जुन दिन संविधान बन्छ, त्यो वर्ष डबल डिजिटमा आर्थिक वृद्धि हुन्छ, रविभक्त श्रेष्ठको अन्तर्वार्ता

बिजमाण्डू
२०७१ पुष २६ गते ००:०० | Jan 10, 2015
जुन दिन संविधान बन्छ, त्यो वर्ष डबल डिजिटमा आर्थिक वृद्धि हुन्छ, रविभक्त श्रेष्ठको अन्तर्वार्ता


तपाई यो लेखेरै राख्नुस, जुन दिन नेपालमा संविधान जारी हुन्छ र स्थायी सरकार बन्छ त्यही वर्षदेखि नेपालको आर्थिक बृद्धिदर दोहोरो अंकमा हुन्छ । यही वर्ष उर्जा व्यापार संझौता( पिटिए) र आयोजना विकास संझौता(पिडिए) भए । दसौं हजार करोड लगानी हुँदैछ । पुर्वाधारमा लगानी आउँदैछ । यो आउने दिनका लागि राम्रो संकेत थियो तर अब  चिन्ता के हो भने संविधान निर्माणको अनिश्चयले यसलाई कतै विथोल्ने हो कि, लगानीकर्ता फर्किने पो हुन कि ?

युनिलिभर नेपाल लिमिटेडको कुरा छ, यो उद्योग मैले नै संयुक्त लगानीमा भित्र्याएको हुँ । आज यो सबैभन्दा सफल उद्योग मानिन्छ । पब्लिक लिमिटेड कम्पनी, एक सय रुपैयाँको सेयरको भाउ १५ हजार पुगेको छ । गत आर्थिक वर्षमा सेयरधनीलाई ८६० प्रतिसत लाभांस दियौं । यसको भविश्य अझै राम्रो छ । युनिलिभर मात्रै होइन नेपाल आएका संयुक्त लगानीका अधिकांस उद्योग राम्रोसँग चलेका छन् । किनभने उनीहरुको व्यवस्थापन क्षमता, सञ्चालन विधि सबै एउटा स्टाण्डर्डमा छन्

हाम्रो सफलताको मुल मन्त्र के हो भने व्यवसाय सञ्चालन गर्दा हामी पूर्ण व्यवसायिक हुुन्छौं । सञ्चालनका सबै कुरा व्यवस्थापनलाई छाड्छौं । त्यहाँ गएर हस्तक्षेप गर्ने, साझेदारले मलाई यो देउ, ऊ देउ भन्दैनौं । व्यवसायिक मान्छेसँग काम गर्नुपर्छ कहिल्यै समस्या आउँदैन । उद्योग व्यवसायिक रुपमा चलेका छन्, व्यवस्थापनले राम्रोसँग काम गरेको छ, लाभांस पनि राम्रो दिइराखेको छ भने डिस्प्युट आउने कुरै हुदैन ।


रविभक्त श्रेष्ठ जुन कम्पनीमा लगानी गर्छन, ती कम्पनी व्लुचिप हुन्छन् । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष, एनई समूहका प्रवन्ध निर्देशक श्रेष्ठ नेपाल लिभरका साझेदार हुन् । सोल्टी होटलका महत्वपूर्ण लगानीकर्ता उनले नेपाल बैंकमा पनि स्टेक बढाउन खोजेका थिए, तर बहुमत सेयर सरकारले राख्ने गरी लगानी थपेपछि उनी त्यो निर्णयबाट पछि हटे । बिजमाण्डूका सम्पादक सरोज काफ्ले र विज्ञान अधिकारीले श्रेष्ठलाई सोधे, नेपाल बैंकबाट किन व्याक हुनुभयो ?

Tata
GBIME
NLIC

सुरुमा तपाईं उत्पादनमूलक उद्योगमा केन्द्रित हुनुहुन्थ्यो, तर अहिले केही छरिए जस्तो देखिनुहुन्छ । जस्तो अहिले सेवा क्षेत्रमा लगानी बढाउँदै हुनुहुन्छ, बैंकिङ र पूँजीबजारमा पनि देखिनुहुन्छ । हामीले अब यसलाई यसरी बुझौं, नेपालमा उत्पादनमूलक उद्योगको अवस्था अब निक्कै कमजोर छ ?
अहिले कमजोर नै भएको हो, नभनौ । उत्पादनमूलक उद्योगमा धेरै समस्या छन् । मुख्य समस्या लोडसेडिङ हो । सञ्चालन खर्चको ठूलो हिस्सा विजुलीमा जान्छ । अर्को समस्या श्रम हो । तर पहिलेको तुलनामा श्रमको समस्या कम भए पनि समस्या अझै बाँकी छन् ।
अर्को महत्वपूर्ण पक्ष छ, त्यो के हो, भने अधिकांस उद्योगी व्यवसायी व्यवसायिक आचारसंहिता भित्रै बसेर उद्योग व्यापार चलाइरहेका छन् । तर केही यस्ता व्यवसायी पनि छन्, जसले आचारसहिंताभन्दा बाहिर गएर उद्योग व्यवसाय गर्छन । मैले भन्नुपर्दा जो व्यवसायीले आचारसंहिता भित्र बसेर उद्योग व्यवसाय चलाइरहेका छन्, उनीहरुलाई आचारसंहिता तोडेर व्यवसाय गर्नेसँग प्रतिस्पर्धा गर्न गाह्रो छ । उदाहरणका लागि म मोवाइल बनाउँछु र तपाई पनि मोवाइल नै बनाउनु हुन्छ, हाम्रो गुणस्तर र प्रविधि समान छ । त्यो मोवाइल पाँच रुपैयाँमा बेच्दा मलाई नाफा छ, तपाईले त्यही मोवाइल बजारमा एक रुपैयाँ महंगोमा बेच्दा पनि नाफा हुँदैन । यसको मतलव राजस्वमा चलेखेल छ । यही कारणले म्यानुफ्याक्चरिङमा मलाई अलिकति अप्ठ्यारो परेको हो । तर यो क्षेत्र नै छाडेको भने छैन ।

