
काठमाडौं । उपराष्ट्रपति पदमा शनिबार हुने निर्वाचनमा दुई जनाबीच मात्र प्रतिस्पर्धा हुने भएको छ। सत्ता गठबन्धनको समर्थन रहेका एकीकृत नेकपा माओवादीका स्थायी समिति सदस्य नन्दकिशोर पुन पासाङ र प्रतिपक्षी नेपाली कांग्रेसका उम्मेदवार अमियकुमार यादवबीच प्रतिस्पर्धा हुने भएको हो।
शुक्रबार उम्मेदवारी दिएका स्वतन्त्र सांसद अतहर कमाल मुसलमान र परिवार दलका केन्द्रीय सदस्य दयाराम कँडेलले उम्मेदवारी फिर्ता लिएपछि दुईजनाबीच मात्र प्रतिस्पर्धा हुने भएको हो।
पासाङलाई नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रस्ताव गरेका हुने भने राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरी सर्मथक रहेका छन्।
यादवको प्रस्तावकमा कांग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठ छन् भने समर्थकमा कांग्रेसकै सचेतक ईश्वरी न्यौपाने रहेका छन्।
उम्मेदवारी फिर्ता लिएका स्वतन्त्र सांसद मुसलमानले भने कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने बताएका छन्। परिवार दलका केन्द्रीय सदस्य कँडेलले भने सत्ता गठबन्धनकै उम्मेदवार पासाङलाई समर्थन गर्नेगरी उम्मेद्वारी फिर्ता लिएका हुन्।
‘कमरेड प्रचण्ड नैं आएर अनुरोध गर्नुभयो र उम्मेद्वारी फिर्ता लिएर सहयोग गर्न भन्नुभयो’ परिवार दलकी सांसद मिलनकुमारी राजबंशीले भनिन्, ‘त्यसैले सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेद्वारी दिएका एमाओवादीका नन्दकिशोर पुनलाई नै सहयोग गर्नेगरी हाम्रो पार्टीले दिएको उम्मेद्वारी फिर्ता लिएको हो।’ उपराष्ट्रपति चयनका लागि संसद भवनमा शनिबार निर्वाचन हुँदैछ।