सुधिर भए ‘कर्पोरेट’ सिकार, अग्नी एयर लिलामीबाट सस्तोमै किन्न बैंक, विमान मालिक र प्रहरीको सिकार

बिजमाण्डू
२०६९ पुष २१ गते ००:०० | Jan 5, 2013
सुधिर भए ‘कर्पोरेट’ सिकार, अग्नी एयर लिलामीबाट सस्तोमै किन्न बैंक, विमान मालिक र प्रहरीको सिकार

काठमाडौं । अग्नी एयर लिलामीमा निस्केको दोस्रो दिन कम्पनीका मुख्य व्याक्ति सुधिर बस्नेतलाई प्रहरीले गिरफ्तार गरेको छ । आवरणमा रकम लिएर अपार्टमेन्ट उपलब्ध नगराएको आरोप सुधिर माथि लगाइएको छ तर पक्राउको भित्री खेल भने अग्नी एयर सस्तोमा लिलामी गर्ने प्रकरणसँग जोडिएको छ ।

अग्नी एयरका मालिक सुधिर बस्नेत

Tata
GBIME
Nepal Life

गतवर्ष २८ करोड रुपैयाँ मुनाफा गरेको अग्नी एयरले तीन बैंक ग्रान्ड, सनराइज र इन्टरेनशनल लिजिङ्ग एण्ड फाइनान्सलाई ६५ करोड रुपैयाँ ऋण र व्याज चुक्ता गर्न बाँकी छ । अग्नीले असारसम्म बैंकको साँवा र व्याज भुक्तानी गर्दै आए पनि त्यसयताको क्वाटरमा भने व्याज भुक्तानी भएको छैन् ।
साँवा र व्याज पनि भुक्तानी नभएपछि बैंकहरुले समस्यामा परेका घरजग्गा व्यवसायी सुधिरलाई पेल्न थालेका थिए । सुधिरले पनि पुस मसान्तसम्म अग्नीलाई विक्री गर्ने र त्यसवाट प्राप्त भएको रकमले साँवा व्याज भुक्तानी गर्ने बचन दिंदै आएका थिए । तर बैंक र व्यवसायीवीचको अण्डरस्ट्याण्डिङ्ग विपरित पुस १९ गते ग्रान्ड बैंकको नेतृत्वमा तीन बैंकले अग्नी एयर लिलामीको सूचना जारी गरे ।

समस्यामा परेपछि अग्नी एयर खरिद गर्नका लागि यती एयरलाइन्सका मालिक आङ्गछिरिङ्ग शेर्पाले प्रयास गरिरहेका छन् । उनले सुधिरसँग किन्दा महँगो पर्ने भएपछि बैंकमार्फत खरिदका लागि प्रयास गरेका छन् । उनले बैंकमार्फत अग्नी एयर किने ६२ करोड रुपैयाँ ‘ओभर द टेवल’ र १० करोड रुपैयाँ ‘अण्डर द टेवल’ गरी ७२ करोड रुपैयाँ खर्च गरे पुग्छ । तर सुधिर भने २८ करोड रुपैयाँ मुनाफामा रहेको अग्नीलाई कम्तिमा पनि एक अर्ब रुपैयाँभन्दा माथि विक्री गर्न चाहिरेका थिए । बैंकले लिलामी निकालेपछि पनि उनले अग्नी विक्रीका लागि विभिन्न पाटीसँग छलफल गरिरहेका थिए । एक/दुई जना व्यवसायीहरु ९० देखि ९५ करोड रुपैयाँसम्ममा अग्नी खरिद गर्न तयार पनि थिए ।

सस्तो मूल्यमा अग्नी आफ्नो हातमा नआउने भएपछि प्रहरीमा परेको पुरानो मुद्धाको आधारमा शेर्पा, तीन बैंक र प्रहरीको मिलेमतोमा बस्नेतलाई प्रहरीले शुक्रवार पक्राउ गरेको हो । पक्राउ परे लगत्तै शुक्रवार महानगरीय प्रहरी आयुक्त नवराज ढकालले पत्रकारलाई फोन गरी आफै सूचना दिएका थिए । प्रहरीले अब उनलाई कम्तिमा पनि पाँच दिनसम्म प्रहरी थुनामै राखेर, यता लिलामी प्रक्रिया सक्ने तयारी भैरहेको छ ।

लिलामीमा सात दिने सूचना
आङ्गछिरिङ्ग बाहेक अर्को सम्भावित ग्राहक फेला नपरोस् भन्नका लागि बैंकहरुले पूर्व सतर्कता भने अपनाएका थिए । त्यसै कारण उनीहरुले कम्तिमा पनि ६५ करोड रुपैयाँको ऋण उठाउन जम्मा सात दिने सूचना जारी गरेका छन् । एक÷डेढ करोड रुपैयाँ पर्ने घर लिलामीमा चढाउँदा त बैंकहरुले ३५ दिने सूचना निकाल्छन् भने ६५ करोड माथिको ऋण असुलीका लागि एक साताको समय किन दिइयो ? एक बैंकरले प्रश्न गरे ।

