काठमाडौं। आफ्ना पूर्व अडानहरुबाट पछि हट्दै एनसेलले पुँजीगत लाभकर तिर्ने प्रक्रियामा लचिलो हुने संकेत गरेको छ।
पुँजीगत लाभकर तिर्ने प्रक्रियाको एक महत्वपूर्ण कडिका रुपमा रहेको आयकर ऐनको दफा ५७ अनुसार विवरण र कर बुझाउने प्रतिवद्धतासहित एनसेलले ठूला करदाता कार्यालयमा ५० करोड रुपैयाँ बुझाएको छ।

यसअघि एनसेलले टेलियालाई भएको लाभका रुपमा करिव दश अर्व रुपैयाँ ठूला करदाता कार्यालयमा बुझाइसकेको छ। करको दवाव र सार्वजनिक रुपमा आलोचना झेलेपछि नेपालमा लाभकर लाग्दैन भन्ने आफ्नो पूर्व अडानबाट पछि हड्दै एनसेलले कर बुझाएको थियो।
दफा ५७ के हो?
एनसेलले अहिले दफा ५७ अनुसार ५० करोड रुपैयाँ बुझाएको हो। दफा ५७ को अर्थ हो एनसेलले आफ्नो स्वामित्व परिवर्तन भएको छ भन्ने स्वीकार गर्नु।
टेलियाले एनसेलमा ८० प्रतिशत नियन्त्रण गर्ने सेन्ट किट्स एण्ड नेभिसमा रहेको रेनल्ड होल्डिङको सेयर एक्जियटालाई एक खर्व ४४ अर्व रुपैयाँमा विक्रि गरेको थियो।
दफा ५७ मा नियन्त्रणमा परवर्तनको व्यवस्था गरिएको छ। त्यसमा भनिएको छ, कुनै निकायको बिगत तीन वर्ष अघिसम्मको स्वामित्वको तुलनामा ५० प्रतिशत वा सोभन्दा बढी स्वामित्व परिवर्तन भएमा सो निकायले आफ्नो स्वामित्वको सम्पत्ती वा आफूले बहन गरेको दायित्वको निसर्ग गरेको मानिनेछ।
दफा ५७ अनुसार कम्पनी आफैले सम्पत्तीको मूल्यांकन गरेर लगानीलाई घटाएपछि हुने लाभको २५ प्रतिशत कर तिर्नुपर्छ। त्यसका लागि एनसेलले गत आर्थिक वर्षका लागि दुई वटा व्यालेन्ससिट समेत तयार गर्नुपर्छ।
एनसेलको सेयर स्वामित्व चैत २८ गते हस्तान्त्रण भएको थियो। यसैलाई आधार मानेर चैत २८ गतेसम्मको एउटा व्यालेन्ससिट र त्यसयता बाँकी आर्थिक वर्षका लागि अर्को व्यालेन्ससिट तयार गर्नुपर्छ।
एनसेललाई जरिवाना लाग्ने
आयकर ऐनअनुसार कारोवार भएको तीन महिना भित्र दफा ५७ अनुसारको विवरण तथा कर सरकारलाई बुझाउनुपर्छ। तर एनसेलले कारोवार भएको साढे चार महिनापछि मात्रै ठूला करदाता कार्यालयलाई विवरण र कर बुझाउने प्रतिवद्धतासहित ५० करोड रुपैयाँ बुझाएको हो।
एनसेलले यस्तो विवरण र कर दायित्व बुझाउनका लागि ठूला करदातासँग थप समय समेत मागेको छ। आयकर ऐनमा म्याद थप सम्वन्धि व्यवस्था छैन्, अब उसले विवरण र त्यसअनुसारको कर जहिले बुझाए पनि व्याज र जरिवाना लाग्छ, स्रोतले भन्यो।
थप करका लागि बाटो खुल्यो
एनसेल आफैले स्वामित्व परिवर्तन भएको स्वीकार गरेपछि ठूला करदाता कार्यालयलाई थप कर निर्धारणका लागि बाटो समेत सजिलो भएको छ। स्वामित्व परिवर्तन भएको कुरा अस्वीकार गरेको भए करले नै स्वामित्व परिवर्तन भएको स्थापित गरेर थप प्रक्रिया अघि बढाउनु पर्दथ्यो।
अब उसले आफै स्वामित्व परिवर्तन भएको स्वीकार गरेपछि लाभकर निर्धारणको बाटो समेत सजिलो भएको छ। स्वामित्व परिवर्तनको कुरा स्वीकार गरेका कारण कारोवारमा भएको लाभ पनि गणना गरेर एनसेल र कारोवार गर्ने कम्पनीका तर्फबाट लाभकर आउने अपेक्षा हामीले गरेका छौं, ठूला करदाता कार्यालय स्रोतले भन्यो।
कर कार्यालयसँग भएको तथ्यांकका आधारमा एनसेलको स्वामित्व परिवर्तनसम्वन्धी कारोवारमा करिव ३५ अर्व रुपैयाँ लाभकर बुझाउनुपर्छ। उसले यसअघि नै दश अर्व रुपैयाँ लाभकर बुझाइसकेको छ। एनसेलले बुझाएकै विवरणअनुसार पनि टेलियाका तर्फबाट अझै ६ अर्व रुपैयाँ लाभकर तिर्न बाँकी छ।