नेपाली बजारमा आयो रेभा आई, प्रतिकिलोमिटर लागत १ रुपैयाँभन्दा कम

बिजमाण्डू
२०६९ असार २५ गते ००:०० | Jul 9, 2012
नेपाली बजारमा आयो रेभा आई, प्रतिकिलोमिटर लागत १ रुपैयाँभन्दा कम

काठमाडौं । भारतीय कम्पनी महिन्द्रा रिवा इलेक्ट्रिक भेहिकल्सको नेपालस्थित आधिकारिक विक्रेता अग्नि इनर्जीले नेपालमा रेभा आईको विक्री सुरु गरेको छ । यो गाडीमा पावर र गति वृद्धिका लागि बुस्ट मोड छ । क्लच र गियर नभएको र यो गाडी सानो आकारको हुँदा पार्क गर्न र जस्तोसुकै  ट्राफिकमा पनि नियन्त्रण गर्न सहज भएको कम्पनीको दावी छ । ८० किलोमिटर प्रति घण्टाको गति भएको यो गाडीलाई ४० किमीको रफ्तार समात्न जम्मा ७ सेकेन्ड लाग्ने कम्पनीले जानकारी दिएको छ ।
पेट्रोल र डिजेल ईन्धन नचाहिने यो गाडी वातावरण अनुकुल छ भने यसले प्रदुषण पनि नफैलाउने कम्पनीको दावी छ । यो गाडी प्रति किलोमिटर एक रुपैयाँभन्दा कम लागतमा गुड्ने कम्पनीको दावी छ । महिन्द्रा रिवा (निर्यात)का महाप्रवन्धक पि दीपले नेपालमा रेभा आई गाडीको विक्री सुरु गर्न पाएकोमा उत्साहित भएको बताए । नेपाल सरकारले यस्ता विद्युतीय गाडीलाई अझ बढी प्रोत्साहित गर्ने आशा पनि उनले राखेका छन् ।
सन् १९९४ मा बैंगलोरको माइनी ग्रुप र अमेरिकाको एइवी एलएलसी ले संयुक्त रुपमा रिवा इल्कट्रिक भेहिकलको स्थापना गरेका थिए । सन् २०१० को मे मा महिन्द्रा ग्रुपले अधिकतम शेयर प्राप्त गरी यस कम्पनीको अधिकार प्राप्त गरेको हो । भारतको मुम्बईमा अवस्थित १४.४ बिलियन डलरको बहुराष्ट्रिय कम्पनी महिन्द्रा ग्रुपको १०० देशमा एक लाख १७ हजार भन्दा बढी कर्मचारी छन् ।

Tata
GBIME
Nepal Life