काठमाडौं। नेपाल र भारतबीच भएको पारवहन तथा यातायात कनेक्टिभिटी सम्बन्धी सहमतिको नेपाल फ्रेट फरवार्डर्स एसोसिएसनले स्वागत गरेको छ। एसोसिएसनले मंगलबार प्रेस विज्ञप्ति जारी गरी दुई देशबीच भएको सहमतिको स्वागत गरेको हो।
गुजरातस्थित दिनदयाल र उडिसास्थित पारादीप बन्दरगाह नेपाललाई प्रयोग गर्न दिने सहमतिले वैदेशिक व्यापारमा नयाँ सम्भावना सिर्जना गर्ने एसोसिएसनको विश्वास छ।
‘यसबाट नेपाललाई समुद्री बन्दरगाहको विकल्प विस्तार हुनुका साथै अन्तर्राष्ट्रिय व्यापारका लागि थप पारवहन मार्ग उपलब्ध हुने र भविष्यमा ढुवानी समय, लागत तथा आपूर्ति व्यवस्थापनमा सकारात्मक प्रभाव पर्ने विश्वास लिइएको
छ,’ विज्ञप्तिमा भनिएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा सोमबार दुई देशबीच नेपाललाई दिनदयाल र पारादीप बन्दरगाह प्रयोग गर्न दिने, काठमाडौं-भैरहवा-लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउने, अयोध्या-जनकपुर रेल सेवा सञ्चालन गर्ने लगायत सहमति भएको थियो।
यी सहमतिले देशको समग्र आर्थिक विकासमा सहयोग पुग्ने एसोसिएनले बताएको छ।
प्रस्तावित रक्सौल-काठमाडौं विद्युतीय ब्रोडगेज रेलमार्गको अन्तिम स्थान सर्वेक्षण सम्पन्न भएको घोषणा तथा पूर्व-पश्चिम रेलमार्ग विकासमा सहकार्य गर्ने सहमतिले नेपालको दीर्घकालीन यातायात तथा लजिस्टिक्स पूर्वाधार विकासका लागि महत्वपूर्ण आधार तयार गरेको विज्ञप्तिमा उल्लेख छ।










