बचत तथा ऋण सहकारी संस्थाहरूको वित्तीय कारोबार विस्तारसँगै तिनको नियमन तथा सुपरिवेक्षण कसरी गर्ने भन्ने विषय विश्वव्यापी रूपमा महत्त्वपूर्ण बन्दै गएको छ। सदस्यको बचत संकलन गर्ने, कर्जा प्रवाह गर्ने, तरलता व्यवस्थापन गर्ने र वित्तीय दायित्व पूरा गर्ने संस्थाहरूलाई प्रभावकारी नियमनको दायरामा राख्नु आवश्यक हुन्छ। तर यस्तो नियमन गर्दा सहकारीको सदस्यकेन्द्रित चरित्र, लोकतान्त्रिक नियन्त्रण, स्वायत्तता र पारस्परिक सहयोगको सिद्धान्तलाई पनि सुरक्षित राख्नुपर्छ।
नेपालमा सहकारीको नियमन तथा सुपरिवेक्षण संघ, प्रदेश र स्थानीय तहमा विभाजित छ। सहकारी ऐन, २०७४ तथा त्यसपछिका संशोधन र राष्ट्रिय सहकारी नियमन प्राधिकरणको स्थापनाले नियमनको संरचनामा महत्त्वपूर्ण परिवर्तन ल्याएका छन्। तथापि दर्ता अधिकारी, नियामक निकाय, संस्थागत क्षमता, वित्तीय कारोबारको आकार र सुपरिवेक्षणको प्रभावकारिता बीच अझै स्पष्टता तथा समन्वय आवश्यक छ।
मन्त्रालयबाट प्रकाशित बचत तथा ऋण सहकारी नियमन तथा सुपरिवेक्षणसम्बन्धी अवधारणापत्रले पनि दोस्रो तहको नियामक निकाय, स्वायत्तता, नियामकीय अधिकार, संस्थागत पुनर्संरचना र वित्तीय जोखिम व्यवस्थापनको आवश्यकता औँल्याएको छ। त्यसैगरी समग्र सहकारी कानुनको संशोधन र एकीकरणसम्बन्धी अवधारणाले सहकारीको प्रवर्धन तथा वित्तीय कारोबारको नियमनलाई फरक कानुनी आधारबाट व्यवस्थित गर्नुपर्ने विषय उठाएको छ। यस सन्दर्भमा बचत तथा ऋण सहकारीको नियमनका लागि प्रचलित तीनवटा सैद्धान्तिक संरचना : अटोमिक मोडेल, इन्टिग्रेटेड मोडेल र फेडरेटेड मोडेल कुन चयन गर्ने भन्ने ज्यादै महत्त्वपूर्ण छ।
अटोमिक मोडेल : प्रत्येक संस्थाको छुट्टाछुट्टै प्रत्यक्ष नियमन
यो मोडेलमा प्रत्येक बचत तथा ऋण सहकारी संस्थालाई छुट्टै वित्तीय संस्था वा नियमनको एकाइका रूपमा लिइन्छ। नियामक निकायले प्रत्येक संस्थाको वित्तीय अवस्था, कारोबार, जोखिम, पुँजी, तरलता, कर्जा गुणस्तर र सुशासनको प्रत्यक्ष निगरानी गर्छ। यस मोडेलमा नियमनको केन्द्रबिन्दु एउटा संस्था हुन्छ। एउटा संस्थाको वित्तीय अवस्था अर्को संस्थाको अवस्थाबाट स्वतन्त्र रूपमा मूल्यांकन गरिन्छ। प्रत्येक संस्थाले नियामक निकायमा आफ्नो वित्तीय विवरण, जोखिमसम्बन्धी सूचना र अन्य आवश्यक प्रतिवेदन बुझाउनुपर्छ।
प्रत्येक संस्थाको छुट्टाछुट्टै नियमन र सुपरिवेक्षण, संस्थागत वित्तीय विवरणको प्रत्यक्ष परीक्षण, न्यूनतम पुँजी, तरलता र कर्जा गुणस्तरका मापदण्ड, संस्थाको जोखिमअनुसार निरीक्षण तथा सुधारात्मक निर्देशन, नियम उल्लंघन गर्ने संस्थालाई प्रत्यक्ष कारबाही, नियामक निकाय र सहकारी संस्थाबीच प्रत्यक्ष सम्बन्ध यस ढाँचाका विशेषता हुन्। नियामकले संस्थाको आकार, कारोबार, जोखिम र सदस्य संख्याका आधारमा नियमनको गहनता निर्धारण गर्न सक्छ। ठूला तथा उच्च जोखिम भएका संस्थामा नियमित अनसाइट निरीक्षण र साना संस्थामा तुलनात्मक रूपमा कम खर्चिलो अफसाइट सुपरिवेक्षण गर्न सकिन्छ।