नेपालका सन्दर्भमा एउटा सफल उद्योग युनिलिभर हो, युनिलिभर जस्तै ठूलो उद्योग २० वर्षमा अर्को आएन, यो ठूलो उद्योग स्थापना भयो भनेर हामीले गन्न पाइएन ?
युनिलिभर भन्दा पहिले मेरा अरु उद्योग पनि थिए, जस्तो कपडा कारखाना थियो । विभिन्न कारणले त्यसमा मैले प्रतिस्पर्धा गर्न सकिन । त्यस्तै स्टिल उद्योग पनि थियो, त्यसमा पनि सकिएन । म्यानुफ्याक्चरिङमा कठिन हुँदै गएपछि अब कुन क्षेत्रमा लगानी गर्दा ठीक होला भनेर निकै सोंचे । समग्रमा कुन क्षेत्रमा संभावना छ भन्दा तीन वटा सम्भावना देखें, एउटा पर्यटन, अर्को जलविद्युत र तेस्रो हाइभ्यालु एग्रिकल्चर । कृषिमा काम सुरु गरे र पर्यटनमा जम्प गरें । सोल्टी होटलमा लगानी गरें । सोल्टी होटलसँगको संयुक्त लगानीमा काठमाडौं बाहिर होटल खोल्दै छौं । उदाहरणका लागि नेपालगञ्जमा काम नै सुरु भइसकेको छ । पोखरामा पनि होटल खोल्छौं, त्यसपछि लुम्बिनीमा खोल्छौं । पर्यटनमा निकै ठूलो संभावना छ, भगवानले हामीलाई सौन्दर्य उपहार दिएका छन् । पर्यटन क्षेत्रमा गत वर्षको तुलनामा यो वर्ष मात्रै वाह्य लगानी पाँच गुणाले बढेको छ भन्ने सुनेको छु ।
जलविद्युत अर्को संभावनाको क्षेत्र हो, तर यसमा समय बढी लाग्छ, आयोजनाको लागत पनि निकै धेरै छ । जहाँसम्म युनिलिभर नेपाल लिमिटेडको कुरा छ, यो उद्योग मैले नै संयुक्त लगानीमा भित्र्याएको हुँ । आज यो सबैभन्दा सफल उद्योग मानिन्छ । पब्लिक लिमिटेड कम्पनी, एक सय रुपैयाँको सेयरको भाउ १५ हजार पुगेको छ । गत आर्थिक वर्षमा सेयरधनीलाई ८६० प्रतिसत लाभांस दियौं । यसको भविश्य अझै राम्रो छ । युनिलिभर मात्रै होइन नेपाल आएका संयुक्त लगानीका अधिकांस उद्योग राम्रोसँग चलेका छन् । किनभने उनीहरुको व्यवस्थापन क्षमता, सञ्चालन विधि सबै एउटा स्टाण्डर्डमा छन् । अरुलाई दोष दिने मात्रै होइन, केही कमजोरी हाम्रा पनि छन् । हाम्रो निजीक्षेत्रको व्यवस्थापकीय क्षमतामा केही कमजोरी छ । त्यही वस्तु बहुराष्ट्रिय कम्पनीले बनाएको राम्रोसँग चलिरहेको हुन्छ र त्यही वस्तु हाम्रा यहाँका कम्पनीले बनाएको चल्दैन ।

