सेनेगललाई खोसिएको अफ्रिका कपको उपाधि फिर्ता, मोरक्कोको जित फिर्ता!

बिजमाण्डू
२०८३ मंसिर ८ गते २२:०९ | Nov 24, 2026
सेनेगललाई खोसिएको अफ्रिका कपको उपाधि फिर्ता, मोरक्कोको जित फिर्ता!
सेनेगल फुटबल टोली। फोटो: Fédération Sénégalaise de Football

अफ्रिका कप अफ नेसन्स (अफकोन) २०२५ को उपाधि विवादमा सेनेगलले ठूलो कानुनी जित हासिल गरेको छ। कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट्स (सीएएस) को निर्णयसँगै सेनेगललाई प्रतियोगिताको विजेता घोषणा गरिएको छ। यससँगै आयोजक मोरक्कोबाट उपाधि खोसिएको छ।

GBIME
Tata

सेनेगलले यससँगै दोस्रो पटक अफ्रिका कपको उपाधि जितेको छ। यसअघि उसले सन् २०२१ को संस्करण जितेको थियो।

जनवरी १८ मा मोरक्कोको रबातस्थित मैदानमा भएको फाइनलमा सेनेगलले अतिरिक्त समयमा पापे गुएइको गोलमा १–० को जित निकालेको थियो। तर खेलको अन्तिम समयमा मोरक्कोले पेनाल्टी पाएपछि सेनेगलका खेलाडीहरूले त्यसको विरोध गर्दै मैदान छाडेका थिए।

करिब १४ मिनेटपछि खेल पुनः सुरु भएको थियो। मोरक्कोका ब्राहिम डियाजले पेनाल्टीमा गोल गर्न सकेनन्। त्यसपछि अतिरिक्त समयमा पापे गुएइले गोल गर्दै सेनेगललाई उपाधि दिलाएका थिए।

तर अफ्रिकी फुटबल महासंघ (काफ) को पुनरावेदन समितिले मार्च १७ मा सेनेगलले खेल छाडेर प्रतियोगिताको नियम उल्लंघन गरेको ठहर गर्दै ३–० को प्राविधिक जित मोरक्कोलाई दिएको थियो। त्यससँगै मोरक्कोलाई विजेता घोषणा गरिएको थियो।

सेनेगलले उक्त निर्णयविरुद्ध खेलकुदसम्बन्धी विवादको सर्वोच्च निकाय सीएएसमा अपिल गरेको थियो। अक्टोबर ८ मा स्विट्जरल्यान्डको लुजानमा भएको सुनुवाइपछि तीन सदस्यीय न्यायिक प्यानलले मंगलबार सर्वसम्मत निर्णय सुनाएको हो।

सीएएसले खेल पुनः सुरु गर्ने वा स्थगित गर्ने अधिकार मुख्य रेफ्रीमा निहित हुने ठहर गरेको छ। रेफ्रीले खेल पुनः सुरु गर्ने निर्णय गरेपछि त्यसलाई कानुनी रूपमा गलत भन्न नमिल्ने अदालतको निष्कर्ष छ। त्यसैले काफको पुनरावेदन समितिको निर्णय उल्ट्याउँदै अनुशासन समितिको पुरानै निर्णय कायम गरिएको हो। यस निर्णयसँगै जनवरीमा मैदानमा हासिल गरेको सेनेगलको १–० को जितले आधिकारिक मान्यता पाएको छ भने मोरक्कोको नाममा रहेको उपाधि फेरि सेनेगलको भएको छ।