यस ढाँचाको प्रमुख फाइदा नियामकीय जिम्मेवारी स्पष्ट हुनु हो। कुनै संस्थामा वित्तीय समस्या देखिएमा त्यसको जिम्मेवारी कसले लिने भन्ने विषयमा अन्योल हुँदैन। नियामकले संस्थाको वास्तविक वित्तीय अवस्था प्रत्यक्ष बुझ्न सक्छ। समस्याग्रस्त संस्था पहिचान, सुधारात्मक निर्देशन, व्यवस्थापन हस्तक्षेप र आवश्यक कारबाही गर्न सहज हुन्छ। साथै संस्थाहरूबीच वित्तीय अनुशासन र समान नियामकीय मापदण्ड कायम गर्न सकिन्छ। सदस्यको बचत सुरक्षाका लागि पनि यसले प्रत्यक्ष नियामकीय आधार प्रदान गर्छ भने मुख्य चुनौती लागत र संस्थागत क्षमतासँग सम्बन्धित छ।
हजारौँ सहकारी संस्थालाई छुट्टाछुट्टै प्रत्यक्ष सुपरिवेक्षण गर्न ठूलो संख्यामा दक्ष जनशक्ति, प्रविधि, बजेट र भौतिक संरचना आवश्यक पर्छ। नेपालमा रहेका सबै बचत तथा ऋण सहकारीको प्रत्यक्ष निरीक्षण एउटै केन्द्रीय निकायबाट गर्ने हो भने नियामकको कार्यभार अत्यधिक बढ्न सक्छ। साना संस्थालाई पनि ठूला संस्थासरह समान अनुपालन लागत लगाउँदा तिनको संचालन खर्च बढ्न सक्छ। त्यसैले अटोमिक मोडेलमा जोखिममा आधारित र अनुपातिक नियमनको व्यवस्था अत्यन्त महत्त्वपूर्ण हुन्छ।
इन्टिग्रेटेड मोडेल : एउटै नियामकीय संरचनाबाट एकीकृत नियमन
इन्टिग्रेटेड मोडेलमा बचत तथा ऋण सहकारीको नियमन, सुपरिवेक्षण, निरीक्षण, वित्तीय प्रतिवेदन विश्लेषण र सुधारात्मक कारबाहीको अधिकार एउटै एकीकृत नियामकीय संरचनाभित्र राखिन्छ। यस मोडेलको मूल मान्यता भनेको वित्तीय कारोबार गर्ने संस्थाको नियमनका लागि छुट्टाछुट्टै र खण्डित संरचना निर्माण गर्नुभन्दा एकीकृत, व्यावसायिक र अधिकारसम्पन्न नियामक निकाय स्थापना गर्नु हो।
यसमा सहकारी संस्थाको दर्ता, प्रवर्धन र सदस्यकेन्द्रित शासनको जिम्मेवारी सम्बन्धित सहकारी निकायमा रहन सक्छ। तर, वित्तीय कारोबारको अनुमति, पुँजी, तरलता, जोखिम व्यवस्थापन, निरीक्षण र वित्तीय स्थायित्वसम्बन्धी अधिकार एकीकृत नियामक निकायमा केन्द्रित हुन्छ। यस मोडेलमा नियामक निकायले सबै संस्थाका लागि समान आधारभूत मापदण्ड निर्धारण गर्छ र संस्थाको प्रकृति तथा जोखिमअनुसार फरक सुपरिवेक्षण रणनीति अपनाउँछ।