जसरी तपाईको अग्रसरता युनिलिभिर आयो, नेपालमा राम्रोसँग उद्योग पनि चल्यो तर अरुले किन त्यस्तो अग्रसरता लिएनन ?
यसमा दुई वटा विषय प्रमुख छन् । एउटा त राजनीतिक अस्थिरता हो । युनिलिभर त २० वर्ष अघि आएको हो, त्यतिबेला राजनीतिक अवस्था ठिकै थियो । अर्को संविधान नबन्नु हो । यी दुई वटा कारणले हाम्रो मुलुकमा जति वाह्य लगानी आउनु पर्ने थियो त्यति आएन । तर केही महिना अघिसम्म माघ ८ गते संविधान आउँछ भन्ने थियो । संविधान बन्छ भन्ने अनुमानका आधारमा यो वर्ष वैदेशिक लगानी निकै आयो, जस्तो पर्यटनमा २५ हजार करोड भन्दा बढी लगानीको प्रतिवद्धता भएको छ ।
जलविद्युतमा राम्रो संकेत देखियो । यही वर्ष उर्जा व्यापार संझौता( पिटिए) र आयोजना विकास संझौता(पिडिए) भए । दसौं हजार करोड लगानी हुँदैछ । त्यस्तै पुर्वाधारमा पनि लगानी आउँदैछ । आउने दिनका लागि राम्रो संकेत थियो तर अब मेरो चिन्ता के हो भने संविधान निर्माणको अनिश्चयले यसलाई विथोल्ने हो कि, लगानी कर्ता फर्किने हुन कि ? तपाईहरुलाई आज म भन्छु, जुन दिन नेपालमा संविधान जारी हुन्छ र स्थायी सरकार बन्छ त्यही वर्षदेखि नेपालको आर्थिक बृद्धिदर दोहोरो अंकमा हुन्छ, यो लेखेरै राख्नुस । दुर्भाग्यवस अहिले संविधान जारी हुने विषयमा अनिश्चितता देखिएको छ । यस्तो अनिश्चयको लामो अवधि हामीले विताइसक्यौं । अब आउने दिनलाई सुवर्ण अवसरका रुपमा प्रयोग गर्न सक्नुपर्छ । अब आर्थिक समृद्धिका लागि लाग्नुपर्छ, राजनीतिक अस्थिरता समाप्त गर्नुपर्छ ।

संविधान चाहियो भनेर सर्वसाधारणले दवाव दिएका छन्, उद्यमी व्यवसायीले दवाव दिएका छन्, राजनीतिक दलभित्रै दवाव छ, अस्थिरता अब बढाउनु हुँदैन भनेर दलले पनि बुझेका छन् । माघ ८ गते संविधान नआए अर्को मितिमा संविधान जारी हुन्छ भन्ने अनुमान गरौं । तपाईले के आधारमा संविधान जारी भएपछि दोहोरो अंकको बृद्धिदर हासिल हुन्छ भन्नुभयो ?
संविधान बनेपछि धेरै सहज अवस्था सिर्जना हुन्छ । आर्थिक क्षेत्रसँग सम्बन्धित धेरै कानुन बन्छन, राजनीतिक अस्थिरता समाप्त हुन्छ, उद्योग व्यवसायमा व्यवधान हुँदैन । अर्को महत्वपूर्ण कुरा के छ भने देशले राजनीतिक कोर्ष पुरा गर्छ, त्यसपछिको कोर्ष भनेकै आर्थिक विकास हो । यसले पक्का आकर्षण गर्छ । म त नेपाललाई ‘ल्याण्ड अफ अपरचुनिटिज्’ हो भन्छु । यहाँ त धेरै संभावना छन् । यो त भगवानको वरदान नै हो । समुन्द्रि सतहको एक हजार फिटदेखि २९ हजार फिटसम्मको भुभाग यहाँ छ । यही वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला नेपाल—भारतबीच वर्षौदेखि हुन नसकेका संझौता पनि भए ।
दक्षिण एशियामा उर्जाको ठूलो अभाव छ । छिमेकी मुलुक भारतमै निकै ठूलो मात्रामा उर्जा आवश्यक छ भने हामीसँग त्यो उर्जाको स्रोत छ । यहाँ ठूला पावर प्रोजेक्ट बन्न सक्छन् । यस्ता आयोजनाबाट उत्पादित विद्युत निर्यात गर्न सक्छौं र भारतसँगको अर्बौको व्यापार घाटाको दोब्बर हामी नाफामा आउँछौं । भुटान जस्तो सानो मुलुकको आर्थिक बृद्धिदर हाम्रोभन्दा बढी कसरी भयो भने त्यहाँ ठूला जलविद्युत आयोजना बने र उर्जा भारत निर्यात भयो । त्यस्तै अर्को पर्यटन हो । संसारका धेरै मानिसले नेपाललाई माया गर्छन्, नेपाललाई हेर्ने दृष्टिकोण सकारात्मक छ । सगरमाथा छ, बुद्ध जन्मेको देश हो, पशुपतिनाथ छ, यस्ता धेरै आकर्षण नेपालमा छन् । यसका साथै पुर्वाधारमा पनि धेरै विकास हुन्छ । पोखरा र भैरहवामा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल बन्दैछन् । अर्को अन्तराष्ट्रिय विमानस्थलको विषय पनि अघि बढ्छ । अब जति पर्यटक आए पनि थेग्न सक्छौं, नत्र त होटल मात्र बनेर के गर्नु ।
हामीले विकास गर्नुपर्ने अर्को क्षेत्र सडक सञ्जाल हो । कनेक्टिभिटी भएन भने आर्थिक विकास संभव छैन । दक्षिण कोरियामा यति ठूलो विकास कसरी भयो भने त्यहाँ सरकारले विमानस्थल र सडक बनाइदियो । यसले मुलुकको विकासमा ठूलो भूमिका खेल्छ, हाम्रो प्रयास पनि यस्तै हुनुपर्छ । यही आधारमा मैले दोहोरो अंकको आर्थिक बृद्धिदर हुन्छ भनेको हुँ ।

