काठमाडौं। सेयर बजारमा सूचीकृत होटल कम्पनी प्रतिफल र वित्तीय सूचकका हिसाबले मिश्रित देखिएका छन्। कुनै कम्पनी अब्बल देखिएका छन् भने कुनै कम्पनी कमजोर छन्।
पछिल्लो समय आइपीओ बिक्री गरेका कम्पनीले लगानीकर्तालाई प्रतिफल दिन नसक्दा पुराना कम्पनीले भने उच्च प्रतिफल दिँदै आएका छन्।
कम्पनीको सूचक र प्रतिफल नै लगानीकर्ताका लागि लगानीको मूल आधार हो। आधारभूत रुपमा सूचक अब्बल भएका कम्पनीको सेयर मूल्य उच्च हुन्छ।
बजारमा सूचीकृत ८ वटा होटल कम्पनीमध्ये प्रतिफल र सूचकका हिसाबले सोल्टी अगाडि देखिएको छ। सूचीकृत भएयता सोल्टीले लगानीकर्तालाई प्रतिफल वितरण गर्दै आएको देखिन्छ। कम्पनीको सेयर मूल्यमा उतारचढाव पनि कम देखिएको छ।
पछिल्लो १ वर्षको उच्च सेयर मूल्य प्रति कित्ता ५६६ रुपैयाँ रहेकामा न्यून ४६३ रुपैयाँसम्म आएको देखिन्छ। कम्पनीको अहिले सेयर मूल्य प्रति कित्ता ५५६ रुपैयाँमा किनबेच भइरहेको छ।
नेप्सेमा सूचीकृत होटलको सेयर मूल्य र प्रतिफल विवरण
| होटल | सूचीकृत मिति | प्रतिफल | १ वर्षको उच्च सेयर मूल्य (रुपैयाँ) | १ वर्षको न्यून सेयर मूल्य (रुपैयाँ) | मंसिर ४ गतेको सेयर मूल्य (रुपैयाँ) |
| सोल्टी | २०४९ माघ | १३ पटक | ५६६ | ४६४ | ५५६ |
| तारागाउँ रिजेन्सी | २०५५ असार | ८ पटक | ८५३.९ | ६८५ | ८३३.९ |
| ओरियन्टल | २०५८ भदौ | ८ पटक | ७८५ | ५९० | ६२५ |
| चन्द्रागिरि हिल्स | २०७७ माघ | १ पटक | ९३० | ७१० | ७१० |
| कालिञ्चोक दर्शन | २०७९ चैत | २ पटक | १,१८५ | ४७७ | ४७६ |
| सिटी होटल | २०८० जेठ | – | ५४३ | ३०२ | ३०० |
| बन्दीपुर केबलकार | २०८२ कात्तिक | – | १२३३ | ५१७ | ५०७ |
| होटल फरेस्ट इन | २०८२ फागुन | – | १४५० | १०१ | ४८४ |
व्यापार र आम्दानीका हिसाबले पनि सोल्टी अरु होटलभन्दा अब्बल देखिएको छ।
पछिल्लो समय व्यापार खस्किँदा तारागाउँ रिजेन्सी र ओरियन्टल होटलको वित्तीय अवस्था कमजोर बनेको छ। पोहोर भदौमा जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडका कारण बन्द भएको तारागाउँ रिजेन्सी अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन।
सेयर मूल्यका हिसाबले भने तारागाउँ रिजेन्सी लगानीकर्ताको रोजाइमा परेको छ। कम्पनीको सेयर मूल्य एक वर्षमा सर्वाधिक ८५३.९ रुपैयाँ र न्यूनतम ६८५ रुपैयाँसम्म आएको देखिन्छ। कम्पनीको सेयर मूल्य पछिल्लो समय प्रति कित्ता ८३३.९ रुपैयाँ छ।
ओरियन्टलको सेयर मूल्य प्रति कित्ता ६२५ रुपैयाँ छ। एक वर्षमा सर्वाधिक ७८५ र न्यूनतम ५९० रुपैयाँ पुगेको विवरणले देखाउँछ।
चन्द्रागिरि हिल्सले बजारमा सूचीकृत भएपछि सेयरधनीलाई १ पटक प्रतिफल वितरण गरेको छ। चन्द्रागिरि बजारमा सूचीकृत भएको भने सोल्टी, ओरियन्टल र तारागाउँ रिजेन्सी जस्तो धेरै भएको छैन।
नेप्सेमा सूचीकृत होटलको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय स्थिति
| होटल | चुक्ता पुँजी (रु हजारमा) | आम्दानी २०८३/८४ (रु हजारमा) | नाफा २०८३/८४ (रु हजारमा) | प्रति सेयर आम्दानी २०८३/८४ (रुपैयाँ) | नेटवर्थ २०८३/८४ (रुपैयाँ) |
| सोल्टी | ११७५१५२ | ७,२१,४१२ | १,४२,३७५ | १.२१ | २९.९२ |
| तारागाउँ रिजेन्सी | १९६२१२० | ७,५०१ | -३२,५६५ | -१.६६ | ११७.०५ |
| ओरियन्टल | ११८४४९४ | २,५८,४९२ | -२,८०० | -०.२४ | ३२३.०२ |
