विलियन डलरका विनोद चौधरी, पुस्तकबाट स्वीकार गरे विदेशको लगानी (कहाँ-कहाँ छ लगानी)




काठमाडौं । कानुनले नेपालीलाई विदेशमा लगानी गर्न रोक लगाएको छ, तर उद्योगपति विनोद चौधरीले भने पुस्तकमार्फत आफू ‘मल्टिनेशनल’ लगानीकर्ता भएको दावी सार्वजनिक गरेका छन् । उनको सोमवार सार्वजनिक हुन लागेको पुस्तक ‘विनोद चौधरी आत्मकथा’बाट भारत, श्रीलंका, माल्दिभ्स, मलेसिया, सिंगापुर र मध्यपूर्वका देशमा आफ्नो लगानी भएको दावी गरेका हुन् ।
चौधरीको पुस्तकमा छ, टाटा इन्टरप्राइजेजको ताज गु्रपसँग हाम्रो साझेदारी छ । श्रीलंका, मालदिभ्स र मलेसियाका विभिन्न सहरमा हामी लक्जरी होटल र रिसोर्टहरु चलाइरहेका छौं । उनले लेखेका छन्, पहिलोचोटि बम्बई घुम्न जाँदा ताज होटल परिसरमा महँगामहँगा गाडीहरूको शाही क्याराभान देखेर म चकित परेको थिएँ । होटलअगाडि सडकपेटीमा थुचुक्क बसेर त्यहाँको एकएक गतिविधि बढो तन्मयका साथ नियालेको थिएँ । म भित्र छिर्न चाहन्थेँ । छिर्न पाइनँ ।
ताजसँग मिलेर सञ्चालन भैरहेको ताज एशिया लिमिटेड९ताल०मा चौधरी समूहको ५० प्रतिशत सेयर हिस्सेदारी छ । तालले श्रीलंका, माल्दिभ्स, मलेसिया लगायतका देशमा पाँचतारे होटल र रिसोर्ट सञ्चालन गर्दछ  । तालले श्रीलंकामा ताज होटलको चेन सञ्चालन गर्दछ, त्यसको प्यारेन्ट कम्पनी ताज लंका होटलस पिएलसीमा तालको ५८.१४ प्रतिशत सेयर छ । यो कम्पनीमा विनोद र छोरा निर्वाण चौधरी सञ्चालक छन् । ताज लंकाले ताज समुद्र होटल सञ्चालन गर्दछ भने एयरपोर्ट गार्डेन होटलको व्यवस्थापन पनि सम्हाल्छ ।
तालले माल्दिभ्समा ताज माल्दिभ्स प्रा.लीका नामबाट ताज एक्जोटिक रिसोर्ट एण्ड स्पा सञ्चालन गरिरहेको छ । सन् २००३ मा ताज माल्दिभ्समा विश्व बैंक समूहको आईएफसीले साढे दुई करोड डलर लगानी गरेको थियो । यो कम्पनीमा अहिले राहुल चौधरी सञ्चालक छन् ।
टाटा समूहकै इण्डियन होटलस् कम्पनी, कन्जर्भेसन कर्पोरेशन अफ्रिका र चौधरीको सिंगापुरमा भएको कम्पनी सिजेन कर्पोरेशन मिलेर वाइल्ड लाइफ पर्यटनमा काम गरिरहेका छन् । यी तीन समूहले तीस करोड भारुका दरले भारतका मुख्य वन्यजन्तु संरक्षण भैरहेका तीन क्षेत्रमा १५ भन्दा बढी लज सञ्चालन गरिरहेका छन् ।
यो कम्पनीले गुजरातको ससानगिरीमा द गिरी लज, केरलाको दकिक्डीमा ताज गार्डेन रिट्रिट,  राजस्थानको रान्थामबोर नेशनल पार्कमा सवाई मधोपुर लज, राजस्थान जयपुरमा रामग्रह लज सञ्चालन गरिरहेको छ । विनोद चौधरीको परिचय दिंदै पुस्तकमा भनिएको छ, चौधरीले विदेशीसँगको साझेदारीमा दक्षिण तथा दक्षिणपूर्वी एसिया र मध्यपूर्वका होटल, रियलस्टेट र उत्पादनमूलक क्षेत्रमा लगानी गरेका छन् । भारतको ताज गु्रप र थाइल्यान्डको इनभिजनसँग संयुक्त लगानी गरेका छन् ।

ग्लोबल चौधरीः राहुल, विनोद, निर्वाण र वरूण, मल्टिनेशनल चौधरी समूहलार्इ यी चार जनाले नेतृत्व दिइरहेका छन्

