एनसेलले बाढी प्रभावित त्रिभुवन त्रिशूली क्याम्पसको पठनपाठन संचालनमा सहयोग गर्ने

बिजमाण्डू
२०८३ मंसिर ६ गते १४:५० | Nov 22, 2026
एनसेलले बाढी प्रभावित त्रिभुवन त्रिशूली क्याम्पसको पठनपाठन संचालनमा सहयोग गर्ने

काठमाडौं। एनसेल फाउन्डेसनले नुवाकोटको विदुरस्थित त्रिभुवन त्रिशूली बहुमुखी क्याम्पसको पठनपाठन पुनः संचालनका लागि शैक्षिक पूर्वाधार सहयोग गर्ने भएको छ।

GBIME
Tata

गत भदौमा भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त क्याम्पसलाई पुनः संचालनमा ल्याउन फाउन्डेसनले सहयोग गर्न लागेको हो।

यसका लागि एनसेल फाउन्डेसन र विदुर नगरपालिकाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। हालै नगरपालिका कार्यालयमा आयोजित कार्यक्रममा नगर प्रमुख राजन श्रेष्ठ र एनसेल फाउन्डेसनकी निर्देशक विशाखा लक्ष्मी खड्काले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।

बाढीले क्याम्पसका भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएको थियो। त्यसपछि ३०० भन्दा बढी विद्यार्थीको पठनपाठन प्रभावित भएको छ।

क्याम्पसमा नियमित कक्षा संचालन गर्न एनसेल फाउन्डेसनले ३२ वटा कक्षाकोठाको भौतिक पूर्वाधार निर्माण तथा व्यवस्थापनमा सहयोग गर्नेछ। साथै, आवश्यक कम्प्युटर, फर्निचर र अन्य शैक्षिक सामग्री पनि उपलब्ध गराउनेछ।

कम्पनीका अनुसार यस सहयोगले लामो समयदेखि प्रभावित विद्यार्थीलाई पुनः कक्षाकोठामा फर्कन सहज हुनेछ। उनीहरूले सुरक्षित र व्यवस्थित वातावरणमा अध्ययन गर्न पाउने अपेक्षा गरिएको छ।

विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले क्याम्पसको पठनपाठन संचालनका लागि आवश्यक पूर्वाधार सहयोग गरेकोमा एनसेल फाउन्डेसनप्रति आभार व्यक्त गरे। उनले यस सहकार्यलाई सकारात्मक रूपमा लिएको बताउँदै नगरपालिकाका अन्य शैक्षिक क्षेत्रमा पनि सहकार्य विस्तार गर्न इच्छुक रहेको बताए।

एनसेल फाउन्डेसनकी निर्देशक खड्काले बाढी प्रभावित क्षेत्रमा शैक्षिक सहयोग विस्तार गर्न फाउन्डेसन प्रतिबद्ध रहेको बताइन्। उनले प्रभावित समुदायको वास्तविक आवश्यकता बुझेर सहयोग गर्ने उद्देश्यले स्थानीय तहसँग सहकार्य गरिएको जानकारी दिइन्।

उनका अनुसार विपद् प्रभावित क्षेत्रमा सहयोग पुर्‍याउन प्रतिबद्धता मात्र पर्याप्त हुँदैन। त्यसका लागि प्रभावित स्थानमै पुगेर स्थानीय समुदाय र निकायसँग सहकार्य गर्न आवश्यक हुन्छ।

विदुर नगरपालिकासँगको सहकार्य यस अभियानको सुरुवात भएको उनले बताइन्। आगामी दिनमा स्थानीय साझेदारसँग मिलेर थप विद्यालय तथा क्याम्पस पहिचान गरी सहयोग विस्तार गरिने उनको भनाइ छ।

एनसेल फाउन्डेसनले भोटेकोशी बाढीपछि तत्काल राहत तथा उद्धार कार्यका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गरेको थियो। अहिले फाउन्डेसनले प्रभावित क्षेत्रमा दीर्घकालीन सहयोगलाई प्राथमिकता दिएको छ।