त्यसबाहेक लिलामीका लागि उनीहरुले सबैभन्दा अफठ्यारो समय छानेका छन् । उनीहरुले १९ गते लिलामी निकालेर २६ गतेसम्मको समय दिएका छन्, २६ गते भनेको बैंकको दोस्रो त्रैमासको अन्तिम समय हो । यतिवेला व्यवसायीहरुलाई अन्य बैंकसँग ऋण लिन पनि समस्या हुन्छ भने भएको केही पैसा दोस्रो त्रैमासको साँवा र व्याज भुक्तानी गर्न खर्चनुपर्छ । यस्तो बेला लिलामीबाट अग्नी किन्नका लागि व्यवसायीसँग करोडौं रुपैयाँ हुने कुरा भएन ।

लिलामीबाट त्यस्तो व्याक्तिले मात्र अग्नी किन्न सक्छ, जोसँग पूर्व तयारीका साथ पैसाको जोहो गरेको छ । अग्नी किन्नका लागि पूर्व तयारी र वित्तीय व्यवस्थापनको जोहो गरेका एक मात्र उद्यमी हुन्, यतीका मालिक आङ्गछिरिङ्ग शेर्पा ।

लिलामी ६२ करोडमा
बैंक र यती एयरलाइन्सको पूर्व योजना अनुसार कम्तिमा पनि डेढ अर्ब रुपैयाँभन्दा माथि पर्ने अग्नी एयरलाई ६२ करोडमा लिलामीको तयारी भैरहेको छ । लिलामी गर्न लागिएको ६२ करोडमध्ये ६० करोड रुपैयाँ तीन बैंकले लिने छन् भने दुई करोड रुपैयाँ बैंक र यतीवीच मध्यस्थकर्ता गरिरहेका एक व्याक्तिले लिने स्रोतले जानकारी दियो । त्यसबाहेक तीन बैंकका हाकिमलाई दश करोड रुपैयाँ ‘अण्डर द टेवल’ प्राप्त हुनेछ । यो परियोजामा ग्रान्ड बैंक र सनराइजले ३५÷३५ तथा आइएलएफसीले ३० प्रतिशत लगानी गरेका छन् । ग्रान्डमा सुधिरबाबु खत्री, सनराइजमा सुरेन्द्रमान प्रधान, र आइएलएफसीमा अनिल ढुङ्गेल प्रमुख कार्यकारी अधिकृत छन् ।

अग्नी एयर यतीको नाममा भने किनिने छैन्, कम्पनीले एयर डाइनेष्टिको नामबाट सुरुमा अग्नीका विमान र पाटपुर्जा खरिद गर्ने छ । पछि त्यसलाई लगेर यती एयरमा मर्ज गर्ने स्रोतले बतायो । एयर डाइनेष्टि रोयल सिङ्गे होटल र केही पाइलटहरुको लगानीमा खोलिएको कम्पनी हो । यो कम्पनीमा आङ्गछिरिङ्गको समेत सेयर रहेको स्रोतले जानकारी दियो ।

के–के छ लिलामीमा ?

तीन बैंकले अग्नीका तीन वटा जेटस्ट्रिम, दुई वटा डोनियर, विमानका पाटपूर्जा र भक्तपुरमा रहेको अग्नीमा रहेको केही जग्गा लिलामीमा चढाएका छन् । बैंकले तेस्रो त्रैमास सकिन लागेका कारण जम्मा सात दिनको सूचना दिएर लिलामी निकालेका हुन् । यो त्रैमासमा व्याज भुक्तानी नभए तीन बैंकले ऋणको २५ प्रतिशत प्रोभिजन गर्नुपर्दछ ।

को हुन् सुधिर ?
बस्नेतको अग्नी एयरका साथै आयुसा हाउजिङ, कोहिनुर हिल्स हाउजिङ, इस्टर्न अपार्टमेन्ट, ओरेन्टल इन्डिभिज्युवल होम्सलगायत हाउजिङ कम्पनी छन् । उनले बैंक तथा वित्तीय संस्था र सहकारीहरुसँग लिएको ऋणबाट  २० अर्बको सम्पति निर्माण गरेको स्रोतको दावी छ । ‘सुधिरसँग नगद रकमको मात्र अभाव मात्र हो । घरजग्गा विक्री भएमा उसले सजिलै ऋण तिर्न सक्छन्,’ स्रोतले भन्यो ।  उनले ओरियण्टल सहकारी पनि चलाएका छन् । सुधिरले गैरआवसिय नेपालीको समूहलाई भेगास सिटी विक्री गरेर प्राप्त हुने रकमबाट अग्नीको ऋण व्यवस्थापन गर्न खोजेका थिए । बैंकहरुले पनि त्यसमा सहमति जनाउँदै आएका थिए, अन्तिममा बैंकहरुले नै अत्तो थापेपछि उनी भेगास सिटी विक्री गर्न नसक्ने अवस्थामा आइपुगेका हुन् ।

