रोयल इन्फिल्डको ‘हन्टरहुड’ काठमाडौंमा, युवा संगीत, कला र सिर्जनात्मकतालाई मञ्चमा जोड्ने

बिजमाण्डू
२०८३ मंसिर ८ गते १२:३८ | Nov 24, 2026
रोयल इन्फिल्डको ‘हन्टरहुड’ काठमाडौंमा, युवा संगीत, कला र सिर्जनात्मकतालाई मञ्चमा जोड्ने

काठमाडौं। मोटरसाइकल ब्रान्ड रोयल इन्फिल्डले भारतका विभिन्न सहरमा गर्दै आएको सडक संस्कृति महोत्सव ‘हन्टरहुड’ पहिलोपटक नेपालमा पनि आयोजना गर्ने भएको छ। कम्पनीले आगामी मंसिर २६ (डिसेम्बर १२) मा भृकुटीमण्डपमा ‘हन्टरहुड काठमाडौं’ आयोजना गर्न लागेको हो।

GBIME
Tata

संगीत, कला, फेसन, सडक खेलकुद र सिर्जनात्मक गतिविधिलाई एउटै मञ्चमा जोड्ने महोत्सवमा नेपाल र भारतका कलाकारको सहभागिता रहने कम्पनीले जनाएको छ। दिउँसो २ बजेदेखि सुरु हुने कार्यक्रममा भारतीय र्‍यापर ‘डिभाइन’ मुख्य आकर्षणका रूपमा रहनेछन्। नेपाली र्‍यापर साकारसँगै कुमा सागर एन्ड द ख्वापा, गाउँले भाइ, इस्ट्रीज र रातो रानीले पनि प्रस्तुति दिनेछन्।

रोयल इन्फिल्ड हन्टर ३५० मोटरसाइकलसँग जोडिएको सहरी जीवनशैली र व्यक्तिगत अभिव्यक्तिको अवधारणाबाट सुरु गरिएको हन्टरहुडलाई युवाको सिर्जनात्मक समुदाय जोड्ने उत्सवका रूपमा विकास गरिएको कम्पनीले जनाएको छ।

महोत्सवमा स्केटबोर्डिङ, बीएमएक्स, फ्रिस्टाइल फुटबल र बास्केटबल लगायतका गतिविधि सञ्चालन हुनेछन्। साथै लाखे नाच, भैरव तथा काली नृत्य, कस्प्ले, हस्तकला कार्यशाला, ट्याटु तथा फेस पेन्टिङ र स्थानीय फेसन तथा खानाका स्टल पनि रहनेछन्।

आयोजकका अनुसार महोत्सवले नेपाली कला, संस्कृति र बढ्दो सहरी सिर्जनात्मकतालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्नेछ। कार्यक्रमको टिकट खल्ती र टिकट सञ्जालबाट खरिद गर्न सकिने व्यवस्था गरिएको छ।