काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयको हस्तक्षेपपछि ठेक्का प्रक्रिया रद्द गरिएको सुनकोशी मरिण डाइभर्सन आयोजनाको विवादमा सार्वजनिक लेखा समिति प्रवेश गरेको छ।
लेखा समितिले एक साताभित्र सबै कागजात उपलब्ध गराउन ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयलाई निर्देशन दिएको छ। बालेन सरकार आएपछि सबैभन्दा ठूलो ठेक्कामा भएको विवादमा पहिलो पटक संसदीय समिति प्रवेश गरेको हो। लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका भरत बहादुर खड्का छन्।
प्रधानमन्त्री बालेनको सचिवालयले गत कात्तिक दोस्रो साता सिंचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र आयोजनाका निर्देशक कृष्णप्रसाद रिजाललाई बर्दिवासबाट नियन्त्रणमा लिइ प्रधानमन्त्री कार्यालयमा उपस्थित गराएर ठेक्का प्रक्रिया रद्द गर्न लगाएको थियो।
समितिको बैठकमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले ठेक्का प्रक्रिया के कारण रद्द गरिएको भनी प्रश्न गरेका छन्। उनले सुरुङमार्ग ब्रेकथ्रु भइसकेको आयोजनामा मापदण्ड किन परिवर्तन गरियो भन्ने प्रश्न गर्दै ठेक्का प्रक्रिया रद्दको विषयमा छानबिन गरिनुपर्ने बताए।
‘बिड क्यान्सिल किन गरियो? टनेल ब्रेकथ्रु भइसकेको प्रोजेक्टमा मापदण्ड किन परिवर्तन भयो? यसको सबै छानबिन गर्नुपर्छ। अन्तरिम सरकारका बेलामा ठेक्का किन रद्द भएको थियो?,’ उनले प्रश्न गरे।

झाले परियोजना मधेशको सिंचाइदेखि जलविद्युतका लागि महत्वपूर्ण रहेकाले राम्रोसँग काम नभए मधेशमा आन्दोलन हुने चेतावनी समेत दिए। ‘मधेशका पाँचवटा जिल्लाको १ लाख ८० हजार बिघामा सिंचाइ पुर्याउने आयोजना अघि नबढ्ने हो भने आन्दोलन हुन्छ,’ उनले भने, ‘यसको गाम्भिर्यता बुझ्न आवश्यक छ।’
विभागका महानिर्देशक रजौरियाले प्रधानमन्त्री शाहको सचिवालयबाट कुनै हस्तक्षेप नभएको भन्दै बचाउ गरे। ‘प्रधानमन्त्री कार्यालयमा हामीलाई बोलाइएको हो। तर त्यहाँ कुनै हस्तक्षेप भएको होइन,’ उनले भने।
तर, बर्दिवासबाट नियन्त्रणमा लिइएका रजौरिया र रिजाललाई काठमाडौं प्रहरीले प्रधानमन्त्री कार्यालयमा बुझाएको थियो। रजौरियाले यसअघिको निर्माण कम्पनी पटेल-रमण जेभीसँगको ठेक्का रद्दपछि १ अर्ब २० करोड रुपैयाँ फिर्ता आएको जानकारी दिए।
मन्त्रालयका सहसचिव सुशील आचार्यले आयोजनामा ठेक्का लगाउने र रद्द गर्ने अधिकार विभागलाई रहेको भन्दै ठेक्का तोडेर अर्को कम्पनी छान्दा राज्यलाई घाटा नहुने बताए।