एउटै केन्द्रीय वा विशिष्टीकृत नियामक निकाय, वित्तीय नियमन तथा सुपरिवेक्षणको एकीकृत अधिकार, एकीकृत प्रतिवेदन र सूचना प्रणाली, एउटै वित्तीय मापदण्ड र नियामकीय निर्देशिका, जोखिममा आधारित सुपरिवेक्षण, संस्थागत सुधार तथा कारबाहीका लागि स्पष्ट अधिकार र वित्तीय स्थायित्व र सदस्यको बचत सुरक्षामा केन्द्रित कार्यप्रणाली हो। यस मोडेलको सबैभन्दा ठूलो फाइदा नियमनमा एकरूपता हो। देशभरका बचत तथा ऋण सहकारी संस्थाले एउटै आधारभूत वित्तीय मापदण्ड पालना गर्नुपर्ने हुन्छ। यसले प्रदेश तथा स्थानीय तहअनुसार नियमनको गुणस्तरमा देखिने भिन्नता घटाउन मद्दत गर्छ।
एकीकृत सूचना प्रणालीले संस्थाहरूको वित्तीय अवस्था, कर्जा जोखिम, तरलता र पुँजी पर्याप्तताको तुलनात्मक विश्लेषण गर्न सहयोग पुर्याउँछ। यसले वित्तीय जोखिमको प्रारम्भिक पहिचान र समयमै सुधारात्मक हस्तक्षेप गर्न सहज बनाउँछ। अर्को महत्त्वपूर्ण पक्ष भनेको नियामकीय जवाफदेहिता हो। नियमनका लागि जिम्मेवार निकाय स्पष्ट हुने भएकाले संस्थागत कमजोरी वा नियामकीय असफलताको मूल्यांकन गर्न सहज हुन्छ। नेपालको सन्दर्भमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणलाई स्वायत्त, सक्षम र अधिकारसम्पन्न बनाउने प्रस्ताव यस मोडेलसँग धेरै हदसम्म मेल खान्छ।
एकीकृत मोडेलमा अत्यधिक अधिकार एउटै निकायमा केन्द्रित हुने जोखिम रहन्छ। नियामक निकायमा राजनीतिक हस्तक्षेप, प्रशासनिक ढिलासुस्ती वा संस्थागत क्षमता कमजोर भएमा सम्पूर्ण नियमन प्रणाली प्रभावित हुन सक्छ। त्यस्तै, सबै प्रकारका सहकारी संस्थालाई एउटै नियामकीय दृष्टिकोणबाट हेर्ने प्रवृत्ति विकास भएमा सहकारीको विविधता र सदस्यकेन्द्रित चरित्र कमजोर हुन सक्छ। नियमन र सहकारी प्रवर्धनको जिम्मेवारीबीच स्पष्ट विभाजन भएन भने स्वायत्तता र नियामकीय प्रभावकारिताबीच द्वन्द्व उत्पन्न हुन सक्छ। त्यसैले इन्टिग्रेटेड मोडेलमा स्वतन्त्र संचालक संरचना, व्यावसायिक जनशक्ति, पारदर्शी नियुक्ति प्रक्रिया, नियामकीय जवाफदेहिता र प्रभावकारी गुनासो सुनुवाइ प्रणाली आवश्यक हुन्छ।
फेडरेटेड मोडेल : नियमनमा संघीय सञ्जाल र साझा जिम्मेवारी
यो मोडेल बचत तथा ऋण सहकारीको नियमन तथा सुपरिवेक्षणका लागि सहकारीको आफ्नै संघीय संरचना र नेटवर्कलाई उपयोग गर्ने अवधारणा हो। यसमा केन्द्रीय नियामक निकायले नीति, मापदण्ड, इजाजत, जोखिम सीमा र नियामकीय निर्देशन निर्धारण गर्छ। तर, नियमित सुपरिवेक्षण, संस्थागत मूल्यांकन, प्राविधिक सहयोग, अनुपालन अनुगमन र प्रारम्भिक जोखिम पहिचानको केही जिम्मेवारी सहकारीका संघीय वा छाता संगठनलाई प्रदान गर्न सकिन्छ। यसरी नियामक निकाय र सहकारी संघहरूबीच कार्यविभाजन तथा संस्थागत साझेदारी हुन्छ।
