सेयर लगानीकर्ताको हातमा १७ अर्ब ३० करोड नगद लाभांश, बढ्ला आर्थिक गतिविधि?

आकाश बोगटी
२०८३ मंसिर ७ गते ०६:०० | Nov 23, 2026
सेयर लगानीकर्ताको हातमा १७ अर्ब ३० करोड नगद लाभांश, बढ्ला आर्थिक गतिविधि?

काठमाडौं। नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीका सेयरधनीको हातमा १७ अर्ब ३० करोड रुपैयाँ नगद लाभांश पुगेको छ।

GBIME
Tata

नेप्सेमा सूचीकृत झन्डै पाँच दर्जन कम्पनीले लाभांश घोषणा गरेकामा ३५ वटाले कर प्रयोजनसहित १७ अर्ब ३० करोड रुपैयाँ दिएका हुन्। यसमा म्युचल फण्डका व्यवस्थापकले बाँडेको नगद लाभांश समावेश छैन। डेढ दर्जन कम्पनीले सेयर लगानीकर्तालाई नगद लाभांश मात्रै दिएका छन्।

रकमका आधारमा नबिल बैंकले सबैभन्दा धेरै ३ अर्ब १५ करोड, ग्लोबल आइएमई बैंकले २ अर्ब ३७ करोड ८४ लाख, सिद्धार्थ बैंकले १ अर्ब ५८ करोड ६९ लाख, एभरेष्ट बैंकले १ अर्ब ४४ करोड, सानिमा बैंकले १ अर्ब ४१ करोड र नेपाल इन्फ्रास्ट्रक्चर बैंकले १ अर्ब १३ करोड ६८ लाख रुपैयाँ बाँडिसकेका छन्।

युनिलिभर नेपालले सबैभन्दा धेरै अर्थात प्रति कित्ता १५४० रुपैयाँका दरले सेयरधनीलाई १ अर्ब ४१ करोड ७८ लाख रुपैयाँ बाँड्दैछ। एनएमबी बैंकले मंसिर २५ गते साधारण सभाबाट पारित गरेपछि सेयरधनीलाई १ अर्ब ४७ करोड रुपैयाँ बाँड्नेछ।

धेरै कम्पनीले बोनस सेयरको तुलनामा नगद लाभांशलाई प्राथमिकता दिएका छन्। धेरै कम्पनीले लाभांश घोषणा गर्नै बाँकी छ। नगद लाभांशका रुपमा लगानीकर्ताको हातमा पुग्ने रकमले सुस्त रहेको अर्थतन्त्रमा उपभोग बढाएर बजारमा आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्ने जानकारहरुको भनाइ छ। रकम उपभोगमा खर्च हुँदा वस्तु तथा सेवाको माग बढ्छ जसको लाभ व्यापार, उद्योग र सेवा क्षेत्रमा पुग्छ।

नेपाल राष्ट्र बैंकले पछिल्ला दुई वर्षदेखि बैंक तथा वित्तीय संस्थालाई नगद लाभांश वितरण गर्न जोड दिँदै आएको छ।

पुँजीकोष दबाबमा रहेका संस्थालाई हकप्रद सेयरमार्फत पुँजी बढाउन सहजीकरण गरिरहेको राष्ट्र बैंकले लगानीकर्ताको हातमा पैसा पुर्‍याउँदा त्यसले आर्थिक गतिविधि बढाउन टेवा पुग्ने भन्दै बैंक तथा वित्तीय संस्थाहरुलाई नगद लाभांश वितरणमा प्रोत्साहन गरिरहेको हो।

एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) गोविन्द घिमिरे नियामकीय आवश्यकताअनुसार पर्याप्त पुँजी रहेका बैंकले व्यवसाय विस्तारका नयाँ अवसर सीमित भएकाले बोनस सेयर वितरण गरेर चुक्ता पुँजी बढाउनुको सट्टा नगद प्रतिफललाई प्राथमिकता दिएको बताए।

‘नियामकीय आवश्यकताअनुसार हाम्रो पुँजी पर्याप्त छ। बोनस सेयर दिंदा पुँजी त बढ्छ तर त्यसले दबाब पनि सिर्जना गर्न सक्छ। त्यसकारण हामीले नगद लाभांश दिने निर्णय गरेका हौं,’ उनले भने।

एनएमबि बैंकले गत वर्षको मुनाफाबाट सेयरधनीलाई १ अर्ब ४४ करोड रुपैयाँ लाभांश बाँड्दैछ। ७ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न बैंकले मंसिर २५ गते साधारण सभा बोलाएको छ।

स्टाण्डर्ड चार्टर्ड बैंकले सेयरधनीलाई १ अर्ब ६० करोड ४१ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न मंसिर २३ गते ४०औं वार्षिक साधारण सभा राखेको छ।

गत आर्थिक वर्षको मुनाफाबाट कुन कम्पनीको लाभांश रकम कति?