थाइल्याण्डको इनभिजनसँगको साझेदारीमा चौधरीले जिंक÷इनभिजन हस्पिटालिटी सञ्चालनमा ल्याएका छन् । यो कम्पनीमा विनोद चौधरी अध्यक्ष छन् भने राहुल चौधरी कार्यकारी निर्देशकका रुपमा कार्यरत छन् । जिंक इनभिजनको साइटमा चौधरीको परिचयमा लेखिएको छ, सिजीका ४५ वटा कम्पनीले ३० भन्दा बढी देशमा लगानी गरेको छ ।
जिंक÷इनभिजन आफैले जिंक सिटी, जिंक लिभिङ, जिंक जर्ने र टच बाई जिंकका नाममा झण्डै तीन दर्जन परियोजनामा हात हालेको छ । जिंक सिटी र जिंक लिभिङले भारत, थाइल्याण्ड र नेपालको रियलस्टेट क्षेत्रमा नौ वटा परियोजना सञ्चालन गरिरहेको छ । त्यसैगरी जिंक जर्नेका नाममा कम्पनीले १२ वटा होटल तथा लजको परियोजना अघि बढाएको छ ।

चौधरीको आफ्नो आधिकारिक साइटमा चौधरी समूहको छातामा ४० वटा परियोजना सञ्चालनमा रहेको र यी परियोजनामा एक अर्ब डलर लगानी भएको दावी छ
TATA
Safety
Riddhi siddhi Cement


चौधरीको आफ्नो आधिकारिक साइटमा भने चौधरी समूहको छातामा ४० वटा परियोजना सञ्चालनमा रहेको र यी परियोजनामा एक अर्ब डलर अहिलेको विनिमयमा ८६ अर्ब रुपैयाँ लगानी भएको कम्पनीको दावी छ । चौधरीले विदेशमा आफ्नो लगानी भएको स्वीकार गर्दै, त्यसलाई यसरी व्याख्या गरेका छन्, कम्पनीको बिजनेस मोडल बनाउने, लगानी क्षेत्र खोज्ने, सञ्जाल बढाउने लगायत सबै काम मैले गरेँ । उनीहरूले वर्किङ पार्टनरका रूपमा मलाई बराबरको सेयर दिए । हाम्रो कानुनले विदेशमा लगानी गर्न रोक लगाए पनि विदेशी मुद्रा ऐनअनुसार कसैले तपाईंको कामबापत् निःशुल्क सेयर दिन्छ भने त्यो वैधानिक हुन्छ । सिंगापुरमा हाम्रो अन्तर्राष्ट्रिय कम्पनी खडा भयोसिनोभेसन ।
सिंगापुर र दुवईमा खडा गरिएको यो त्यही सिनोभेसन कम्पनी हो, जहाँबाट चौधरीको सम्पूर्ण विदेशी लगानी नियन्त्रित हुन्छ । र त्यो कम्पनीको व्यवसाय चौधरीका गैरआवासिय नेपाली छोरा राहुल चौधरीले हेर्ने गर्दछन्, सिंगापुर र दुबईमा खडा गरिएको सिनोभेसन समूहको कार्यकारी निर्देशक रहेका राहुलले दक्षिणी अमेरिका, मध्यपूर्व र भारतको रियलस्टेट र हस्पिटालिटी व्यापार पनि हेर्छन । उनी न्युयोर्कमा भएको अमाया होटल एण्ड रिसोर्टका प्रवन्ध निर्देशक हुन्, सिनोभेसन समूहको सिजेन कर्पोरेशन, सेन्सुई क्यापिटल पाटनरसिप, सिंगापुरका पनि उनी निर्देशक हुन् ।
राहुल इण्डिया सफारी एण्ड टुर्स प्रा.ली, इण्डिया सिजी फुड(इन्डिया) प्रा(ली, सनस्टार डेभलपर लिमिटेडमा पनि छन् । त्यसैगरी राहुलको जिम्मामा ताज एशिया लिमिटेड हङकङ, माल्दिभ्सको ताज कोरल रिफ रिसोर्ट, ताज एक्जोटिक रिसोर्ट एण्ड स्पा, श्रीलंकाको ताज समुद्र, कोलोम्बो, भारतको ताज वाइल्डरनेस लज इण्डिया लिमिटेड, ताज माहुकोठी र ताज भगवानका पनि छ ।
चौधरीको पुस्तकको एउटा अंकमा लेखिएको छ, थाई फुड (वाइवाइ उत्पादक) का प्रबन्ध निर्देशक किटी पोङश्री काठमाडौं आए । बजार घुमे । उनले भने, ‘एउटा प्लान्टको क्षमता घटीमा ३० हजार प्याकेट प्रतिआठ घन्टाको हुन्छ । यसलाई चाहिने बजार नेपालमा देखिँदैन ।’ ‘बजारको जोखिम लिन म तयार छु,’ मैले भनेँ, ‘तिमीहरूले दिने प्राविधिक सहयोगको पैसा तिर्छु, तिमी खालि मेरो आत्मविश्वासलाई सहयोग गर ।उनी तयार भए । मेरा दुइटा सर्त थिए मलाई तयारी चाउचाउको प्राविधिक ज्ञान सिकाउनुपर्छ र विश्वभरिका लागि वाइवाइ ब्रान्डको अविच्छिन्न एकाधिकार मलाई प्राप्त हुनुपर्छ । आज हामी ३५ भन्दा बढी देशमा वाइवाइको बजार विस्तार गरिरहेका छौं ।
यही साता मात्रै चौधरी समूहले भारतको आसाममा वाईवाईको पाँचौ प्लान्ट लगाएको छ । असमको राजधानी गुहाटीपछिको ठूलो शहर सिलचरमा चौधरी समूहले दैनिक ६० लाख प्याकेट चाउचाउ उत्पादन गर्ने प्लान्ट लगाएको हो । चौधरी समूहले यसअघि सन् २०१० मा असमको राजधानी गुहाटीको कामरुप जिल्लाको छायागाउँस्थित औद्योगिक केन्द्रमा प्लान्ट लगाएको थियो । सन् २०१० मा सुरु गरेको यो प्लान्टलाई सन् २०१२ मा स्तरोन्नती गरिएको थियो ।
सिलचरमा लगाएको चौधरीको यो प्लान्ट अहिलेसम्मकै ठूलो हो, कामरुपमा लगाएको प्लान्टबाट दैनिक नौ लाख बढी प्याकेट चाउचाउ उत्पादन हुने गरेको छ भने सिलचरको प्लान्टबाट छ गुणा बढी चाउचाउ उत्पादन हुन्छ । सिलचरमा लगाएको प्लान्ट आउनुअघि चौधरी समूहका तीन प्लान्टबाट दैनिक १८ लाख प्याक वाइवाई उत्पादन हुन्थ्यो । अब यो क्षमता चार गुणाले बढेर दैनिक ८० लाख प्याक पुगेको छ ।
भारतको उत्तरपूर्वी भागमा वाईवाईले बजारको ६५ प्रतिशत हिस्सा ओगटेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत जीपी शाहले तीन महिना अघि कोलकत्ताबाट प्रकासित हुने टेलिग्राफलाई जानकारी दिएका थिए । भारतमा १३ अर्ब भारुको चाउचाउ बजार भएको र त्यसको १६ प्रतिशत हिस्सा वाईवाईसँग रहेको जानकारी पनि टेलिग्राफले दिएको छ ।
चौधरीले अर्को एउटा प्रसङ्गमा नबिल बैंकको सेयर खरिद गरेको प्रसङ्ग पनि उल्लेख गरेका छन्, उनले लेखेका छन्, अरब बैंकको सेयर किन्न घुमाउरो बाटो प्रयोग ग¥योभनेर विरोधीहरूले लगाएको आरोप शत्प्रतिशत गलत थिएन । मलाई घुमाउरो बाटो हिँड्न बाध्य पारेको यहाँकोसिस्टमले नै हो । कहिलेकाहीँ सही काम गर्न ऐन र नियम अपुरो छ वा बाधक छ भने तिनलाई पछाडि छोड्नु नै उद्यमीको साहसको परिचय हो ।

