
सुदर्शन सापकोटा/प्रभात भट्टराई/बिजमाण्डू
काठमाडौं । नेपाल राष्ट्र बैंकले चार बर्षमा अमेरिकी डलर २५ रुपैयाँले बढ्दासमेत ८७ करोड रुपैयाँ सस्तोमा नेपाली नोटहरु छापेको छ ।
जबकी राष्ट्र बैंकले १०० र ५०० रुपैयाँ दरका नोटमा 'सेक्युरिटिज फिचर' थपेको छ भने चार बर्षका अवधिमा औषत नौं प्रतिशतले मूल्यबृद्धि बढेको छ । चार बर्षको अवधिमा डलरको भाउ औषत ८० रुपैयाँबाट बढेर १०५ रुपैयाँ पुगिसकेको छ ।
डलरको मूल्यमा बृद्धि, सेक्युरिटिज फिचर थप्ने काम र मूल्य बृद्धि बढ्दासमेत कसरी राष्ट्र बैंकले २०१२ मा छापेजति नै नेपाली नोट अहिले छाप्दा ८७ करोड रुपैयाँ सस्तो पर्यो ?
'मूलत: अहिले प्रतिस्पर्धा वढेको छ । प्रतिस्पर्धाका कारण नै विगतभन्दा निकै सस्तोमा नोट छापिएको हो' राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बिजमाण्डूसँग भने ।
तर, राष्ट्र बैंकको नोट विभागमा लामो समय वसेर अहिले अवकास भएका कतिपय अधिकारीहरु भने 'कमिसन' का कारण विगतमा नोट छपाइ महँगो भएको बताउँछन् । 'अहिले कमिसन कम लिएर वा नलिइकनै छापिएको हुनसक्छ' ती अवकाशप्राप्त कर्मचारीले भने ।
सन् २०१२ मा नोट छापेपछि बीचमा खाली बसेको राष्ट्र बैंकले २०१५ बाट फेरि नोट छाप्न सुरु गरेको हो । २०१५ मा छाप्न दिएको 'अर्डर' अनुसार १०० रुपैयाँ दरका नोटको पहिलो 'लट' आइसकेको छ । यो नोटमा राष्ट्र बैंकले केही सेक्युरिटिज फिचरहरु थपेको छ ।
फिचर थपिएको १०० रुपैयाँ दरका नोटहरु राष्ट्र बैंकले सन् २०१२ मा छाप्दा प्रति पिस २ रुपैयाँ ५९ पैसा खर्च लागेको थियो । अहिले जम्मा २ रुपैयाँ १५ पैसामा छापिएको छ ।
फिचर थपिएको ५०० रुपैयाँ दरका नोट अहिले २ रुपैयाँ ९२ पैसामा छापिएको छ । सन् २०१२ मा राष्ट्र बैंकले ५०० दरका नोट प्रति पिस चार रुपैयाँ १९ पैसाका दरले छापेको थियो ।
'हामी प्रत्येक दुई/दुई बर्षमा नोट छाप्थ्यौं । तर बीचमा भुकम्प र सीमा अवरोधका कारण छाप्न सकिएन' शिवाकोटीले भने, 'तर विगतमा भन्दा यसपाली केही नयाँ प्लेयरहरु भित्रिएका कारण पनि सस्तोमा नोट छाप्न सक्यौं ।'
शिवाकोटीले प्रतिस्पर्धाले नोट छपाइ सस्तो परेको बताए पनि तथ्यहरुले भने अर्कैतिर संकेत गर्छ । 'आफै हिसाव गर्नुस् न डलर बढेका बेला सबै थोक महँगो हुने तर नोट छपाइ मात्र सस्तो हुने हुन्छ र ?' अवकासप्राप्त ती अधिकारीले भने, 'विगतको व्यवस्थापनले केही न केही गडवढी गरेको छ भन्ने यसबाटै देखिन्छ नि ।'
सन् २०१२ को डिजाइनमा परिवर्तन नगरी छापिएको १००० रुपैयाँ दरका नोट अहिले छाप्दा प्रति पिस २ रुपैयाँ १५ पैसा सस्तो परेको छ । सन् २०१२ मा राष्ट्र बैंकले १००० दरका एउटा नोट पाँच रुपैयाँ २५ पैसामा छापेको थियो ।
नेपाल राष्ट्र बैंकले प्रत्येक दुई बर्षमा ५, १०, २०, ५०, १००, ५०० र १००० रुपैयाँ दरका नोट छाप्छ । ग्लोबल टेन्डर आह्वान गरेर छापिने नोटहरु प्राय युरोपेली कम्पनीहरुको जिम्मा पुग्थ्यो । अहिले भने इन्डोनेसिया र चीनका कम्पनीहरुले पनि भाग लिन थालेका छन् । राष्ट्र बैंकले डुब्लिकेट छापिने वढी सम्भावना रहेका १००, ५०० र १००० दरका नोटमध्ये १०० र ५०० मा सेक्युरिटिज फिचरसमेत थपेको छ ।
'सेक्युरिटिज फिचर थप्दासमेत हामीले सस्तोमा नोट छाप्न सफल भएका छौं' शिवाकोटीले भने, '१००० दरका नोटमा भने फिचर थप्न सकिएन ।' उनका अनुसार फिचर थप्ने निर्णय भए पनि मुद्दामामिला परेर त्यसलाई अगाडि बढाउन सकिएन । भुकम्प पीडितलाई ठूलो रकम उपलब्ध गराउनु पर्ने सन्दर्भमा नोट छाप्न ढिलाइ गर्दा उनीहरुलाई मौजुदा स्टकबाट वितरण गर्न अभाव हुन्थ्यो । 'त्यही भएर १००० दरका नोट भने पुरानै डिजाइनमा छापिएको हो' शिवाकोटीले भने, '५० देखि तलका नोट डुब्लिकेट आउने सम्भावना कम रहने भएकाले त्यसको फिचर थपिएन ।'
राष्ट्र बैंकले ५० र २० दरका नोटहरु पनि पहिलेभन्दा सस्तोमा छापेको छ । सन् २०१२ मा ५० का नोट प्रति पिस दुई रुपैयाँ ६ पैसामा छापिएकोमा यसपाली जम्मा एक रुपैयाँ ४८ पैसाका दरले छापिएको छ । २० दरका नोटहरु पनि सन् २०१२ मा दुई रुपैयाँ १० पैसाका दरले छापिएकोमा यसपाली १ रुपैयाँ ११ पैसामा नै छापिएको छ ।