हामी युनिलिभरको प्रसंगमा थियौ, युनिलिभरसँगै तपाईहरुले एनसिलरिज उद्योग पनि सञ्चालन सुरु गर्नुभयो, यस्ता उद्योगबाट उत्पादित कच्चा पदार्थ भारत निर्यात गर्ने र त्यहाँ फाइनल प्रोडक्ट बनाएर, प्याकेजिङ गरेर निर्यात गर्ने संभावना कत्तिको हुन्छ ?
अन्य उद्योगको कुरा मलाई त्यति थाहा छैन, जबसम्म युनिलिभरको नीति के छ भने उनीहरु जति विस्तार गर्दै, बृद्धि गर्दै जान्छन, सबै वस्तु आफै उत्पादन गर्दैनन्, एनसिलरिज उद्योग स्थापना गरेर उनीहरुसँग कच्चा पदार्थ लिन्छन् । त्यसले उनीहरुकै ब्राण्ड बनाउने हो, मार्केटिङ पनि उनीहरुले नै गर्छन । उनीहरुको आवश्यकता अनुसार हामीले कच्चा पदार्थ बनाएर दिने हो, त्यसले हाम्रो फ्याक्ट्री चल्छन्, रोजगारी सिर्जना हुन्छ र राजस्वमा पनि योगदान पुग्छ । उद्योगले पनि सबै काम आफै मात्र गर्न सक्दैन । उद्योग विस्तारमा पनि सहयोग नै पुग्छ ।
 
तपाईले सुरुमा उठाउनु भएको प्रसंगमा जाउँ, यहाँ इथिकल विजनेश भएन र यसले प्रतिस्पर्धामा समस्या ल्यायो र लगानीलाई पनि प्रभावित बनायो भन्नुभयो, निजीक्षेत्र भित्र पनि इथिकल विजनेस गर्ने नभएर लगानी बढाउन नसकिएको हो ?
ठीक त्यसै त नभनौं, केश टु केशमा जान्छ । केही उद्योगी व्यवसायीको केसका आधारमा मैले भनेको हुँ । समाजमा उद्योगी व्यवसायीलाई हेर्ने दृष्टिकोण त्यति राम्रो छैन । उद्योगी व्यवसायी भन्नासाथ अलिकति नकारात्मक भइहाल्ने अवस्था छ । केही समय अघि भएको भ्याट छलिको कारणले त व्यवसायीलाई चोर नै हुन भनेजस्तो गर्छन । मेरो भनाई के हो भने केही उद्यमी व्यवसायीको कारणले आम उद्यमी व्यवसायीलाई हेर्ने दृष्टिकोण त्यही हुनु भएन ।
म नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष हुँदा इमेज सुधार भएको थियो । भ्रष्ट्राचारमा लिने मात्रै होइन दिने पनि त्यत्तिकै दोषी हुन्छन् । म त अझ बढी दोषी दिनेहरु हुन भन्छुु । यसलाई कसरी सुधार्न सकिन्छ, उद्यमी व्यवसायीलाई हेर्ने दृष्टिकोणमा कसरी सुधार्न सकिएला भनेर म अध्यक्ष हुँदा व्यवसायिक आचारसंहिता बनाएर आफ्ना सदस्यलाई पालना गर्न अपिल गरेको हुँ ।
त्यसबेला सरकारसँग मिलेर यसलाई प्रचार प्रसार गर्यौं, मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले भाइरस नामको सिरियल बनाउनु भयो । त्यसकारण हामीमा भएको कमी कमजोरी हटाउनु पर्छ र राज्य प्रतिको दायित्व बढाउनु पर्छ भनेर अघि बढेका थियौं ।