यो मोडेलको महत्त्वपूर्ण पक्ष सहकारीको दोस्रो तथा तेस्रो तहको संरचनालाई नियमन तथा सुपरिवेक्षणको सहयोगी प्रणालीका रूपमा विकास गर्नु हो। उदाहरणका लागि एउटा केन्द्रीय सहकारी संघले आफ्ना सदस्य संस्थाहरूको वित्तीय विवरण संकलन, विश्लेषण, संस्थागत मूल्यांकन, जोखिम पहिचान र सुधारात्मक सुझाव दिन सक्छ। तर, अन्तिम नियामकीय अधिकार र कानुनी कारबाही गर्ने जिम्मेवारी राज्यको नियामक निकायमै रहन्छ।
केन्द्रीय नियामक निकाय र सहकारी संघबीच जिम्मेवारी विभाजन, सहकारीका संघीय संरचनाको उपयोग, नियमित सुपरिवेक्षणमा संघहरूको सहभागिता, सदस्य संस्थाको वित्तीय तथा संस्थागत अवस्था मूल्यांकन, प्राविधिक सहयोग, तालिम र क्षमता विकास, नियामक निकायको मापदण्डअनुसार संघद्वारा अनुगमन र जोखिम पहिचान र सुधारात्मक कार्यमा सहकार्य जिम्मेवार अभियान विकास हुन सक्छ। यस मोडेलको सबैभन्दा ठूलो फाइदा सहकारी क्षेत्रको विद्यमान संस्थागत संरचनाको उपयोग गर्नु हो। हजारौँ सहकारी संस्थाको सुपरिवेक्षण गर्न राज्यले मात्र ठूलो प्रशासनिक संरचना निर्माण गर्नुपर्ने आवश्यकता घट्न सक्छ।
नेफ्स्कूनजस्ता केन्द्रीय संघहरूसँग सदस्य संस्थाको वित्तीय अवस्था, व्यवस्थापन, कारोबार, संस्थागत क्षमता र स्थानीय परिवेशसम्बन्धी प्रत्यक्ष अनुभव तथा जानकारी हुन्छ। यस्तो अनुभवलाई नियमनको सहयोगी संरचनामा प्रयोग गर्न सकिन्छ। यसले सहकारी संघहरूको भूमिका सदस्य संस्था प्रतिनिधित्व र पैरवीमा मात्र सीमित नराखी संस्थागत सुशासन, वित्तीय अनुशासन र क्षेत्रगत स्थायित्वमा समेत विस्तार गर्न सक्छ।
अर्को महत्त्वपूर्ण पक्ष भनेको नियमन र विकासबीचको सम्बन्ध हो। संघहरूले संस्थालाई आवश्यक तालिम, परामर्श, प्राविधिक सहयोग र सुधार योजना प्रदान गर्न सक्छन्। यसले दण्डात्मक नियमनभन्दा सुधारमुखी सुपरिवेक्षणलाई प्रोत्साहन गर्छ।
फेडरेटेड मोडेलमा सबैभन्दा महत्त्वपूर्ण चुनौती स्वार्थको द्वन्द्व हो। संघ आफैँले सदस्य संस्थाको प्रतिनिधित्व, संरक्षण र प्रवर्धन गर्ने भएकाले उसलाई आफ्नै सदस्य संस्थामाथि निष्पक्ष सुपरिवेक्षण गर्न कठिन हुन सक्छ। सदस्य संस्थाको वित्तीय कमजोरी सार्वजनिक गर्दा संघको प्रतिष्ठा प्रभावित हुन सक्छ। त्यसैले जोखिम लुकाउने, कमजोर संस्थालाई संरक्षण गर्ने वा नियामकलाई सही सूचना नदिने सम्भावना रहन्छ।
त्यस्तै, सबै संघको प्राविधिक क्षमता समान हुँदैन। कतिपय संघसँग दक्ष जनशक्ति, प्रविधि र वित्तीय विश्लेषणको क्षमता पर्याप्त नहुन सक्छ। त्यसैले फेडरेटेड मोडेलमा संघलाई नियामकीय काम सुम्पनुअघि मान्यता, योग्यता, स्वतन्त्रता, लेखापरीक्षण, गुणस्तर नियन्त्रण र नियामकको नियमित निरीक्षण आवश्यक हुन्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा, संघलाई प्रदान गरिने सुपरिवेक्षणको जिम्मेवारी स्पष्ट कानुनी प्रत्यायोजनमा आधारित हुनुपर्छ। संघले गरेको सुपरिवेक्षणको आधारमा अन्तिम नियामकीय निर्णय गर्ने अधिकार राज्यको नियामक निकायमै रहनुपर्छ।
