रेनल्डकै विक्रिमा ४वर्ष अघि पनि एनसेलबाट लाभकर

बिजमाण्डू
२०७३ जेठ १८ गते ००:०० | May 31, 2016
रेनल्डकै विक्रिमा ४वर्ष अघि पनि एनसेलबाट लाभकर


अहिले एनसेलमा पुँजीगत लाभकरको ठूलो विवाद छ। एनसेलको प्यारेन्ट कम्पनी रेनल्ड होल्डिङको कारोवार अफसोर भएको भन्दै नेपालमा कर नलाग्ने केही व्याक्तिको जिकिर छ। र नेपालले पहिलोपटक यस्तो कर लगाउन लागिएको दावी पनि उनीहरुको छ। तर आन्तरिक राजस्व कार्यालयले संसदीय समितिमा बुझाएको एउटा विवरणअनुसार अहिले विक्रि गरिएको त्यही रेनल्ड होल्डिङको शतप्रतिशत सेयर टेलियासोनेराले व्रिटिस भर्जिन आइल्याण्डको प्रोर्टोफिनो कम्पनीसँग किनेर एनसेलको स्वामित्व आफ्नो नाममा लिएको थियो।
त्यही रेनोल्ड विक्रि हुँदा प्रोटोफिनोले गरेको पुँजीगत लाभकर एनसेलले नै चार वर्ष अघि ठूला करदाता कार्यालयमा लगेर बुझाएको थियो। र अहिले फेरी प्रोर्टोफिनोसँग किनेको त्यही रेनल्ड होल्डिङ टेलियाबाट एक्जियटाले किन्दा लाभकर किन लाग्दैन्? प्रोर्टोफिनोलाई भएको लाभमा कर बुझाएको एनसेलले फेरी त्यस्तै कारोवारमा कसरी उन्मुक्ति पाउँछ? र उन्मुक्ति दिन मिल्छ भनेर किन दावी गरिन्छ?

Tata
GBIME
Nepal Life


 

  • विज्ञान अधिकारी/सुदर्शन सापकोटा

काठमाडौँ । २ सेप्टेम्बर २००८ (भदौ १७, २०६५) मा टेलियासोनेरा युटिए होल्डिङ बिभिएले सेन्ट किट्समा दर्ता भएको पोर्टोफिनो एशोसिएटलाई दुई करोड ६५ लाख डलर भुक्तानी गर्यो। टेलियासोनेराले 'फ्रिक्वेन्सी लेटर' शीर्षकमा यो रकम पोर्टोफिनो एशोसिएटलाई भुक्तानी दिएको थियो।
 
टेलियासोनेराको शंकास्पद कारोबार शीर्षकमा रिपोर्ट तयार गर्दा अमेरिकी अडिट फर्म मुडिज वाटरले यो भुक्तानीको प्रसङ्ग खोजेको छ। मुडिज वाटरले यो भुक्तानीको विवरण टेलियासोनेरा युटिए होल्डिङको सन् २००८ को वार्षिक वित्तीय प्रतिवेदनमा भेट्यो। प्रतिवेदनबाट पोर्टोफिनो एसोसिएट भाइजर समूहको कम्पनी भएको पत्ता लाग्यो।

 

पोर्टोफिनोलाई पहिलो भुक्तानी गरेको २४ दिनपछि २६ सेप्टेम्बर, २००८ मा टेलियासोनेराको स्वीडेन हेडक्वार्टरबाट प्रेस विज्ञप्ति आयो। प्रेस विज्ञप्तिमा भनिएको थियो, टेलियासोनेरा नेपाल तथा कम्बोडिया जस्ता उच्च सम्भावना भएका देशमा प्रवेश गर्यो। टेलियासोनेराले यसका लागि पोर्टोफिनोलाई थप ४८ करोड ४० लाख डलर भुक्तानी गरेको थियो।
 
पोर्टोफिनोसँग एनसेलको कनेक्सन

पटक पटक कारोबार भैरहेको एनसेल (तत्कालीन कम्पनी स्पाइस नेपाल)को २०६५ भदौ १ गते आइपुग्दा जम्मा दुई सेयर होल्डर थिए। यही दिन डाल्टो ट्रेडले एनसेलमा रहेको आफ्नो २० प्रतिशत स्वामित्व सेन्ट किट्सको रेनल्ड होल्डिङलाई बिक्री गरेपछि एनसेलमा ८० प्रतिशत स्वामित्व रेनल्ड होल्डिङको रह्यो भने २० प्रतिशत स्वामित्व सिनर्जी नेपालसँग भयो।

