नेपाल–भारत प्रशारण लाइन निर्माण गर्न कम्पनी गठन, भारतमा नेपालको लगानी

बिजमाण्डू
२०६९ असार २५ गते ००:०० | Jul 9, 2012
नेपाल–भारत प्रशारण लाइन निर्माण गर्न कम्पनी गठन, भारतमा नेपालको लगानी

काठमाडौं । नेपाल र भारतबीच बिद्युत आदानप्रदान गर्न गठन गरिएको क्रस बोर्डर पावर ट्रान्समिसन कम्पनी (सिपिटिसी) मा नेपाल विद्युत प्राधिकरणले १० प्रतिशत लगानी गर्ने भएको छ । बाँकी ९० प्रतिशत सेयरमध्ये आइएल एन्ड एफएसको ३८ प्रतिशत, पावर ग्रिड र सतलज विद्युत् निगमको २६÷२६ प्रतिशत सेयर हुनेछ ।
यी चार कम्पनी मिलेर भारततर्फ एक सय किलोमिटर लामो ढल्केवर–मुजफ्फरपुर ४ सय केभीको प्रसारण लाइन निर्माण गर्नेछन् । यी तिनै कम्पनीले नेपालतर्फको ४० किलोमिटर प्रशारण लाइन निर्माण गर्न पावर ट्रान्समिसन कम्पनी नेपाल लिमिटेड (पिटिसिएन) निर्माण गरेका छन् ।
यो कम्पनीमा प्राधिकरणको ६४ प्रतिशत, पावर ग्रिड भारतको २६ प्रतिशत र आइएल एन्ड एफएस इनर्जीको १० प्रतिशत सेयर स्वामित्व रहनेछ । सेयर स्वामित्व टुङ्गो लागेपछि निर्माण प्रक्रिया लैजानका लागि दुवै कम्पनीको सेयरहोल्डरहरुले सोमवार सम्झौतामा हस्ताक्षर गरेका छन् ।
काठमाडौंमा भएको हस्ताक्षर कार्यक्रममा प्राधिकरणका कामु कार्यकारी निर्देशक महेन्द्रलाल श्रेष्ठ, पावर ग्रिडका महाप्रबन्धक सुधीर मित्तल र आइएल एन्ड एफएसका मुख्य सञ्चालक अधिकृत हाजिक बेगम तथा सतलजका कार्यकारी निर्देशक आरके अग्रवालले हस्ताक्षर गरे ।
नेपाल र भारतका सार्वजनिक र निजी संस्थाको सहभागितामा निर्माण गर्न लागिएको यो पहिलो आयोजना हो । अर्को तर्फ नेपालबाट औपचारिक रुपमा विदेशीएको लगानी पनि यो पहिलो हुनेछ । नेपाल सरकारले नेपाली लगानीकर्तालाई विदेशमा लगानीका लागि अझैसम्म अनुमति दिएको छैन ।
सेयरहोल्डर सम्झौतापछि आयोजना निर्माणमा लैजानका लागि वित्तीय व्यवस्थापन गर्न बाटो खुलेको छ । आयोजना सन् २०१४ भित्र निर्माण गर्ने लक्ष्य राखिएको छ । हस्ताक्षरपछि ऊर्जासचिव तथा प्राधिकरणका अध्यक्ष हरिराम कोइरालाले प्रशारण लाइन निर्माणको काम अगाडि बढाउन बाटो खुलेको बताए ।

Tata
GBIME
NLIC