यी मोडेलहरू एकअर्काका पूर्ण प्रतिस्पर्धी विकल्प होइनन्। नियमनको अधिकार कसले राख्ने र सुपरिवेक्षणको काम कसरी गर्ने भन्ने आधारमा यिनका केही विशेषता एउटै प्रणालीमा पनि समावेश गर्न सकिन्छ। विश्वका विभिन्न देशमा बचत तथा ऋण सहकारीको नियमनका लागि फरक-फरक संस्थागत संरचना विकास भएका छन्। भारत, अमेरिका, बेलायत, दक्षिण कोरिया तथा अन्य देशका कानुनी व्यवस्था गरेर संघीय क्रेडिट युनियनहरूको नियमन, सुपरिवेक्षण तथा निक्षेप सुरक्षणको व्यवस्था गरिएको छ। कुनै एउटा मोडेल सबै देशमा समान रूपमा लागू हुँदैन। देशको संवैधानिक संरचना, सहकारीको विकास अवस्था, नियामकीय क्षमता र संस्थागत नेटवर्कअनुसार उपयुक्त संरचना निर्माण गर्नुपर्छ।
नेपालको सन्दर्भ
नेपालको सहकारी क्षेत्रको अवस्था विश्लेषण गर्दा तीनवटै मोडेलका सकारात्मक पक्षलाई उपयोग गर्न सकिन्छ। तर, एउटै मोडेललाई पूर्ण रूपमा अपनाउनुभन्दा तीनवटैको उपयोगी विशेषता समेटिएको मिश्रित संरचना बढी व्यवहारिक देखिन्छ। पहिलो, नियमनको अधिकार इन्टिग्रेटेड मोडेलअनुसार हुनुपर्छ। बचत तथा ऋण सहकारीको वित्तीय कारोबारको नियमन, मापदण्ड निर्धारण, इजाजत, सुपरिवेक्षण र सुधारात्मक कारबाहीको अन्तिम अधिकार स्वायत्त तथा व्यावसायिक राष्ट्रिय नियामक निकायमा रहनुपर्छ। यसले नियमनमा एकरूपता र जवाफदेहिता सुनिश्चित गर्छ।
दोस्रो, जोखिम मूल्यांकन अटोमिक मोडेलअनुसार हुनुपर्छ। प्रत्येक सहकारी संस्थाको वित्तीय अवस्था छुट्टाछुट्टै मूल्यांकन हुनुपर्छ। पुँजी पर्याप्तता, तरलता, खराब कर्जा, सम्पत्तिको गुणस्तर, व्यवस्थापन र संस्थागत सुशासनका आधारमा जोखिम वर्गीकरण गर्नुपर्छ। क्यामेल, स्ट्रेस टेस्टिङ, रिस्क प्रोफाइलिङ तथा अर्ली वार्निङ सिस्टम प्रयोग गर्न सकिन्छ।
तेस्रो, नियमित सुपरिवेक्षण फेडरेटेड मोडेलअनुसार विकास गर्नुपर्छ। नेफ्स्कून, प्रदेशस्तरीय संघ तथा अन्य योग्य संघीय संरचनालाई नियामकको मान्यता र स्पष्ट कानुनी प्रत्यायोजनका आधारमा सुपरिवेक्षणको सहयोगी संरचनाका रूपमा विकास गर्न सकिन्छ। यसले नियामक निकायको कार्यभार घटाउनुका साथै सहकारी अभियानभित्रै वित्तीय अनुशासन र संस्थागत सुधारको संस्कृति विकास गर्न मद्दत गर्छ।
राष्ट्रिय सहकारी नियमन प्राधिकरण कानुनी अधिकार, नीति, मापदण्ड, इजाजत र अन्तिम नियामकीय निर्णय एवं नियामकीय प्रत्यायोजन तथा समन्वय, नेफ्स्कून तथा मान्यताप्राप्त संघहरू सुपरिवेक्षण, जोखिम मूल्यांकन, संस्थागत सुधार, प्राविधिक सहयोग प्राथमिक बचत तथा ऋण सहकारीहरू वित्तीय प्रतिवेदन तथा अनुपालन र सदस्यहरू बचत सुरक्षा तथा लोकतान्त्रिक नियन्त्रणको आधारमा बचत तथा ऋण