अरु यी प्रसङ्ग पनि छन्
चौधरीको परिचय
एसएलसीमा बोर्ड पाँचौं भएका विनोद चौधरीले पारिवारिक कपडा व्यापारको घेरोबाट बढेर डिस्को खोले । एल्बम निकाले । फिल्म बनाए । वाइवाइ उत्पादन थाले । उनको चौधरी गु्रप अहिले बैंक, बिमा, फाइनान्स र हाउजिङदेखि सफ्ट ड्रिङ्क, बियर, चुरोट, खाद्यवस्तु र इलेक्ट्रोनिक सामग्री उत्पादनसम्म फैलिएको छ । उनले निजी क्षेत्रको पहिलो औद्योगिक पार्क ‘गंगादेवी चौधरी उद्योग ग्राम’ स्थापना गरेका छन् ।
चौधरीले विदेशीसँगको साझेदारीमा दक्षिण तथा दक्षिणपूर्वी एसिया र मध्यपूर्वका होटल, रियलस्टेट र उत्पादनमूलक क्षेत्रमा लगानी गरेका छन् । भारतको ताज गु्रप र थाइल्यान्डको इनभिजनसँग संयुक्त लगानी गरेका छन् । शाही परिवार, प्रधानमन्त्री तथा नेताहरूदेखि प्रभावशाली विदेशी व्यवसायीहरूसम्मको उनको नालीबेली सम्बन्ध चाखलाग्दो छ । यो आत्मकथा विनोद चौधरी सँगसँगै नेपालको एक अग्रणी व्यापारिक घराना चौधरी गु्रपको आरोह–अवरोहको गाथा हो ।

