नागरिक कार्यालयमा आक्रमण, पत्रकारमाथि हातपात, हुल्या समूह प्रहरी नियन्त्रणमा

बिजमाण्डू
२०६९ पुष ५ गते ००:०० | Dec 20, 2012

एक हुल्या समूहले नागरिक कार्यालयलाई कब्जामा लिएर आक्रमण गरेका छन्। सुनधाराको जेडिए कम्पलेक्सस्थित कार्यालयमा शिव सेना नेपाल जिन्दावाद भन्दै आएका हूलले कार्यलयभित्र प्रवेश गरी तोडफोड र पत्रकारमाथि हातपात गरेका थिए। मूल ढोका रहेका सुरक्षा गार्ड श्याम फुयाँललाई कब्जामा लिएर 'किशोर नेपाल खोइ?' भन्दै तिनीहरु सिधै नागरिक सम्पादकीय कोठामा प्रवेश गरेका थिए।
नागरिककर्मी सुदर्शन सापकोटाले 'राम्रोसँग बसेर छलफल गरौं' भन्दा तिनीहरु सापकोटामाथि जाइलागे। उनीहरुले सापकोटालाई अन्धाधुन्द प्रहार गरे। सापकोटालाई बचाउन खोजेका सहसम्पादक राजेन्द्र ज्ञवालीमाथि पनि हातपात भयो। त्यस्तै पत्रकार विश्वमणि पोखरेल, विज्ञान अधिकारीमाथि पनि हातपात भयो।

Tata
GBIME
Nepal Life

नागरिकका अनलाइनकर्मी मदन चौधरीले भिडियो लिन खोज्दा उनीमाथि पनि जाइलागेका थिए।
नागरिक कार्यालयलाई आगो लगाउँ भन्दै आवेशमा आएका ती समूहलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। नागरिक कार्यालय र पत्रकारमाथि भएको घट्नाप्रति नेपाल पत्रकार महासंघ रिपब्लसका शाखले घोर भर्त्सना गरेको छ। रिपब्लिका शाखाले प्रेज विज्ञप्ती जारी गर्दै तेस्ता गुन्डा प्रवृत्तिका मान्छेहरुलाई तत्काल कारबाही गर्न प्रशासनसँग माग गरेको छ।
त्यस्तै नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले पनि सञ्चारमाध्यम र पत्रकारमाथि भएको आक्रमणको निन्दा र भर्त्सना गरेको छ। सेजनले विज्ञप्ती जारी गर्दै समाचारका विषयमा चित्त नबुझे कानुनी उपचार खोज्न सक्ने अवस्था हुँदाहुँदै अराजक जथाबाट भएको आक्रमणको जति निन्दा र भर्त्सना गरे पनि कम हुने उल्लेख गरेको छ। सेजनले आक्रमणकारीलाई कडाभन्दा कडा कारबाही गर्न मागसमेत गरेको छ।

त्यस्तै नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँलले अहिले देशमा गुन्डाराज भएको बताएका छन्। उनले मिडियामाथि भइरहेको आक्रमण हेर्दा प्रेसले सुरक्षाको न्यूनतम अनुभूति पनि गर्न नसकेको बताए। 'अहिले देशमा गुन्डाराज चलिरहेको छ,' उनले भने, 'पत्रकारहरुले अहिले सुरक्षाको न्यूनतम अनुभूतिसमेत गर्न पाइरहेको छैन।' उनले नेपाल रिपब्लिक मिडियामाथि भएको आक्रमणलाई जति निन्दा गरेपनि कम हुने बताए। आक्रमणकारीलाई तत्‍काल कानुनी कारबाही गर्न मागसमेत गरे।

नागरिकन्युज डटकमबाट