काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सेयर बजारको सूचकांक गणनाका लागि नयाँ इन्डेक्स सञ्चालनमा ल्याउन प्रस्ताव तयार पारेको छ।
नेप्सेले कारोबारयोग्य (फ्रि फ्लोट) सेयरका आधारमा नयाँ इन्डेक्स सञ्चालनमा ल्याउन प्रस्ताव तयार पारेर सञ्चालक समितिमा पेस गर्न लागेको नेप्सेका एक अधिकृतले जानकारी दिए।
‘कारोबारोग्य सेयर मात्रै गणना हुने गरी बजारमा नयाँ इन्डेक्स सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। अब सञ्चालक समितिमा प्रस्ताव पेस गरेर छिट्टै कार्यान्वयनमा आउनेछ,’ नेप्सेका ती अधिकृतले भने।
नेप्सेले अहिलेको नेप्से सूचकांकलाई अल इक्विटी इन्डेक्स कायम गरेर अब फ्रि फ्लोट इन्डेक्सलाई मुख्य सूचकांक बनाउन लागेको हो। बजारमा अहिले नेप्से इन्डेक्सलाई नै समग्र सेयर बजारको प्रमुख परिसूचकका रूपमा गणना गरिंदै आएको छ।
यस सूचकांकमा बजारमा कारोबारमा नआउने संस्थापक सेयर समेत गणना गरेर बजार पुँजीकरण निकालिन्छ। जसको प्रभावस्वरुप बजारको आकार नै अवास्तविक भएको भनी प्रश्न उठ्ने गरेको छ।
नेप्सेले बजारमा अहिले नेप्से इन्डेक्स बाहेक कारोबारयोग्य सेयरका लागि मात्रै फ्लोट इन्डेक्स राखेको छ। यही इन्डेक्सका आधारमा कारोबारयोग्य सेयर गणना हुने गरेको छ।
कम्पनीको आइपीओ निष्कासनपछि संस्थापक सेयरमा लकइन लागू हुन्छ। संस्थापकहरुले लकइन अवधिमा सेयर बिक्री गर्न पाउँदैनन्। तर, दोस्रो बजारमा सर्वसाधारणलाई बिक्री गरेको सेयर कारोबार हुने मूल्यका आधारमा कम्पनीको पुँजीकरण गणना गर्ने गरिएको छ।
यसबाहेक बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयर दोस्रो बजार मूल्यमा किनबेच हुँदैन। बजारको अवास्तविक आकारलाई सूचकांक गणना परिमार्जन गरेर वास्तविक बनाउन लागिएको हो।
यसका लागि नेप्सेले कारोबारयोग्य सेयर, बजार पुँजीकरण, कम्पनीको वित्तीय अवस्था, कारोबारको तरलता, संस्थागत सुशासन, सूचना प्रवाहको स्थिति जस्ता सूचकलाई आधार बनाउन लागेको छ।
नेप्से इन्डेक्स सूचीकृत सेयरको वर्तमान कुल बजार पुँजीकरण र आधार वर्षको बजार पुँजीकरणको अनुपातमा आधारित भ्यालु वेटेज इन्डेक्सका रूपमा छ। नेप्सेले सन् २००८ सेप्टेम्बर ११ लाई आधार मिति मानेर फ्लोट इन्डेक्स गणना गर्दै आएको छ।
फ्लोट इन्डेक्समा संस्थापकले धारण गरेको सेयरबाहेक बजारमा कारोबारका लागि उपलब्ध सेयरलाई आधार बनाइएको छ।
बजारमा अब नेप्से अल इक्विटी इन्डेक्स, नेप्से बेन्चमार्क इन्डेक्स, लार्ज/मिड/स्मल क्याप इन्डेक्स र सेक्ट्रल बेन्चमार्क इन्डेक्स हुनेछन्। क्षेत्रगत रुपमा अहिले १३ वटा उपसूचकांक छन्।










