नेप्सेमा चढ्यो हरियाली रंग, सूचक ५१३ अंकमा बन्द, एकैदिन २० करोड रूपैयाँको सेयर कारोवार

बिजमाण्डू
२०६९ पुष २ गते ००:०० | Dec 17, 2012

काठमाडौं । आइतवारको वृद्धिलाई जारी राख्दै सोमवार नेपाल स्टकको सूचक ५१३ अंक माथि बन्द भयो । राजनीतिक दलवीच सहमति बन्दै गरेको खबरले आइतवारदेखि बजार तातेको छ ।  सोमवार नेप्सेको वृद्धिमा बैकिङ्ग समूहको वृद्धिले राम्रै असर पार्यो । नेपाल बैंकको सेयर ५४.३ अंकले बढेपछि नेप्सेमा बैकिङ समूहको सूचक नौ अंकले बढ्यो । जलविद्युत समूहको सूचक पनि १० अंकभन्दा बढीले बढ्यो । व्यापार, होटल र अन्य समूहको सूचक तल झरेपनि विकास बैंक, फाइनान्स र इन्सुरेन्स समूहको सूचक भने हरियो भयो ।
केही दिन यता सेयर कारोवार रकम पनि बढ्न थालेको छ । सोमवार १९ करोड ५२ लाख रुपैयाँको सेयर कारोवार भयो । नेपाल इन्भेष्टमेन्ट बैंकको मात्रै दुई करोड ६४ लाख रुपैयाँ र बैंक अफ काठमाण्डूको दुई करोड ४० लाख रुपैयाँको सेयर कारोवार भयो । एभरेष्टलाई चिलिमे एक करोड ८४ लाख रुपैयाँ, नेपाल बंगलादेश बैंक एक करोड ८१ लाख रुपैयाँ र एभरेष्ट बैंक एक करोड ७८ लाख रुपैयाँको कारोवार भयो ।
लामो समयपछि स्टकमा विशाल बजारको सोमवार ३६ रुपैयाँ तल झरेर प्रतिकित्रा १७९३ मा कारोवार भयो । यसले व्यापार समूहको सूचक तीन अंकले तल झार्यो । बैंक अफ काठमाण्डूको सेयर मूल्य १३ रुपैयाँले माथि चढेर ६६० मा कारोवार भयो । चिलिमे हाइड्रोपावरको २१ रुपैयाँ माथि चढेर ११७५ मा कारोवार भयो भने नागरिक लगानी कोषको ४० रुपैयाँ बढेर प्रतकित्ता १०४० मा कारोवार भयो ।
एभरेष्ट बैंकको सेयर मूल्य ३५ रुपैयाँ माथि चढेर प्रतिकित्ता १२९० मा कारोवार भयो भने बैंकको कन्भर्टिवल प्रिफरेन्स १५ रुपैयाँ माथि ७८४ मा कारोवार भयो । जानकी फाइनान्स १५ रुपैयाँ बढेर २८९ मा कारोवार भयो भने नबलि बैंकको सेयर ३१ रुपैयाँ बढेर १५५९ मा कारोवार भयो । नेपाल इन्भेष्टमेन्ट बैंकले सोमवार पनि राम्रै छलाङ्ग मार्यो । बैंकको प्रतिकित्ता ४१ रुपैयाँ बढेर ९४५ मा कारोवार भयो ।
प्राइम बैंकको सेयर २१ रुपैयाँ बढेर ३१६ मा कारोवार भयो नेपाल एसबिआई २७ रुपैयाँ माथि ७७० मा, स्ट्याण्डर्ड चार्टड बैंकको २० रुपैयाँ बढी २०६५ मा कारोवार भयो ।
काष्ठमण्डपको नौ प्रतिशत लाभांस
काष्ठमण्डप विकास बैंकले सेयरधनीलाई पाँच प्रतिशत नगद र चार प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको सञ्चालक समिति बैठकले राष्ट्र बैंकको स्वीकृती र साधरणसभाबाट अनुमोदन भएपछि लाभांस वितरण गर्नेछ ।
बैंकले अघिल्लो वर्ष एक करोड ३० लाख रुपैयाँभन्दा बढीले मुनाफा बढाएको थियो । अघिल्लो वर्ष बैंकको मुनाफा तीन करोड ३८ लाख रुपैयाँ गरेको थियो । यही मुनाफाबाट बैंकले लाभांस वितरणको तयारी गरेको हो । त्यसअघिल्लो वर्ष बैंकले दुई करोड नौ लाख रुपैयाँ मुनाफा कमाएको थियो । नेपाल स्टक एक्सचेञ्जमा बैंकको अन्तिम कारोवार प्रतिकित्ता ७९ रुपैयाँमा भएको थियो । बैंकका ६५ लाख कित्ता सेयर स्टकमा सूचिकृत छन् ।

Tata
GBIME
Nepal Life