अबको केही वर्षमा विद्युत उत्पादन बढ्दै छ, विद्युत उत्पादन बढेपछि अहिलेको सबैभन्दा ठूलो समस्या समाधान हुन्छ, त्यसपछि ठूला साझेदारीका बहुराष्ट्रिय कम्पनी ल्याउन तपाईहरुले पहल गर्ने बेला अब भयो हैन ?
यस्ता उद्योग भित्र्याउन त दुबै पक्षबाट पहल हुनुपर्छ । निजीक्षेत्रको पक्षबाट त पहल हुनै पर्छ, सँगै सरकारको तर्फबाट पनि पहल हुनुपर्छ । सरकारले आफ्ना नीतिमा बढी उदार हुनुपर्छ, धेरै सुधार गरेर नयाँ ऐनहरु ल्याउनु पर्छ, व्यवहारमा समस्या पनि समाधान गरिदिनुपर्छ । जस्तो कुनै ठूलो लगानीकर्ता नेपाल आउँदा उसलाई सहज रुपमा भिसा उपलब्ध गराउनु पर्छ, रेड कार्पेट ओच्छ्याएर उसलाई स्वागत गर्नुपर्यो । अरु मुलुकमा पनि त्यस्तै गरिन्छ ।

पछिल्ला केही वर्षको गतिविधि हेर्ने हो भने राजनीतिक दलहरु निजीक्षेत्रसँगै मिलेर अघि बढ्न खोजेको जस्तो देखिन्छ, निजीक्षेत्र पनि आर्थिक विकासमा सरकारसँगै अघि जान खोजेका छौं, भनिरहेको छ, तर कुन त्यस्तो लुकेको कारण छ जसले लगानी विस्तार हुन दिएको छैन ?
सरकार र निजीक्षेत्रमा अझै पनि ‘क्राइसिस अफ कन्फिडेन्स’ छ । एकले अर्कोलाई विश्वास गर्न नसक्ने अवस्था छ । मन्त्रीहरुले भाषण जस्तो गरे पनि आन्तरिक समस्या पुर्णरुपमा हटाउन सकेका छैनन् । सरकारले यस्तो अवस्था बनाउनु पर्छ कि निजीक्षेत्रले पूर्णरुपमा सरकारको विश्वास लिन सकोस र सरकारले पनि निजी क्षेत्रको विश्वास गर्न सकोस ।

तपाईको सोल्टी होटलमा ठूलो सेयर हिस्सा छ, यो होटलले काठमाडौं वाहिर पनि होटल बनाउन थाल्यो भन्नुभयो ?
हामीले काठमाडौं बाहिर जाने भनेको तीन वर्ष जति भयो । अहिले यसको काम पनि सुरु भइसक्यो । हामी एक्सनमा गइसक्यौं, जस्तो नेपालगञ्जको कुरा गरौं, त्यहाँ जमिन खरिद गरेर होटलको शिलान्यास भइसक्यो । कन्ट्याक्टर केही दिनमै नियुक्त गर्दैछौं, यही महिनाबाट निर्माण सुरु हुन्छ, डिजाइन पुरा भइसकेको छ । पोखरामा पनि जग्गा लिइसकेका छौं । त्यहाँ सुरु भएपछि हामी बुटवल, भैरहवामा जग्गा लिन्छौं ।
सोल्टी होटलको इमेज नेपालमा धेरै राम्रो छ, ७५ जिल्लामा नेपालीलाई थाहा छ सोल्टी स्तरीय होटल हो भन्ने । यो ब्राण्डको फाइदा किन नलिने भनेर विस्तारको कुरा गरेका हौं । यो कुरा व्यवस्थापनले पनि स्वीकार गर्यो । यसमा मेरो र सोल्टी होटलको संयुक्त लगानी रहनेछ । काठमाडौंको सोल्टीमा क्राउन प्लाजा ब्राण्ड छ तर काठमाडौं बाहिर विसुद्ध सोल्टी मात्रै रहने छ । हामीलाई क्राउन प्लाजा ब्राण्ड आवश्यक पर्दैन । नेपालमा आन्तरिक पर्यटक निकै बढ्न थालेको छ । लामो छुट्टि भयो भने काठमाडौं बाहिरका पोखरा, चितवन वा अन्य कुनै न कुनै ठाउँमा जाने मानिस बढेका छन् ।


नेपालगञ्जको होटल कस्तो हुन्छ, कुन स्तरमा सञ्चलानमा आउँछ ?
यो फोर स्टार बिजनेश होटल हो । काठमाडौं बाहिर अहिले फाइभस्टार चाहिदैन, त्यसैले फोर स्टार विजनेश होटल बनाउन लागेका हौं । यसमा ८१ वटा कोठा हुनेछन् ।

यसमा लगानी कति होला ?
४० करोड रुपैयाँ भन्दा माथि नै हुन्छ ।

यसमा तपाईहरु र सोल्टी दुईवटा पक्षमात्रै हुन्छ ? अनि सेयर संरचना कति, ५०/५० प्रतिसत होला ?
हो यसमा दुई वटा पक्ष हुन्छौं । हिस्सा ५०/५० प्रतिसत नै हुँदैन । तर यो सबै केही दिनमै सार्वजनिक भइहाल्छ, अहिले यति नै भनौं ।

