काठमाडौं। हदबन्दीका कारण २ खर्ब रुपैयाँ भन्दा बढीको सम्पत्ति बन्धक बनेका घरजग्गा व्यवसायीलाई सरकारले राहत दिन लागेको छ। सरकारले व्यवसायीलाई राहतस्वरुप जग्गाको हदबन्दीमा छुट दिन लागेको हो।
यसका लागि अध्यादेश ल्याउने तयारी गरिएको छ। हदबन्दीका कारण घरजग्गा व्यवसायी झनझन् समस्यामा पर्दै गएपछि सरकारले भूमिसम्बन्धी ऐन संशोधन गर्ने गरी अध्यादेश ल्याउन लागेको हो।
पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, भूमि व्यवस्थामन्त्री प्रतिभा रावल र कानुनमन्त्री सोविता गौतमले व्यवसायीलाई अध्यादेश चाँडै आउने वचन दिएका छन्। अध्यादेशका लागि सरकारले मस्यौदा तयार पारिसकेको छ।
हदबन्दी छुटका लागि सरकारले भूमिसम्बन्धी ऐन २०२१ को दफा १२ मा संशोधन गर्न लागेको छ।
‘यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि प्रचलित कानुनबमोजिम अधिकार प्राप्त निकायबाट स्वीकृत उद्योग, उत्पादनमूलक आयोजना, पूर्वाधार आयोजना, नयाँ शहर, जग्गा एकीकरण, आवास विकास, एकीकृत बस्ती विकास वा शहरी पुनर्विकास आयोजना कार्यान्वयन गर्न यस ऐनबमोजिमको हदबन्दीभन्दा बढी जग्गा आवश्यक पर्ने भएमा नेपाल सरकाले आयोजनाको प्रकृति, स्वीकृत आयोजना प्रस्ताव, विस्तृत आयोजना प्रतिवेदन, गुरुयोजना, प्राविधिक आवश्यकता, जग्गा उपयोग योजना तथा आवश्यक प्रमाणित क्षेत्रफलका आधारमा परियोजनागत रुपमा हदबन्दी छुट दिन सक्नेछ,’ दफा १२ मा उफदफा २ थपेर तयार पारिएको मस्यौदामा लेखिएको छ।
सम्बन्धित आयोजनाका लागि आवश्यक जग्गाको क्षेत्रफल, स्थान, उपयोगको प्रयोजन, आयोजना कार्यान्वयन अवधि, सार्वजनिक पूर्वाधारसम्बन्धी दायित्व स्पष्ट निर्धारण गर्ने मस्यौदामा उल्लेख छ।
स्वीकृत आयोजनाका लागि वस्तुगत रुपमा आवश्यक प्रमाणित क्षेत्रफलमात्र सीमित हुने उल्लेख गरिएको छ। यसका लागि आवश्यक प्रक्रिया पूरा गरी आएको निवेदनमा स्वीकृति दिने/नदिने निर्णय ६० दिनमा गरिनेछ।
मस्यौदाको दफा १२ छ मा घरजग्गा तथा योजनाबद्ध आवास विकासका लागि विशेष व्यवस्था राखिएको छ।
‘प्रचलित कानूनबमोजमित घरजग्गा व्यवसाय गर्ने उद्देश्यले दर्ता भएको कम्पनीले सम्बन्धित निकायबाट घरजग्गा व्यवसाय तथा जग्गा विकाससम्बन्धी आवश्यक स्वीकृति लिइ स्वीकृत आयोजना वा परियोजनाका लागि आवश्यक जग्गा खरिद, विकास तथा विक्री गर्न सक्नेछ,’ १२ छ को उफदफा १ मा राखिएको मस्यौदामा भनिएको छ।
उपदफा ४ मा हदबन्दी छुट प्राप्त कम्पनीले स्वीकृत आयोजना प्रस्ताव, भूउपयोग योजना तथा जग्गा विकास मापदण्डबमोजिम जग्गा विकास गरी निर्माण वा विकास सम्पन्न भएका घडेरी, घर, सामूहिक आवास वा संयुक्त आवास इकाइ बिक्री गर्न सकिने उल्लेख गरिएको छ।
सरकारले हदबन्दी छुट दिए घरजग्गा बजारमा फसेको २ खर्ब रुपैयाँ बराबरको सम्पत्ति रिलिज हुने नेपाल जग्गा तथा आवास संघका अध्यक्ष दीपक कुँवरले बताए। ‘हदबन्दीका कारण २०० वटा भन्दा कम्पनी संकटमा छन्। २ खर्बभन्दा बढीको जग्गा ठप्प छ,’ कुँवरले भने।
काठमाडौं उपत्यकामा घरजग्गा कारोबारका लागि किनेको ९०० रोपनी जग्गा हदबन्दीका कारण लामो समयदेखि रोक्का छ। जग्गा बेच्न नपाएका कम्पनीका संचालक टाट पल्टिएका छन् भने कतिपय कालोसूचीमा परेका छन्। बैंक तथा वित्तीय संस्थाले कालोसूची र लिलामीको प्रक्रिया अगाडि बढाएका छन्।
नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले दोहोरो चेपुवामा परेका व्यवसायीलाई हदबन्दी छुटले ठूलो राहत हुने बताए। ‘तीन करोडको घर किनेकाले २५ लाख बैना दिए। उनीहरुले हदबन्दीका कारण लालपूर्जा पाएका छैनन्। यसैले बाँकी २ करोड ७५ लाख त दिएनन् दिएनन् लालपूर्जा पाएनौं भनेर उल्टै मुद्दा हालेका छन्। घरजग्गा बनाउँदा परेको रकमको ब्याज पनि तिर्नुपर्ने, मुद्दा पनि खेप्नुपर्ने। व्यवसायी यसरी दोहोरो चेपुवामा परेका छन्,’ अध्यक्ष घिमिरेले भने, ‘यस्तो बेला हदबन्दी छुटले ठूलो राहत हुनेछ।’
भूमि व्यवस्था, सहकारी, संघीया ममिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार हदबन्दीका कारण देशभर कुल ३७ हजार ८१७ रोपनी जग्गा रोक्का छ।
सुधिर बस्नेतको ओरियन्टल विल्डर्स एण्ड डेभेलपर्सको बालकुमारी, कलंकी, धुम्बाराही, शंखमुल, बल्खुलगायत क्षेत्रमा ८ रोपनी २ आना, बस्नेतकै कोहिनुर हिलहाउजिङको १०८ रोपनी १४ आना जग्गा रोक्का छ।
यसैगरी इच्छाराज तामाङको सिभिल होम्सको ललितपुरको धापाखेल र काठमाडौंका विभिन्न स्थानमा २९ रोपनी ११ आना, तामाङकै सिभिल कन्स्ट्रक्सनको जग्गा हदबन्दीले गर्दा रोक्का छ।
भूमि व्यवस्था मन्त्रालयका अनुसार काठमाडौंको बलम्बु र दहचोक क्षेत्रमा उपहार हाउजिङको २५२ रोपनी ४ आना हदबन्दीमा परेको छ।