राजपरिवारसँगको लफडा
‘विनोद, मैले एपोलो स्टिलको सेयर गोल्छालाई दिने निर्णय गरेँ ।’
कोठाका सबै मैतिर फर्के । सायद उनीहरू मेरो मुखबाट ‘हवस् सरकार’ भन्ने जवाफको प्रतीक्षामा थिए ।
‘सरकार, हजुर यस्तो कसरी गर्न सकिबक्सिन्छ ?’
जवाफ सुनेर अधिराजकुमारी प्रेक्षा र उहाँका सहयोगीहरू मलाई सुलुत्तै निलुँलाजस्तो गरी आँखा ठुल्ठूलो पारेर हेर्न थाले ।
‘किन गर्न सक्दिनँ ?’ उहाँले हकार्ने लवजमा भन्नुभयो ।
‘सरकार, यो उद्योगमा मेरो ५१ प्रतिशत सेयर छ, कान्छा सरकार (धीरेन्द्र) लाई दिएको ४९ प्रतिशत सेयर पनि मौसुफले देखाइबक्सेको सदासयका कारण दिएको हुँ, मौसुफ कसरी एकैचोटि जसलाई पायो त्यसलाई सामेल गराउन सकिबक्सिन्छ ?’
‘ह्वाट,’ उहाँले जुरुक्क उठेर झोक्किँदै भन्नुभयो, ‘सो यु आर गोइङ टु डिसअबे माई अर्डर ?’
प्रेक्षासँगै उहाँका सहयोगीहरू सबै कुर्सीबाट उठे । हामी पनि उठ्यौं ।
‘म चाहेर पनि मौसुफको आदेश पालना गर्न सक्दिनँ सरकार ।’
‘ह्वाट डु यु मिन ?’
उहाँ फेरि कुर्सीमा बस्नुभयो । सबै बसे । हामी उभिरह्यौं ।
‘सरकार, मैले यो उद्योग चलाउन बैंकबाट ऋण लिएको छु । बैंकले मेरै नाममा ऋण दिएको छ ।’
‘सो ह्वाट ?’ उहाँले अनुहार रातो पार्नुभयो ।
बुवा तर्सिनुभएछ । हात समातेर मलाई रोक्न खोज्नुभयो । म रोकिइनँ ।

जनमत संग्रहलार्इ सहयोग
२०३६ सालको जनमत संग्रह घोषणापछि प्रधानमन्त्री सूर्यबहादुर थापाबाट बुवालाई बोलावट आयो । हामी बाबुछोरा प्रधानमन्त्री निवास पुग्यौं । ‘सरकारबाट जनमत संग्रह घोषणा भएको छ,’ प्रधानमन्त्रीले भन्नुभयो, ‘मैले जसरी पनि चुनाव गराएर सुधारिएको पञ्चायतलाई जिताउनुछ ।’
‘हामीले के गर्नुप¥यो प्रधानमन्त्रीज्यू ?’ बुवाले सोध्नुभयो ।
‘चुनाव गराउन पैसा चाहिन्छ । तपाईंले सहयोग गर्नुप¥यो ।’
राजनीतिक दाउपेच नबुझ्ने हामीजस्तो साधारण व्यापारीले व्यवस्था परिवर्तनको कति गहिरो खेलमा प्रयोग हुन गइरहेथ्यौं भन्ने अनुमानै लाएनौं । यत्तिमात्र सोचाइ आयो, सरकारको निम्ति काम गर्न पाउनु भनेको उद्योग व्यवसायको अनन्त अवसर खुल्नु हो । सूर्यबहादुरजीले अरू चार–पाँचजना व्यापारीलाई यसैगरी डाकेर सहयोग माग्नुभयो । करिब डेढ करोड रुपैयाँ जम्मा भयो, जुन पञ्चायतलाई जिताउने चुनावी अभियानमा खर्च गरियो ।
जनमत संग्रहमा सुधारिएको पञ्चायत विजयी भएपछि मैले आफ्नो अनुभव र ज्ञानका आधारमा सूर्यबहादुरजीसँग तीनवटा कुरा मागेँ ।

दरवारको हिस्सा
पैसा लगाउने हामी । काम गर्ने हामी । स्वामित्व हुन्थ्यो दरबारको । उनीहरू आफ्नो हिस्सा आफैं तोक्थे । बचेको हिस्सा हाम्रा लागि ‘निगाहा बक्स’ हुन्थ्यो । त्यतिखेर चलेको दर थियो, ४९:५१ । अर्थात्, लगानी गर्नेको भागमा ४९ प्रतिशत, दरबारलाई ५१ ।

Share this Story

   

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Pvt. Ltd. All Rights Reserved.
Ncell