यतीलाई किन चाहियो अग्नी ?
यती एयरलाइन्सलाई आन्तरिक विमान कम्पनीमा नम्वर १ बन्नु छ, तर त्यसका लागि सबैभन्दा ठूलो तगारो बुद्ध एयर छ । सन् २०११ मा विरेन्द्रबहादुर बस्नेतको नेतृत्वमा रहेको बुद्ध एयर एक्लैले छ लाख ९१ हजार यात्री बोकेको थियो, दोस्रो नम्वरमा आङ्गछिरिङ्गको यती एयरलाइन्सले चार लाख ४९ हजार यात्रु बोकेका थियो । तेस्रो नम्वरमा बस्नेतको अग्नीले एक लाख ९७ हजार यात्रु बोकेको थियो । यतीकै भगिनी कम्पनी तारा एयरले सन् २०११ मा ७८ हजार यात्रु बोकेको थियो ।

यतीका अध्यक्ष सोनाम शर्पा र बुद्ध एयरका प्रवन्ध निर्देशक बिरेन्द्रबहादुर बस्नेत

यती, अग्नी र ताराले गरेर सन् २०११ मा सात लाख २४ हजार यात्रु बोकेका थिए । यो कम्पोजिसनले पनि बुद्धलाई जित्न यतीले अग्नी नकिनि सुख्ख छैन् । अहिले यतीसँग सात वटा जेटस्ट्रिम विमानसहित १४ वटा विमान छन् भने बुद्ध एयरसँग तीनवटा बिचक्राफ्ट १९०० डि, तीनवटा एटिआर ४२–३२० र तीनवटा एटिआर ७२–५०० छन् । अग्नीका तीनवटा जेटस्ट्रि र दुईवटा डोनियर जोडेपछि यती एयरलाइन्स देशकै सबैभन्दा ठूलो विमान कम्पनी बन्नेछ ।

हिरासतबाट सुधीर बस्नेतले कान्तिपुर दैनिकलाइ दिएको बयान
'म यतिखेर हनुमानढोका हिरासतमा छु । म पटक- पटक यो कार्यालयमा आएर फर्किसकेको छु । यसपल्ट चाहिू मलाई भित्रै हाल्ने खेल भइरहेको छ । मेरो कुरा प्रस्ट छ, जे गर्ने हो जनताले गरून् । मलाई जेल हालेर समस्या समाधान हुन्छ भने दुई- चार जनाको मात्रै होइन, मेरा दसौं हजार ग्राहकले एकैचोटि उजुरी हालून् । होइन भने मलाई जनता र राज्य मिलेर काम गर्ने अवसर दिनुपर्‍यो । सबैप्रतिको दायित्व चुक्ता गर्न म प्रतिबद्ध छु । म दुई- चार जनाको मात्र चुक्ता गरेर फेरि हनुमानढोकै आउन चाहन्नँ ।
यतिखेर मेरो एयरलाइन्स हत्याउन सबै खेल भइरहेको छ । मैले एक साताअघि ९३ करोड रुपैयाँमा एयरलाइन्स किन्न तयार भएको व्यक्ति लिएर ग्रान्ड बैंक गएको थिएँ । तर त्यहाँ हामीसँग एक मिनेट पनि कुरा गरिएन । फेरि ती व्यक्ति एक्लै कुरा गर्न जाँदा त्यो एयरलाइन्सलाई किन त्यत्रो पैसा हाल्ने, पर्दैन जानुस् भनेर पठाएछन् । यस्तो किन गरियो सजिलै अनुमान गर्न सकिन्छ ।
अग्नि एयरलाइन्सका लागि दिइएको कन्सोर्टियम लोन कुल ५८ करोड मात्र हो । मैले असारसम्मको त्रैमासिक ब्याज किस्ता तिरिसकेको छु । असोजसम्मको त्रैमासिक ब्याजको पनि ५० लाख रुपैयाँ तिरिसकेको छु । बाँकीका लागि नियमअनुसार पुससम्म समय लिन सक्छु । यति हुँदाहुँदै बैंकहरूले ३५ दिनेको सट्टा सात दिने लिलामी सूचना निकाले । भोलिपल्टै मलाई पक्राउ गरियो । यी सबै खेल किन भइरहेका छन्, राष्ट्र बैंक, नेपाल सरकार र जनताहरू मिलेर अनुसन्धान गरियोस् ।