काठमाडौं । ग्लोबल आईएमई–कमर्ज तथा सिभिल–एक्सिसको मर्ज प्रक्रिया फागुन अन्तिमसम्म सक्ने गरी तयारी भैरहेको छ । ग्लोबल आईएमई बैंक र कमर्ज एण्ड ट्रष्ट बैंकको मर्ज प्रक्रिया फागुन मसान्त अघि नै सक्ने तयारी छ भने सिमिल बैंक–एक्सिस विकास बैंक–सिभिल मर्चेन्ट वित्तीय संस्थावीचको मर्ज पनि फागुनमै टुङ्ग्याउने गरी काम अघि बढेको मर्ज प्रक्रियामा संलग्न स्रोतहरुले जानकारी दिएका छन् ।
.JPG)
फागुन भित्रै दुई÷चार दिनको अन्तरमा एकीकृत भएर दुवै बैंकले कारोवार थाल्नेछन्, स्रोतले भन्यो । गत साता मात्रै साधरणसभा गरेको ग्लोबल र सिभिल बैंकले आफ्नो वार्षिक प्रतिवेदनमा पनि मर्जलाई प्राथमिकता साथ उठाएका छन् । सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ्गले तीन संस्थावीच मर्जको प्रक्रिया दु्रत गतिमा अघि बढेको जानकारी दिएका छन् । उनले मर्जपछि सिभिल बैंक ठूलो चुक्ता पुँजी हुने बैंकहरुमध्ये एक हुने जानकारी पनि साधरणसभा दिएका छन् ।
ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले मर्ज प्रक्रिया तीव्र रुपमा अघि बढेको जानकारी दिए । अहिले नै निश्चित मिति किटान गर्न सकिंदैन् तर छिटोभन्दा छिट्टो प्रक्रिया टुङ्गयाउने गरी हामीले काम गरिरहेका छौं, उनले भने । मर्ज गर्न दुवै समूहले नेपाल राष्ट्र बैंकबाट प्रारम्भिक स्वीकृती पाइसकेका छन् भने केन्द्रिय बैंकलाई दुवै समूहले आफ्नो प्रिजेन्टेशन पनि दिएका छन् ।
फागुनमा एकीकृत कारोवार गर्न दुवै समूहले माघ मसान्तसम्म साधरणसभाको सूचना जारी गर्नुपर्दछ । १५ दिनको सूचनामा साधरणसभा बोलाएपछि फागुन दोस्रो सातासम्म त्यही साधरणसभाबाट एकीकृत कारोवारका लागि सेयरधनीबाट अनुमति प्राप्त हुनेछ ।
मर्जका लागि सिभिल बैंकमा कर्मचारीको पद मिलान र मोटामोटी स्वाप रेसियो पनि तयार भैसकेको छ । स्रोतले दिएको जानकारीअनुसार सिभिल बैंकमा एक्सिस विकास बैंक र सिभिल मर्चेन्ट वित्तीय संस्था एक सय रुपैयाँको अनुपातमा ७९ रुपैयाँमा मर्ज हुनेछन् । अर्थात एक्सिस र सिभिल मर्चेन्ट वित्तीय संस्थाका सेयरधनीसँग सय कित्ता सेयर छ भने मर्जपछि ७९ कित्ता सेयर हुनेछ । मोटामोटी मर्जको अनुपात यही हो, कम भए ७८ सम्म रहला बढी भए ८० पुग्ला यहाँभन्दा धेरै फरक पर्दैन्, प्रक्रियामा संलग्न स्रोतले जानकारी दियो ।
.JPG)
सिभिल बैंकसँग अहिले दुई अर्ब रुपैयाँको चुक्ता पुँजी छ भने सिभिल मर्चेन्टसँग १६ करोड ६५ लाख तथा एक्सिससँग ७१ करोड ८१ लाख रुपैयाँ पुँजी छ । मर्जपछि बन्ने बैंकको चुक्ता पुँजी दुई अर्ब ९० करोड रुपैयाँ पुग्छ । त्यस्तै शाखा संख्या पनि ३२ पुग्छ । सिभिलले गत वर्ष ८० करोड रुपैयाँ बराबरको प्राथमिक सेयर जारी गरेर चुक्ता पुँजी दुई अर्ब पुर्याएको थियो ।
स्टक एक्सचेन्जमा कारोवार बन्द हुने अघि एक्सिसको सेयर प्रतिकित्ता ८० रुपैयाँ र सिभिल बैंकको सेयर प्रतिकित्ता एक सय ३९ रुपैयाँको कारोबार भएको थियो । गत आर्थिक वर्षको प्रकाशित वित्तीय विवरण अनुसार सिभिलले १२ करोड १२ लाख र एक्सिसले दुई करोड तीन लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेका थिए । हाल सिभिलको मुख्य कार्यालय र १९ वटा शाखा छन् । एक्सिसको मुख्य कार्यालय र १० वटा शाखा छन् । सिभिलका मुख्य कार्यालयसहित तीन वटा शाखा छन् ।
मर्ज हुने विषयमा सिभिल बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष इच्छाराज तामाङ, एक्सिस डेभेलपमेन्ट बैंकका विदुर धमला र सिभिल मर्चेन्ट वित्तीय सस्थाका तर्फबाट सञ्चालक अरुण श्रेष्ठले संझैता पत्रमा हस्ताक्षर गरेका छन् । उता मर्जपछि पनि ग्लोबल आईएमई नाम रहने यो बैंक चुक्तापूँजीका आधारमा दोस्रो ठूलो बैंक बन्नेछ । हाल सरकारी स्वामित्वका बैंक छोडेर हेर्दा नेपाल इन्भेष्टमेन्ट बैंकको सबैभन्दा धेरै चार अर्ब १४ करोडको चुक्ता पुँजी छ । उता कमर्जसँग मर्जअघि ग्लोबलले १५ प्रतिशत बोनस सेयर वितरण गरेको छ, बोनस वितरणपछि ग्लोबलको चुक्ता पुँजी दुई अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । ग्लोबलसँग कमर्ज सय रुपैयाँ बराबर ६५ रुपैयाँको अनुपातमा मर्ज हुन लागेको हो । दुई अर्ब रुपैयाँ चुक्ता पुँजी भएको कमर्जको सेयर मर्जपछि एक अर्ब ३० करोडमा झर्नेछ । त्यसपछि मर्ज हुँदा बैंकको चुक्ता पुँजी चार अर्ब आठ करोड रुपैयाँ पुग्नेछ । मर्जपछि ग्लोबल आईएमई बैंकको शाखा संख्या झण्डै ९० को हाराहारीमा पुग्नेछ । ग्लोबलका अहिले ७३ वटा शाखा छन् भने कमर्जका १५ वटा शाखा छन् । दुवै बैंकका एकै स्थानमा आधा दर्जन शाखा छन्, ती शाखा स्तान्तरण नगरी बन्द गरिने समझदारी भएको छ ।











