा सस्तोमा पाइन्छ । यो सुपथ मुल्य पसल मंसिर ४ गते सम्म सञ्चालनमा आउनेछ । सस्थानले बुधवार सम्ममा उपत्यकाका थापाथली, रामशाहपथ र ललितपुरको विशालबजारमा रहेका सुपथ मुल्य पसलबाट दश लाख रुपैयाँ भन्दा बढीको चामल बिक्री गरिसकेको छ ।
लम्सालले बुधवार सम्म उपत्यकामा मात्रै दुइसय क्विन्टल भन्दा बढी चामल बिक्री गरिसकेको बिजमाण्डुलाई जानकारी दिए । सस्थानले उपत्यकामा सञ्चालित सुपथ पसलमा ६ किसिमका चामलहरुमा किलोमा दुइ रुपैयाँ छुट दिएर बिक्री गरिरहेको छ । बासमति ६५ रुपैयाँ, ४६ रुपैयाँ, सोना मन्सुली ३४ रुपैयाँ, जापानी चामल ४८ रुपैयाँ, अमेरिकी चामल ४६ रुपैयाँ तथा मकवानपुरे तीस रुपैयाँको दरले बिक्री भइरहेको छ ।