
काठमाडौं । जापानी कम्पनी होण्डा र भारतीय कम्पनी हिरोको साझेदारी टुटेपछि त्यसको असर नेपाली औद्योगिक घराना ज्योती समूहमा पनि परेको छ । एउटै छत मुनि हिरोहोण्डाको व्यापार गर्ने ज्योती समूहका दुई दाजुभाईले हिरो र होण्डालाई बाँडेर लिएका छन् । जापानी कम्पनी होण्डाका उत्पादन विक्री गर्ने जिम्मा पद्य ज्योतिको स्याकर कम्पनीले पाएको छ भने हिरोको आधिकारिक नेपाली डिलर रुप ज्योतिको परिवारले पाएको छ ।
होण्डासँग टुक्रिएपछि हिरो कम्पनी मंगलवार नेपाली बजारमा प्रवेश गरेको हो । हिरोको आधिकारिक विक्रेता रुप ज्योतीका छोरा अभिक ज्योति अध्यक्ष रहेको नेपाल जनरल मार्केटिङ(एनजिएम) प्रा.ली.ले पाएको छ ।
एनजिएम कम्पनी जसलाई ज्योती समूहमा न्यु जेनेरेशन अफ मणिहर्ष भनेर पनि चिनिन्छ । होण्डाका उत्पादन विक्री गर्ने स्याकरको नेतृत्व पद्य ज्योतिका जेठा छोरा सौरभ ज्योतिले गरेका छन् । पद्य र रुप ज्योतिका परिवारले छुट्टाछुट्टै व्यापार गरे पनि उनीहरु ज्योती समूहको छातामुनि भने रहनेछन् ।
ज्योति समूहमा पद्य ज्योति अध्यक्ष छन् भने रुप ज्योति उपाध्यक्ष छन् । ज्योति समूहको सरुवात उनीहरुका हजुरबुबाले सुरु गरेका थिए, जसलाई पिता मणिहर्ष ज्योतिले आधुनिकिकरण गरेका थिए । हिरोको नेपालको आधिकारिक विक्रेता लिन पनि ज्योती समूहले अन्य कर्पोरेटसँग ठूला प्रतिश्पधा गर्नु परेको थियो ।
हिरोको आधिकारिक विक्रेता लिन ज्योति समूहले शंकर समूहसँग ठूलै माथापच्चि गर्नु परेको थियो । शंकर गोल्यानका छोरा शाहिल अग्रवालले एउटा अन्र्तवार्तामा आगामी एक वर्ष भित्र हिरोका उत्पादन आफ्नो कम्पनीले विक्री गर्ने सार्वजनिक उद्घोष समेत गरेका थिए । यसै गरी होण्डाको डिलर लिन चौधरी ग्रुप, सिप्रदी ट्रेडिङले पनि प्रतिस्पर्धा गरेका थिए । यो डिलर हात पार्न सबैभन्दा बढी चौधरी ग्रुप र शंकर ग्रुपले प्रयास गरेका थिए ।
शंकर ग्रुपले नेपालस्थित भारतीय दूतावास नै प्रयोग गरेको थियो । होन्डाको डिलर पाउन दूतावास नै प्रयोग गरेको थाहा पाएपछि ज्योति समूह र सिप्रदी समूह मिलेका थिए । ती व्यवसायीका अनुसार सिप्रदीले पहिलो प्राथमिकता ज्योति समूहलाई नै दिएको थियो । मोटरसाइकलको डिलर लिन यति ठूलो चलखेल देखेपछि सिप्रदीले ज्योति समूहलाई नै सघाउने निर्णय गरेको थियो, उनले भने, सिप्रदी नलागेको भए ज्योतिको हातबाट फुत्किएर चौधरी वा शंकर ग्रुपमा पुग्ने थियो । स्रोतका अनुसार ज्योतिले नपाए सिप्रदीले लिने भद्र सहमति भएको थियो ।