तपाईको एनई समूह अन्य छुट्टै होटल सञ्चालन गर्ने योजनामा छ ?
अहिले यही समूहसँग छँदैछ । हामी छुट्टै होटल सञ्चालन पनि गर्न सकिन्थ्यो, तर जबसम्म राम्रो साझेदार पाइराखिएको छ, उनीहरुसँगै काम गर्ने मौका पाइराखिएको छ भने त्यसले सजिलो पनि छ । यो अरु उद्योग जस्तो होइन पूर्णतया फरक उद्योग हो । केही समय पछि अरु साथीहरुसँग मिलेर पनि होटल सञ्चालन गर्छौ ।

नेपालमा एउटा सोच के छ भने साझेदारीमा गरेको व्यवसाय सफल हुँदैन, तर तपाईका सन्दर्भमा फरक देखियो । तपाईले साझेदारीमा सञ्चालन गरेका उद्योगहरु युनिलिभर हेरौं, सोल्टी होटल हेरौं, अन्य साझेदारीका उद्योग पनि यति राम्रोसँग फष्टाएका छन् भने मानिसहरुलाई कहाँनेर यस्तो गलत सोच रहेछ ?
हाम्रो सफलताको मुल मन्त्र के हो भने व्यवसाय सञ्चालन गर्दा हामी पूर्ण व्यवसायिक हुुन्छौं । सञ्चालनका सबै कुरा व्यवस्थापनलाई छाड्छौं । त्यहाँ गएर हस्तक्षेप गर्ने, साझेदारले मलाई यो देउ, ऊ देउ भन्दैनौं । व्यवसायिक मान्छेसँग काम गर्नुपर्छ कहिल्यै समस्या आउँदैन । उद्योग व्यवसायिक रुपमा चलेका छन्, व्यवस्थापनले राम्रोसँग काम गरेको छ, लाभांस पनि राम्रो दिइराखेको छ भने डिस्प्युट आउने कुरै हुदैन । तर तपाईले भनेजस्तै धेरै साझेदारीमा स्थापना भएका उद्योग केही वर्ष चल्छन्, त्यसपछि समस्या देखिन्छ । संक्रिण सोचाइले पनि त्यस्तो भएको हुनसक्छ । त्यसैले पूर्ण व्यवसायिक भएर साझेदारी गर्यो भने समस्या आउँदैन ।

पहिले नेपाल बैंकको सेयर किन्नुभयो, पछि फेरी बेच्नु भयो, यसलाई हामी तपाईं पनि स्टक बजारमा सक्रिय हुन थाल्नुभयो भनेर बुझौं ?
जहाँसम्म बैंकिङको कुरा गर्नुभएको छ, हामीले नेपाल बैंकको ठूलो हिस्सा सेयर किनेका थियौं तर त्यो सेयर ट्रेडिङका लागि किनेका थिएनौं । नेपाल बैंकले बोलकबोलमा बेचको आधा सेयर हामीले किन्यौ र बजारबाट पनि उठायौं । नेपाल बैंक राष्ट्र बैंकले छाड्ने बेलामा हामी जाउँ भनेर दीर्घकालीन सोच राखेर किनेका थियौं । तर, हामीले सोचेभन्दा निकै ढीला मात्रा राष्ट्र बैंकले छाड्यो । जति सेयर बाहिर पठाउनु पथ्र्यो त्यसो नगरेर सरकारले पछि आफ्नै हिस्सा बढायो । त्यसपछि मलाई नेपाल बैंकमा त्यति चाहना भएन । त्यो सेयर मैले फेरी बजारमा अफ लोड गरेको हो । यसमा केही मान्छेलाई भ्रम परेको छ । जुन उद्देश्यले सेयर किनेको हो त्यो पुर्ती हुने नदेखेपछि सेयर विस्तारै बजारमा बेचेको हुँ, किनभने मैले त त्यही पैसा अन्यत्र लगानी गर्नुपर्छ ।

नेपाल बैंकको पूँजी, यसको शाखा सञ्जाल, यो सबै हेर्दा तपाईले चाँही के योजना बनाउनु भएको थियो ?
यो बैंक आम नेपालीको बैंक हो, खाली ठूला कर्पोरेट हाउसको मात्रै होइन । आम नेपालीले विश्वास गरेको बैंक हो । जुन किमिसले विगतमा गलत व्यवस्थापनका कारण घाटामा गयो, अहिले त्यो अवस्था छैन, सञ्चित नोक्सान त बाँकी छ तर धेरै सुधार भइसक्यो, अब सुधार गर्नुपर्ने धेरै छैन । त्यसैले भविष्यमा यो बैंकलाई नेपालको नम्बर एक बैंक बनाउन सकिन्छ, धेरै विस्तार गर्न सकिन्छ भन्ने सोच बनाएर प्रवेश गर्न खोजेका थियौं ।

सरकारसँग नेपाल बैंकको ६० प्रतिसतभन्दा बढी हिस्सा छ, फेरि पनि सरकार र तपाई मिलेर अघि बढाउन सकिन्थ्यो कि ?
हामी एउटा सोचमा थियौं, हाम्रो सोच अनुसार हुने नदेखेपछि प्रवेश नगरेका हौं ।

