बीबी एयरवेजको आजदेखि नियमित उडान, क्वालालम्पुर पहिलो गन्तब्य, हङकङ पनि जाँदै

बिजमाण्डू
२०६९ असोज २५ गते ००:०० | Oct 11, 2012

काठमाडौं । बीबी एयरवेजले आजबाट नियमित उडान सुरु गरेको छ । बीबीले काठमाडौंबाट–मलेसियाका लागि पहिलो उडान थाल्नेछ । कम्पनीले यसबाहेक चीनको हंगकंगमा पनि नियमित उडान गर्ने छ । कम्पनीले जापानको टोकियोका लागि पनि साताको दुईवटा चार्टर उडान गर्ने योजना छ ।
एयरवेजले काठमाडौं–क्वालालम्पुर सातामा चार र हङकङमा तीन उडान भर्नेछ । क्वालालम्पुरका लागि सोमबार, बिहीबार, शनिबार र आइतबार उडान हुनेछन् भने हङकङका लागि मंगलबार, शुक्रबार र आइतबार उडान हुनेछन् । एयरवेजको भाडादर काठमाडौंबाट क्वालालम्पुर र फिर्तिका लागि ३६ हजार रुपैयाँबाट सुरु हुनेछ । हङकङका लागि भने काठमाडौं–हङकङको दोहारो भाडादार ४८ हजार रुपैयाँबाट आरम्भ हुनेछ ।
बीबी एयरवेजले आफ्नो उडान बोइङ ७५७–२०० बाट आरम्भ गर्ने छ र छिट्टै नै बी–७५७  थप्ने भएको छ । दोस्रो एयरक्राफ्ट थपिनेवित्तिकै एयरवेजले आफ्नो सेवालाई बैंकक, सिंगापुर, नयाँ दिल्ली र दोहामा विस्तारित गर्ने योजना बनाएको छ । छिट्टै नै थप दुई बोइङ ७६७ थपेर यसले युरोप तथा अष्ट्रेलियामा उडान भर्नेे कम्पनीको योजना  छ ।
बीबी एयरवेज गैर आवासीय नेपाली उद्यमी भवन भट्टद्वारा प्रबद्र्धित कम्पनी हो । उनको स्वामित्वमा जापान र नेपालमा व्यवसायहरू सञ्चालनमा छन् । भट्ट गैर आवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्का कोषाध्यक्ष हुन भने उनी गैर आवासीय नेपाली संघ जापानको अध्यक्ष पनि थिए । बीबीको पहिलो उडान बीओ ४२८ बाट एक महिना अघि सुरु भएको हो । कम्पनीले पहिलो उडान कम्बोडियाको सियाम रिपबाट २०१ पर्यटक लिएर थालेको हो । बीबी एयरवेजको यो चार्टर उडान कम्बोडियाको टोन्ले साप कम्पनीसँग संयुक्त रुपमा संचालन गरिएको हो ।

Tata
GBIME
Nepal Life