काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को आज फाइनल खेल हुँदैछ। उपाधि जित्नका लागि सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्दैछन्। कीर्तिपुरस्थित टीयू मैदानमा साँझ ५ बजे यो खेल सुरु हुनेछ।
फाइनलका विभिन्न आकलनहरु चलिरहँदा केही रोचक पक्षहरु पनि छन्। एनपीएलको ट्रफी जसले जिते पनि एउटा घरमा एक च्याम्पियन पक्कै बन्ने छ, त्यो हो – शेख दाजुभाइको घर।

सुदूरपश्चिम रोयल्सका आरिफ शेख र लुम्बिनी लायन्सका आशिफ शेख सरोहर दाजुभाइ हुन्। आज जुन टोलीले जिते पनि उनीहरुको घरमा एक च्याम्पियन भने पक्कै हुनेछन।
यी दाजुभाइ फाइनलमा भिडेको यो पहिलो पटक भने होइन। यसअघि एनपीएलको पहिलो संस्करणमा आशिफ शेखले जनकपुर बोल्ट्सबाट खेल्दा आरिफले सुदूरपश्चिमबाटै फाइनल खेलेका थिए। त्यसबेला आशिफ च्याम्पियन बने। दोस्रो संस्करणमा आशिफ जनकपुरमै रहे, लिग चरण कट्नै सकेनन्। तेस्रो संस्करणमा भने उनी लुम्बिनीमा पुगे। यसपाला पनि फाइनल खेल्न लागेका उनी आफ्नो दाजु रहेको टोली सुदूरपश्चिम रोयल्सविरुद्ध भिड्नेछन्।
त्यस्तै, सुदूरपश्चिम पहिलो र लुम्बिनी लायन्स दोस्रो उपाधिका लागि मैदान उत्रँदा एक खेलाडी यस्ता छन् जो तेस्रो उपाधिका लागि मैदान उत्रँदैछन्। ती खेलाडी हुन्, शेर मल्ल। उनले पहिलो संस्करणमा जनकपुरबाट खेल्दै च्याम्पियन बनेका थिए। दोस्रो संस्करणमा लुम्बिनी पुगेर उनी फेरि च्याम्पियन बने। तेस्रो संस्करणमा उनी लुम्बिनीमै छन्।

आज लुम्बिनी च्याम्पियन बनेको खण्डमा लगातार तीन सिजन च्याम्पियन बन्ने उनी पहिलो खेलाडी बन्नेछन्।
एनपीएल विजेताले ट्रफीसँगै डेढ करोड रुपैयाँ पुरस्कार पाउने छ। दोस्रो हुनेले ८० लाख, तेस्रो हुनेले ४० र चौथो हुनेले ३० लाख रुपैयाँ पाउनेछन्।
‘तेस्रो संस्करणसम्म आइपुग्दा धेरै उचाइ प्राप्त भइसकेको छ। क्यानका अध्यक्ष चतुरबहादुर चन्दको नेतृत्वले लिएको लक्ष्य अनुसार हामी स्वर्णिम युगमा प्रवेश गरेका छौं,’ क्यानका कोषाध्यक्ष पदम खड्काले एनपीएलअघि भनेका थिए, ‘स्पोन्सरबाट मात्रै क्यानले २० करोड रुपैयाँ उठाउने। टिकेटिङ र टिकेटिङ पाटर्नर सबै गरेर ७० देखि ७५ करोड रुपैयाँ उठ्नेछ। त्यही हाराहारीमा एनपीएलका क्लबले कारोबार गर्नेछन्। एक महिनामा डेढ अर्बको कारोबार हुनेछ,’ उनले भनेका छन्।

एनपीएलको लिग अवधिभर लगभग सबैजसो दिन टिकट सोल्डआउट भएको थियो। फाइनलमा त टिकट खुल्नेबित्तिकै सोल्डआउट हुँदा फ्यानहरु टीयू मैदानमै पुगेर विरोध गरेका थिए। क्यानले भने एकैपटक २ लाख प्रयोगकर्ताले टिकट लिन खोज्दा तत्काल सोल्डआउट भएको जनाएको छ। क्यानले समर्थकहरुलाई घरमै बसेर आधिकारिक प्लाटफर्ममार्फत खेल हेर्न अनुरोध गरेको छ।