सहकारीहरूको नियमन हुन आवस्यक छ। यस संरचनामा ३ वटा कुरा स्पष्ट हुनुपर्छ। नियामक निकायले आफ्नो कानुनी अधिकार र अन्तिम जवाफदेहिता संघलाई हस्तान्तरण गर्नु हुँदैन, संघले नियामकको मान्यता, मापदण्ड र कार्यविधिअनुसार मात्र सुपरिवेक्षणको जिम्मेवारी निर्वाह गर्नुपर्छ र सुपरिवेक्षण गर्ने संघ र सुपरिवेक्षणमा पर्ने संस्थाबीच स्वार्थको द्वन्द्व हुन नदिन स्वतन्त्र सुपरिवेक्षण इकाइ, छुट्टै जनशक्ति, आन्तरिक नियन्त्रण र बाह्य गुणस्तर परीक्षणको व्यवस्था गर्नुपर्छ।
प्रस्ताविक कानुनका प्राथमिकता
सरकारले तयार गरेको अवधारणापत्रको मूल उद्देश्यलाई हेर्दा समग्र सहकारी क्षेत्रको प्रवर्धन र बचत तथा ऋण सहकारीको वित्तीय नियमनलाई फरक तर परिपूरक कानुनी संरचनामा लैजाने प्रयास देखिन्छ। यसलाई प्रभावकारी बनाउन निम्न विषय सुनिश्चित गर्नुपर्छ। राष्ट्रिय सहकारी नियमन प्राधिकरणलाई स्वायत्त र व्यावसायिक बनाउने, संस्थाको आकार, कारोबार र जोखिमअनुसार अनुपातिक नियमन गर्ने, दोस्रो तहको सुपरिवेक्षण प्रणालीका लागि स्पष्ट कानुनी आधार बनाउने, फेडरेटेड सुपरिवेक्षणमा सहभागी हुने संघहरूको योग्यता र मापदण्ड निर्धारण गर्ने, निक्षेप सुरक्षण, स्थिरीकरण कोष र केन्द्रीय तरलता सुविधाबीच समन्वय गर्ने, समस्याग्रस्त संस्थाको प्रारम्भिक पहिचान तथा समाधान संयन्त्र निर्माण गर्ने, सहकारीको स्वायत्तता र सदस्यको लोकतान्त्रिक नियन्त्रण सुरक्षित गर्ने।
अन्ततः बचत तथा ऋण सहकारीको प्रभावकारी नियमनका लागि अटोमिक, इन्टिग्रेटेड र फेडरेटेड मोडेलमध्ये कुन राम्रो भन्ने प्रश्नको उत्तर कुनै एउटा मोडेललाई पूर्ण रूपमा स्वीकार गर्नुमा मात्र सीमित छैन। वास्तविक आवश्यकता तीनवटै मोडेलका उपयोगी पक्षलाई देशको अवस्था र संस्थागत क्षमताअनुसार समायोजन गर्नु हो। अटोमिक मोडेलले प्रत्येक संस्थाको वित्तीय जोखिम र जवाफदेहिता स्पष्ट गर्छ। इन्टिग्रेटेड मोडेलले राष्ट्रियस्तरमा नियमनको एकरूपता र अधिकारको स्पष्टता सुनिश्चित गर्छ। फेडरेटेड मोडेलले सहकारी अभियानको आफ्नै सञ्जाल, अनुभव र संस्थागत क्षमतालाई सुपरिवेक्षणमा उपयोग गर्ने अवसर प्रदान गर्छ।
सहकारी नियमनको उद्देश्य संस्थालाई नियन्त्रण गर्नु मात्र होइन, सदस्यको बचत सुरक्षित राख्नु, संस्थाको स्वायत्तता जोगाउनु, वित्तीय अनुशासन कायम गर्नु र सहकारी अभियानलाई दीर्घकालीन रूपमा दिगो बनाउनु हो। नेपालको सहकारी क्षेत्रलाई अब नियमन गर्ने राज्य, सुपरिवेक्षणमा सहयोग गर्ने सहकारी सञ्जाल र लोकतान्त्रिक नियन्त्रण कायम गर्ने सदस्यहरूबीचको सन्तुलित साझेदारी आवश्यक छ। यही संरचनाले सुरक्षित, सबल र दिगो वित्तीय सहकारी प्रणालीको आधार निर्माण गर्न सक्छ।










