सुनको भाउमा नयाँ रकेर्ड बन्यो, प्रतितोला ६१ हजार ८५० रुपैयाँ, चाँदी पनि महँगो भयो

बिजमाण्डू
२०६९ मंसिर १० गते ००:०० | Nov 25, 2012
सुनको भाउमा नयाँ रकेर्ड बन्यो, प्रतितोला ६१ हजार ८५० रुपैयाँ, चाँदी पनि महँगो भयो

काठमाडौं । विवाहको सिजन सुरु भएसँगै सुनको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । आइतवार सुन प्रतितोला एक हजार रुपैयाँले वृद्धि भएपछि सुनले नयाँ रेकर्ड बनाएको हो । नेपाल सुन चाँदी व्यवसायी संघले आइतवारका लागि छापावाल सुनको मूल्य प्रतितोला ६१ हजार ८५० रुपैयाँ तोकेको छ । गत शुक्रवार सुन ६० हजार ८५० मा खरिद विक्री भएको थियो ।
आइतवारको वृद्धिपछि सुनको भाउमा नयाँ रकेर्ड बनेको छ । यस अघि भदौ २९ मा प्रतितोला ६१ हजार ७६० रुपैयाँमा कारोवार भएर सुनको मूल्यमा रेकर्ड बनेको थियो । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यवृद्धि, डलरसँग नेपाली मुद्रा कमजोर हुनु र बिहेको सिजन सुरु भएपछि माग बढ्नुले पनि सुनको मूल्य बढाएको छ, एक सुन व्यवसायीले बताए ।
सुनको मूल्यवृद्धिले मंसिरको लगन छोप्दै गरेका युवायुवतीलाई निक्कै मारमा पार्ने छ  । गतवर्ष मंसिर यता मात्रै सुनको मूल्य तोलामा दश हजार रुपैयाँभन्दा बढीले वृद्धि भएको छ । आइतवार सुनसँगै चाँदीको भाउ पनि बढेको छ । संघले प्रतितोला चाँदीका लागि १२२४ रुपैयाँ मूल्य तोकेको छ । गत शुक्रवार प्रतितोला चाँदी १२ सय रुपैयाँमा कारोवार भएको थियो ।
अन्तराष्ट्रिय बजारमा सुन प्रतिऔंस १७३४ डलरमा कारोवार भएको छ भने चाँदी साढे ३३ डलरमा कारोवार भएको छ । त्यसको असर भारतीय बजारमा पनि परेको छ । आइतवारका लागि भारतमा सुन प्रतितोला ३७ हजार ३२५ भारु तोकिएको छ । यो नेपाली मुद्राको सटहीमा ५९ हजार ७२० रुपैयाँ हो ।

Tata
GBIME
Nepal Life