काठमाडौं । मजदुर आन्दोलनका कारण शिखर शुज व्यवस्थापलने उद्योग अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको छ । व्यवस्थापनले आइतवार सूचना जारी गरेर मजदुरका माग पुरा गर्न नसकिने भन्दै कम्पनी बन्द गर्ने निर्णय गरेको हो । कम्पनीले भदौ २९ गतेबाट सुरु भएको गैरकानूनी हड्ताल र तालाबन्दी अवधिभर ‘नो वर्क नो पे’को अवधारणा अनुसार कामदारलाई तलव नदिइने जानकारी पनि दिएको छ । शिखर शुजमा ६० जना कामदार कार्यरत छन् ।
कम्पनीमा कार्यरत कामदार/कर्मचारीले असार २ गते दश बुँदे माग पत्र पेश गरेका थिए । कम्पनी व्यवस्थापन पक्षका आधिकारिक प्रतिनिधी र अखिल नेपाल औद्योगिक मजदुर संघ, शिखर शुज ईकाइ कमिटीवीच भागका विषयमा असार २५ गते सहमति भएको थियो ।
सहमति कार्यान्यन गर्न लागेको बेला सोही कामदार/कर्मचारीहरु अखिल नेपाल क्रान्तीकारी औद्योगिक मजदुर संघमा आवद्ध भएको भन्दै अखिल नेपाल क्रान्तीकारी औद्योगिक मजदुर संघ, शिखर शुज इकाई समितिको नामबाट भदौ २८ गते अर्को एघार बुँदे माग कम्पनी व्यवस्थापन समक्ष राखेका थिए ।
एक महिनाको अवधिमा तीन÷तीन पटक माग पेश गर्नु प्रचलित श्रम ऐन, ट्रेड यूनियन ऐन र नियम बमोजिम नभएको भन्दै व्यवस्थापनले कम्पनी बन्द गर्ने निर्णय गरेको हो । व्यवस्थापनले आपसी सहमतिमा समस्या समाधान होस भनेर पटक पटक वार्ता÷छलफल गर्दा पनि समस्या समाधान नभएको व्यवस्थापनले जानकारी दिएको छ ।
व्यवस्थापनका वरिष्ठ कर्मचारीलाई धम्काउने, मानसिक त्रसित पार्ने जस्ता कार्य गरेको आरोप पनि व्यवस्थापलने लगाएको छ । भदौ २९ गते साँझ ५ बजे पछि मजदुरले गैर कानूनी ढंगले काम बन्द गरी गैरकानूनी हड्ताल शुरु गरेको आरोप पनि व्यवस्थापनले लगाएको छ ।
आन्दोलनमा उत्रिएका मजदुरले कम्पनी व्यवस्थापकको घरमा गएर उद्योग र गोदामको साँचो जर्बजस्ती लगेको आरोप पनि व्यवस्थापकले लगाएका छन् ।