| चन्द्रागिरि हिल्स | १६१०७९५ | १,९०,६०९ | २८,३११ | १.७६ | १०७.४१ |
| कालिञ्चोक दर्शन | ६३०००० | ४,९७७ | -४,५९६ | -२.९२ | १०८.५ |
| सिटी होटल | ३०१३२०० | १,०२,६४१ | -४०,०३३ | -१.३३ | ९४.८३ |
| बन्दीपुर केबलकार | २८२९९९३ | १३,०३३ | -१५,३९९ | -०.५४ | ९०.९ |
| होटल फरेस्ट इन | २०००००० | ४५,८४० | -४९,९४८ | -९.९९ | १०४.८६ |
कम्पनीको सेयर मूल्य प्रति कित्ता ७१० रुपैयाँ छ। यो सेयर मूल्य पछिल्लो १ वर्षयताकै कम हो। कम्पनीको सेयर मूल्य पछिल्लो एक वर्षमा प्रति कित्ता अधिकतम ९३० रुपैयाँसम्म पुगेको थियो।
कालिञ्चोक दर्शन २०७९ मा नेप्सेमा सूचीकृत भएको कम्पनी हो। यसले सेयरधनीलाई २ पटक प्रतिफल दिएको छ। कम्पनीको सेयर मूल्य भने धेरै उतारचढाव भएको देखिन्छ। प्रति कित्ता सेयर मूल्य पछिल्लो एक वर्षमा सर्वाधिक १,१८५ रुपैयाँसम्म पुगेको र न्यूनतम् ४७६ रुपैयाँसम्म झरेको देखिन्छ।
यो वर्षको पहिलो त्रैमासमा कालिञ्चोक दर्शन नोक्सानीमा छ।
सोल्टी होटलको लाभांश
| आर्थिक वर्ष | लाभांश प्रतिशत |
| २०६७/२०६८ | ५२.६३ |
| २०६८/२०६९ | ५२.६३ |
| २०६९/२०७० | ५२.६३२ |
| २०७०/२०७१ | ५७.८९ |
| २०७१/२०७२ | ३१.५७ |
| २०७२/२०७३ | २१.०५ |
| २०७३/२०७४ | २१.०५ |
| २०७४/२०७५ | २६.३१ |
| २०७५/२०७६ | २६.३१ |
| २०७८/२०७९ | २६.३१५८ |
| २०७९/२०८० | ३१.५७८९ |
| २०८०/२०८१ | ३६.८४२१ |
| २०८१/२०८२ | ३१.५७८९ |
२०८० जेठमा नेप्सेमा सूचीकृत भएको सिटी होटलको सेयर मूल्य एक वर्षमा सर्वाधिक प्रति कित्ता ५४३ रुपैयाँसम्म पुगेकामा अहिले ३०० रुपैयाँ छ। कम्पनीले बिजनेस बढाउन सकेको छैन।
व्यापार खस्किएका कारण दायित्व घटाउन सिटीले हकप्रद सेयर निष्कासन गरेको थियो। तैपनि वित्तीय स्थितिमा सुधार आउन सकेको देखिँदैन। हकप्रद सेयर ल्याएको होटलले लगानीकर्तालाई प्रतिफल दिन पुँजी वृद्धिका कारण दायित्व घटाएर नाफा बढाउनुपर्ने दबाब छ।
तारागाउँ रिजेन्सीको लाभांश प्रतिशत
| आर्थिक वर्ष | लाभांश प्रतिशत |
| २०७३/२०७४ | ७.३६ |
| २०७४/२०७५ | १२.६३१ |
| २०७५/२०७६ | १२ |
| २०७६/२०७७ | १० |
| २०७८/२०७९ | ८.४२ |
| २०७९/२०८० | १५ |
| २०८०/२०८१ | ११ |
| २०८१/२०८२ | ५ |
बन्दीपुर केबलकार आइपीओ बिक्री गरेर एक वर्षअघि नेप्सेमा सूचीकृत भएको कम्पनी हो। कम्पनीको सेयर मूल्य एक वर्षमा प्रति कित्ता १२३३ रुपैयाँसम्म पुगेकामा अहिले ५०७ रुपैयाँ छ।
होटल फरेस्ट इन २०८२ फागुनमा नेप्सेमा सूचीकृत भएको कम्पनी हो। यसको सेयर मूल्य एक वर्षमा १४५० रुपैयाँसम्म पुगेको थियो। अहिले प्रति कित्ता ४८४ रुपैयाँ छ।
पछिल्लो पटक सूचीकृत यी कम्पनीको दायित्व बढी र व्यापार कमजोर हुँदा वित्तीय सूचक पुराना कम्पनीको जस्तो अब्बल बन्न सकेको छैन। नाफा आर्जन गर्न समय लाग्ने भएकाले पनि कम्पनीलाई प्रतिफल वितरणमा समय लाग्न सक्छ।
सूचीकृत भएको छोटो अवधिमै कम्पनीले सेयरधनीलाई प्रतिफल वितरण गरेनन् भन्नु अहिले नै हतार हुन्छ। तर, व्यापार, नाफा, अन्य सूचक र सेयर मूल्यका हिसाबले नयाँ होटल पुराना कम्पनीभन्दा कमजोर देखिएका छन्।
ओरियन्टल होटलको प्रतिफल विवरण
| आर्थिक वर्ष | लाभांश प्रतिशत |
| २०७०/२०७१ | १० |
| २०७१/२०७२ | २० |
| २०७२/२०७३ | २६.३२ |
| २०७३/२०७४ | २४.२१ |
| २०७४/२०७५ | २६.३२ |
| २०७५/२०७६ | १५.७९ |
| २०७९/२०८० | ५.२६३२ |
| २०८०/२०८१ | ५.२६३२ |