यो कारोबारका लागि डाल्टो ट्रेडले एनसेल बिक्रीमा लाभ भएको भन्दै नेपाल सरकारलाई छ करोड ४० लाख ५६ हजार सात सय रुपैयाँ पुँजीगत लाभकर तिर्यो।
 
४ जुलाई २००१ (२० असार २०५८) मा दर्ता भएको र पछि एनसेलको ८० प्रतिशत स्वामित्व ग्रहण गरेको रेनल्ड होल्डिङ कम्पनीको शतप्रतिशत स्वामित्व भने पोर्टोफिनो एशोसिएटसँग थियो। पोर्टोफिनोको स्वामित्व कजाख कम्पनी भाइजर समुहसँग थियो।
 
भदौ १ गते रेनल्डमा ८० प्रतिशत स्वामित्व पुगेको १७ दिनपछि भदौ १७ गते टेलियाले यही रेनल्ड होल्डिङ किन्नका लागि पोर्टोफिनोलाई रकम भुक्तानी दिएको थियो। दुई किस्तामा गरेर पोर्टोफिनोले टेलियासँग ५१ करोड डलर भुक्तानी लिएको थियो।
 
भुक्तानी लिएपछि रेनल्ड होल्डिङको सेयर पोर्टोफिनोबाट टेलियासोनेरा नर्वे नेपालमा सर्यो। यही सेयर किन्नका लागि स्वीडेनको कम्पनी टेलियाले २ सेप्टेम्बर, २००८ मा नर्वेमा कम्पनी स्थापना गरेको थियो।

 

अफसोरमा लाभकरको उदाहरणत्यो पनि एनसेलमै
कर विवादमा अहिले एनसेलको बचाउ गर्ने पक्षको दावी छ, नेपालले अहिलेसम्म अफसोर कारोबारमा पुँजीगत लाभकर लगाएको छैन। एनसेलको सेयर किनबेचमा मात्रै किन लगाउने? उनीहरुको तर्क छ – एनसेलको कारोवारमा पुँजीगत लाभकर लगाएर एनसेललाई 'बलीको बोको' बनाइँदैछ, नेपालको लगानीको वातावरण बिगारिँदैछ।
 
तर बिजमाण्डूलाई प्राप्त विवरणअनुसार नेपालले अफसोर कारोबारमा पुँजीगत लाभकर लिएको छ, त्यो पनि एनसेलकै कारोवारमा। र, यो कारोबारमा भएको पुँजीगत लाभमा एनसेल नै कर तिरेको छ र त्यो पनि जरिवाना र व्याजसहित।

 

२०६५ मा पोर्टोफिनोले रेनल्ड होल्डिङ टेलियालाई बिक्री गरेको थियो। यो कारोबार अहिले टेलियाले एक्जियटालाई रेनल्ड बिक्री गरेझैं पूरै अफसोर कारोबार भएको थियो। त्यही रेनल्ड होल्डिङ बिक्री गर्दा आफूलाई लाभ भएको भन्दै पोर्टोफिनोले २०६९ जेठ ३२ गते ठूला करदाता कार्यालयमा २१ करोड ७२ लाख रुपैयाँ लाभकर तिरेको थियो।
 
त्यसैगरी २०६५ देखि २०६९ सम्म एनसेलको स्वामित्व भएको रेनल्ड होल्डिङको कारोवारमा भएको लाभवापतको रकम भुक्तानी गर्न ढिला भएको भन्दै आठ करोड ९५ लाख १८ हजार रुपैयाँ जरिवाना तथा व्याजसमेत पोर्टोफिनोले भुक्तानी दिएको थियो।
 
पोर्टोफिनोलाई भएको लाभको जानकारी तथा उसलाई भएको लाभ, लाभ तिर्न ढिलाई हुँदाको जरिवाना तथा ब्याज पोर्टोफिनोको तर्फबाट एनसेलले ठूला करदाता कार्यालयमा भुक्तानी दिएको थियो। यही भुक्तानी दिंदा एनसेलले आफ्ना सेयरहोल्डरका तर्फबाट एनसेल स्थापनाका लागि अहिलेसम्म १० करोडको चुक्ता पुँजीसहित एक अर्व ३१ करोड खर्च भएको जानकारी दिएको थियो।
 