त्यस्ता कुरा के थिए ?
त्यो नभनौं । तर, सरकारकै स्टेक बढी भयो, सेयर बजारमा नपठाइ सरकारले आफ्नो हिस्सा बढायो । यस्तो भएपछि सरकारको बहुमत पुग्यो । व्यवस्थापनमा सरकारकै नियन्त्रण हुने भयो ।

अहिले पनि ३० वटा बाणिज्य बैंक सञ्चालनमा छन्, केही राम्रा बैंकहरु छन्, यी मध्ये केहीमा एउटा ठूलो समूहले, व्यापारिक समूहले नेतृत्व लिएहुन्थ्यो भनेजस्तो पनि देखिन्छ । तपाई नेपाल बैंकबाट पछि हट्नु भयो, अब अर्को बैंकमा जाने सम्भावना कति रहन्छ ?
मेरो व्यक्तिगत कुरा गर्नुहुन्छ भने म पुरै पर्यटन क्षेत्र, सेवा क्षेत्रमा केन्द्रित हुन्छु । केहीगरी बीचमा अन्य अवसर पनि आए भने उद्यमीका हिसावले त्यो अवसर त लिइहाल्छु । एउटा कुरा के हो भने, अहिले हामी तेस्रो जेनेरेशनमा छौं । मेरो बुबाले गर्नेभन्दा मैले काम गर्ने शैली फरक भयो, मेरा छोराहरुले काम गर्ने शैली अझै फरक छ । पछि झन फरक पर्ला । यो किन भनेको हो भने अब ठूला प्रोजेक्टमा टिम बनाएर मात्रै काम गर्न सकिन्छ, मन मिल्ने (लाइक माइन्डेट)को समूह बन्यो भने मात्र सफल भइन्छ । त्यो कन्सेप्ट अहिले आइरहेको छ ।

तपाईहरुले आइसक्रिम उद्योग सुरु गर्नुभयो, त्यो पनि नयाँ उद्योग थियो । त्यस्तै नयाँ उद्योगमा जाने योजना पनि छन् ?
यो आइसक्रिम उद्योग पनि सुरुमा युनिलिभरसँगै साझेदारीमा सञ्चालन गर्न लागिएको थियो । उनीहरुसँगै जाने योजनामा बालाजुमा उद्योग स्थापना भयो, उनीहरुकै मान्छेले त्यो हेरेका पनि थिए । उनीहरुको पनि वाल्स आइसक्रिम छ । पछि उनीहरुको व्यवस्थापन परिवर्तन भयो, नयाँ व्यवस्थापनले आइसक्रिम अहिले सुरु नगर्ने भन्यो, प्राथमिकतामा राखेन । यता प्लाण्ट तयार भइसक्यो । तिमीहरुले नगर्ने हो भने म गर्छु भने । उहाँहरुसँग मैले फ्याक्ट्री किनेर चलाएँ । मेरो फुड सेक्टर होइन, त्यसैले टिमवर्क चाहिन्छ भनेको हुँ । हिजो एक्लैले जुन उद्योग चलाए पनि हुन्थ्यो । तर आज फराकिलो सोच आवश्यक पर्छ । मैले नाङ्लो ग्रुपका श्याम कक्षपतिसँग कुरा गरे । उहाँले खुसीसाथ सँगै काम गर्ने भन्नुभयो, हाम्रो कुरा मिल्यो, हामीले चलायौं । यो फ्याक्ट्री चलेको चार वर्ष भयो, अहिलेसम्म हामी नेपालकै दोस्रो नम्बरमा आइसकेका छौं । अहिले नेपालमा अन्तराष्ट्रिय स्टाण्डर्ड अनुसार चल्ने हाम्रो फ्याक्ट्री मात्रै हो ।

यो प्रसंग किन जोडेको हो भने नेपालमा कृषिजन्य उद्योगको संभावना धेरै छ भनिन्छ, आइसक्रिम पनि कृषिमै आधारित उद्योग हो । यो अनुभवका आधारमा तपाईले कृषिजन्य उद्योगको संभावना देख्नुभयो ?
यसमा संभावना धेरै छ । तर, म हाइभ्यालु एग्रिकल्चर भन्छु । नेपाल जलस्रोतको भण्डार भनेजस्तै जडिबुटीको पनि भण्डार नै हो, प्रसस्त जडिबुटी छन् । त्यसको फाइदा उठाउन सकिरहेका छैनौं । यसका विभिन्न कारण छन् । प्रमुख कारण पुर्वाधार हो, सडक सञ्जाल छैन, अर्को प्रविधि हो, त्यस्तै मार्केटिङ नेटवर्क छैन । संसार भर कहाँ के माग छ, कस्तो उत्पादन गर्ने भन्ने भइसक्यो । त्यो अनुसारका पुर्वाधार हामीले बनाउन सकेनौं ।
यहाँबाट सेमिप्रोसेस भएर लोठसल्लो चीन निर्यात हुन्छ । चीनले थप प्रोसेस गरेर अमेरिका पठाउँछ, यो क्यान्सरको उपचारमा प्रयोग हुन्छ । यसको पूर्ण प्रशोधन भएर बजार पुग्दा प्रतकेजी मुल्य नै लाखौं डलर हुन्छ । अब हामी कहाँ नै प्रशोधन फ्याक्ट्री राख्न सके मुलुकलाई नै फाइदा हुन्छ । अहिले त गैरकानुनी रुपमा भारत पनि गएको छ चीन पनि गएकै छ । यस्ता पक्षमा हामीले कसरी विकास गर्न सकिन्छ त्यसमा ध्यान दिनुपर्छ ।

