स्टकमा इन्सुरेन्स कम्पनीको चाँदी, टेलिकममा पनि ठूलै उछाल, पुँजीकरण ९३ अर्ब रुपैयाँ नजिक

बिजमाण्डू
२०६९ असोज १५ गते ००:०० | Oct 1, 2012
स्टकमा इन्सुरेन्स कम्पनीको चाँदी, टेलिकममा पनि ठूलै उछाल, पुँजीकरण ९३ अर्ब रुपैयाँ नजिक

काठमाडौं । सोमवार बजारलाई इन्सुरेन्स कम्पनी र टेलिकमले धानेको छ । अधिकांश इन्सुरेन्स कम्पनीको सेयर मूल्यमा ठूलो वृद्धि भयो भने सबैभन्दा बढी चुक्ता पुँजी भएको कम्पनी टेलिकमको मूल्य पनि राम्रैसँग चढ्यो । यसले केही दिनदेखि ओरालो लागिरहेको नेप्सेमा आज हरियो बत्ती बाले ।
नेपाल टेलिकमको सेयर मूल्यमा ठूलो वृद्धि भएको छ । लगातार केही दिनदेखि उकालो लागेको टेलिकमको सेयर मूल्य सोमवार प्रतिकित्ता ८ रुपैयाँ बढेपछि ६१८ रुपैयाँ पुगेको छ । सोमवार टेलिकमको बजार पुँजीकरण ९२ अर्ब ७० करोड पुगेको छ । टेलिकमको वृद्धिको रफ्तार यस्तै रहे केही दिनमै कम्पनीको पुँजीकरण एक खर्ब रुपैयाँ नाघ्नेछ ।
नेपाल लाइफ इन्सुरेन्स कम्पनीको  ११४ रुपैयाँले बढेपछि सोमवार १३१४ रुपैयाँमा कारोवार भयो । लाइफ इन्सुरेन्स कम्पनीको ९८ रुपैयाँ बढेर १३२२ रुपैयाँमा कारोवार भयो । प्राइम लाइफ इन्सुरेन्स, एशियन लाइफ इन्सुरेन्स, सूर्य लाइफ इन्सुरेन्सको सेयर मूल्य समेत बढ्यो । अधिकांश इन्सुरेन्स कम्पनीको सेयर मूल्य बढेपछि इन्सुरेन्स समूहको सुचक २४ अंकले बढ्यो । टेलिकमको सेयर मूल्य बढेपछि अन्य समूहको सूचक ९.३९ अंकले बढ्यो ।
यसले नेप्से सुचक १.८५ अंकले माथि चढेर ४१६.८६ अंकमा बन्द भयो । त्यसबाहेक सोमवार बैक, विकास बैंक र फाइनान्सका सूचकमा रातो बत्ती बल्यो । सोल्टी होटलको सेयर मूल्य ओरालो लागेपछि होटल समूहको सूचक समेत ओरालो लाग्यो । चिलिमे जलविद्युतको सेयर मूल्य बढेपछि जलविद्युत समूहको सूचकमा सामान्य वृद्धि भयो ।

Tata
GBIME
Nepal Life