
काठमाडौं। औद्योगिक प्रदर्शनी वर्ष-वर्ष निश्चित समय तोकेर गरिन्छ। तर, काठमाडौंको भृकुटीमण्डपमा बाह्रैमास कुनै न कुनै नाममा जुत्ता-चप्पल मेला भइरहेकै देखिन्छ। यस्तो बाह्रमासे मेलाले औद्योगिक तथा व्यापारिक प्रदर्शनीको महत्त्व घटाएको फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालले जनाएको छ।
जुत्ताचप्पल व्यवसायीहरूको छाता संगठनले भृकुटीमण्डपमा सधैंभर मेलाका रूपमा जुत्ताचप्पल बिक्री वितरण आयोजना गर्दा औद्योगिक प्रदर्शनीमा आँच आएको जनाएको छ। एसोसिएसनका अध्यक्ष नानीराज घिमिरेले विज्ञप्ति जारी गर्दै मेलाका नाममा बाह्रैमास जुत्ताचप्पल बिक्री वितरण गर्दा औद्योगिक प्रदर्शनीको महत्व घटेको बताएका हुन्।
'स्वदेशी जुत्ता प्रदर्शनीका नाममा भृकुटीमण्डपमा केही व्यवसायीले बाह्रैमास जुत्ता मेलाको नाममा व्यवसाय गरिरहेका छन्, यसले औद्योगिक प्रदर्शनमा समेत ठूलो असर पुगेको छ,' जारी विज्ञप्तिमा भनिएको छ।
फुटवेयर एसोसिएसनले व्यवसायीहरुलाई समेटेर वर्षको दुईपटक काठमाडौंमा जुत्ताचप्पल मेला र एकपटक अन्तर्राष्ट्रियस्तरको औद्योगिक प्रदर्शन गर्दै आएको छ। एसोसिएसनको नाम जोडेर सधैंभर भृकुटीमण्डपमा जुत्ता मेला आयोजना गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ।
एशोसिएशनले स्वदेशी उत्पादनको प्रवर्द्धन गर्न आम उपभोक्ताका बीचमा आफ्ना उत्पादन परिचित गराउने, उपभोक्ताको सुझाव र प्रतिक्रिया प्राप्त गर्दै आफ्ना उत्पादनलाई अझ परिस्कृत गर्दै लैजान स्वदेशी उत्पादनको प्रदर्शन गर्ने मुख्य उद्देश्यका साथ औद्योगिक प्रदर्शनी आयोजना गर्दै आए पनि केही व्यवसायीले यसलाई दुरुपयोग गरेको बताएको छ। यस्ता मेलामा एसोसिएसनको कुनै सहभागिता नरहेको समेत अध्यक्ष घिमिरेले बताए।
एसोसिएसनले आफ्ना सदस्यबाट नै सहमतिविपरीत यस्ता गलत कार्य गरेको भन्दै कारबाही गर्नेसमेत चेतावनी दिएको छ। आफ्नो संस्थाको आधिकारिक व्यवस्थामा सञ्चालन हुने मेला महोत्सवबाहेक अन्य मेलामा बिक्री वितरणलाई एउटै नजरले नहेर्न र भ्रममा नपर्न सबै उपभोक्तालाई अपिलसमेत गरेको छ।