ब्रिटिस भर्जिन आइल्याण्डमा दर्ता भएको पोर्टोफिनो (पो.ब.न. ३४३) ले टेलियासोनेरा नेपाल होल्डिङ नर्वेलाई बिक्री गरेको अफसोर कम्पनी रेनल्ड होल्डिङ अहिले फेरि टेलियासोनेराले एक्जियटा युके लिमिटेडलाई बिक्री गरेको हो। त्यही कारण अहिलेको कारोबार पनि करबाट मुक्त हुनै नसक्ने तर्क कर अधिकृतहरुको छ।
 
कर अधिकृतहरुले २०६९ जेठ ३२ मा ठूला करदाता कार्यालयमा एनसेलले आफ्ना सेयरधनीका तर्फबाट बुझाएको पुँजी संरचनामा त्यसपछि परिवर्तन नभएको बताउँछन्। त्यसैकारण एक खर्व ४४ अर्ब रुपैयाँमा टेलियाले रेनल्ड होल्डिङलाई बिक्री गर्दा एक अर्ब ३१ करोड कटाएर बाँकी रकम लाभकर हुने जिकिर कर अधिकारीहरुको छ।

 

तर वैशाख २६ गते ठूला करदाता कार्यालयमा एनसेलले आफ्ना सेयरधनीका तर्फबाट विवरण बुझाउँदै एनसेल खरिद गर्दा ७८ अर्ब रुपैयाँ खर्च देखाएको छ। त्यही खर्चलाई घटाएर हुने ६६ अर्ब लाभमा एनसेलले टेलियाबाट अग्रिम कर कट्टी गरेर नौ अर्ब ९६ करोड ९५ लाख रुपैयाँ लाभकर ठूला करदाता कार्यालयमा बुझाएको छ।
 
एनसेलले बुझाएको विवरणको आधार पुष्टि गर्न आग्रह गर्दै अहिले ठूला करदाता कार्यालयले एनसेललाई १५ दिने म्यादसहितको पत्र लेखेको छ। तर अहिलेसम्म एनसेलले करलाई जवाफ भने फर्काइसकेको छैन्। यस्तो कारोवारमा आयकर ऐन २०५८ ले विवरण बुझाउने र लाभकर्ताका तर्फबाट अग्रिम कर कट्टा गरेर बुझाउने जिम्मा सम्बन्धित कम्पनीलाई दिएको छ।
 
नर्वेसँगको दोहोरो कर पनि आकार्षित हुँदैन्
एनसेलको सेयर खरिद विक्रि प्रकरणमा जोडिएको अर्को विषय हो नेपाल र नर्वेवीच भएको दोहोरो कर उन्मुक्तिको सम्झौता। यो कारोवारमा दोहोरो कर उन्मुक्ति सम्झौता लागू हुने र कर टेलियाले नेपालमा होइन नर्वेमा तिर्ने दावी पनि गरिएको छ।
 
तर नर्वेसँग गरिएको दोहोरो कर उन्मुक्ति सम्झौताको बुँदा नम्वर १ मै भनिएको छ, यो सम्झौतामा हस्ताक्षर गर्ने नेपाल र नर्वे कुनै एक वा दुवै देशको बासिन्दा व्याक्ति भए मात्रै सम्झौता लागू हुन्छ।
 
रेनल्ड होल्डिङको सेयर बेच्ने टेलियासोनेरा नर्वे नेपाल होल्डिङ नर्वेमा दर्ता भए पनि त्यो त्यहाँको वासिन्दा कम्पनी भने होइन्। बासिन्दा व्याक्ति हुनका लागि त्यो कम्पनीमा नर्वे वा नेपाली नागरिकसँग कम्तिमा पनि ५१ प्रतिशत सेयर स्वामित्व हुनुपर्छ। सन् ८ सेप्टेम्वर २००८ मा नर्वेको कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको टेलियासोनेरा नर्वे नेपाल होल्डिङको शतप्रतिशत स्वामित्व नेदरल्याण्डका दुई कम्पनीसँग छ। यो कम्पनीको शतप्रतिशत सेयरमध्ये नेदरल्याण्डको टेलिया सोनेरा एशिया होल्डिङसँग ७५ दशमलव ४५ प्रतिशत तथा बाँकी २४ दशमलव ५५ प्रतिशत सेयर नेदरल्याण्डमै दर्ता भएको अर्को कम्पनी एसईए टेलिकम इनेभेष्टमेन्ट बीभीसँग छ।
 
टेलियासोनेरा नर्वे नेपाल होल्डिङ नर्वेको बासिन्दा कम्पनी नभएका कारण दोहोरो कर उन्मुक्तिको सम्झौता समेत लागू नहुने कर अधिकृतहरुको तर्क छ।