प्रसंग नेपाल उद्योग वाणिज्य महासंघको हो, गत वर्ष भएको चुनावमा तपाईले एउटा पक्षलाई जसरी पनि जिताउने भनेर लाग्नु भयो, बीचमा महासंघ भित्र फेरी समस्या देखियो, तपाई मिलाउन लाग्नुभयो, तपाई पुर्वअध्यक्ष तर महासंघ तपाईको वरिपरी घुम्यो ?
म मात्रै होइन, हामी पूर्वअध्यक्षहरु महासंघमा गएर हस्तक्षेप गर्दैनौं, हामीले सल्लाह मात्रै दिने हो । तर हाम्रै आँखा अघि महासंघको प्रतिष्ठा गिर्यो, आँच आउन लाग्यो, ठूलो असर देखिन थाल्यो, कुनै व्यक्तिका कारण फुट आउन लाग्यो भने त्यसमा हामीलाई चिन्ता लाग्छ नै । यही कारण विगतका कार्यकालमा हामी केही इन्भल्व हुनुपर्यो । व्यक्तिगत कुरा गर्नुहुन्छ भने त मेरो बुबा पनि महासंघको अध्यक्ष हुनुभयो, म पनि भए, यसले सेन्टिमेन्ट बढी हुन्छ । यसमा धेरै कुरा नगरौं विवाद मिलिसक्यो । कसैलाई व्यक्तिगत आपेक्ष नगरौं, कुनै व्यक्तिको लाभका लागि पनि म लागेको होइन, सस्थाको हितका लागि लागेको हुँ । गएको कार्यकालमा नेतृत्वले सबैलाई समेट्न सकेन, त्यसबेलाका अध्यक्ष सबै उद्योगपति व्यवसायीको अध्यक्ष बन्न सक्नुभएन । उँहाको कार्यकालमा पुर्वअध्यक्षहरुलाई यति धेरै नेग्लेट गर्नुभयो कि महासंघको इतिहासमै त्यसरी हेपिएको थिएन ।

बाहिरबाट हेर्दा त महासंघ दुई चिरामा विभाजित थियो ?
हो, त्यस्तै अवस्थामा पुगेको थियो । महासंघको विधानमा दुई वटा अति महत्वपूर्ण कमिटी छन्, एउटा सल्लाहकार कमिटी र अर्को अनुशासन कमिटी । यो दुईवटै कमिटीको संयोजक महासंघको पुर्वअध्यक्ष मध्येबाटै हुनुपर्छ, बाहिरबाट बनाउन पाइँदैन । गएको कार्यकालमा नेतृत्वले यो दुईवटा कमिटी नै गठन गरेन, गर्न सकेन । उहाँले किन त्यस्तो गर्नुभयो हामीले बुझेनौं । कार्यसमिति भित्र पनि विभाजन हुने अवस्था देखियो । त्यसैले नयाँ बन्ने अध्यक्ष यस्तो बनोस जसले सबैलाई समेटेर लैजान सकोस, सबैको अध्यक्ष बनोस भन्ने चाहनाले मैले प्रदीपजंग पाण्डेलाई समेटेर हिडेको हुँ ।
अहिले आएर म निकै खुसी छु । निर्वाचन पछि महासंघमा अनेकौं कुरा आए, महासंघका केही व्यक्तिले अनावश्यक कुरा बाहिर बोलेर आफ्नै उचाइ घटाउने काम पनि गरे । यसमा हामी दुखी थियौं । यो विवाद कसरी मिलाउन सकिन्छ भनेर मलगायत पुर्वअध्यक्षहरु धेरैपटक बस्यौ । अहिले आएर सबैले यो रियलाइज गरेका छन कि महासंघको प्रतिष्ठा  घटाउने काम गर्नुहुदैन । विवाद गर्नेहरु पनि अहिले एकै ठाउँमा आउनु भएको छ ।  देखिएको विवाद सकिएको छ । महासंघको गएको कार्यसमितिको बैठकमा हालसम्मकै धेरै करिब ९० प्रतिसत सदस्यको उपस्थिति भयो । अब सबै एकजुट भए, महासंघ बलियो भयो, उनीहरु अब उद्योगी व्यवसायीका समस्यासँग जुध्नेछन् ।