कम्पनीनगद लाभांश (रुपैयाँमा)
युनिलिभर नेपाल१,४१,७८,७८,०००
रिलायन्स स्पिनिङ मिल्स५७,००,००,०००
काबेली हाइड्रोपावर६३,५६,२२,९५३
स्ट्यान्डर्ड चार्टर्ड बैंक१,६०,४१,००,०००
कामना सेवा५७,९२,८९,६२२
मन्जुश्री फाइनान्स२०,२७,३२,९२७७
सर्वोत्तम सिमेन्ट७८,३६,४१, २५०
छिमेक लघुवित्त४७,१५,८०,१२६
मान्डू हाइड्रोपावर१६,३६,३६,४४०
फर्स्ट माइक्रोफाइनान्स१४,८६,४३,६७३
नबिल बैंक३,१५,००,००,०००
रिज लाइन इनर्जी१२,४२,५४,०००
आइसीएफसी फाइनान्स१२,४५,७५,०००
एभरेष्ट बैंक१,४४,००,००,०००
सानिमा बैंक१,४१,०५,५२,५४१
गरिमा विकास बैंक६०,२१,३४,०००
शाइन रेसुङ्गा५०,२१,९७,२७२
सिद्धार्थ बैंक१,५८,६९,००,०००
आरएसडीसी लघुवित्त९,७२,०२,०५५
एनएमबि बैंक१,४७,१९,४५,०००
सांग्रिला डेभलपमेन्ट बैंक२४,३६,९७,१०२
नेपाल ल्युब आयल५२९२१३८
ग्लोबल आइएमई बैंक२,३७,८४,२९,२१४
मितेरी डेभलपमेन्ट बैंक७३,०२६,०१२
नेपाल इन्फ्रास्टक्चर बैंक१,१३,६८,५१,२००
सानिमा मिडिल तमोर१७,५२,८९,५००
सोनापुर मिनरल्स एण्ड आयल१६,१७,४७,६३०
सानिमा माई हाइड्रोपावर१८,६८,९९,६९०
नेपाल एसबिआई बैंक५४,९७,५३,५३३
सुपरमाई हाइड्रो२८,३७६,४००
महालक्ष्मी विकास बैंक१७,०५,२६,४२५
भिजन लुम्बिनी उर्जा७,०३,८०,०००
ग्लोबल आइएमई लघुवित्त२,२६,९०,०००
माछापुच्छ्रे बैंक४३,७०,००,०००
कुमारी बैंक५५,०७,४३,०८७

कम्पनीहरूले बोनस सेयर दिँदा चुक्ता पुँजी बढे पनि व्यवसाय विस्तार गर्न नसकेको अवस्थामा प्रति सेयर आम्दानी (ईपीएस) घट्ने जोखिम हुन्छ। त्यसैले बैंक तथा वित्तीय संस्था र अरु कम्पनीले बोनस सेयरभन्दा नगद प्रतिफललाई प्राथमिकता दिएका छन्।

पूर्वबैंकर अनलराज भट्टराई कम्पनीले नगद प्रतिफल दिंदा लगानीकर्ताले आफ्नो प्रयोजन अनुरुप खर्च गर्न पाउने बताउँछन्।

‘नेप्सेमा फाइनान्सियल सेक्टरको हिस्सा धेरै छ। बैंक तथा वित्तीय संस्थाको पुँजी धेरै भइसकेको छ,’ उनले भने, ‘कोभिडयता लगानी बढाउन सकिएको अवस्था छैन। यस्तो बेला बोनस सेयर दिँदा पुँजी बढेर व्यवसाय बढाउनुपर्ने दवाब हुन्छ। त्यसकारण उनीहरुले नगद लाभांश बाँडिरहेका हुन्। सेयरधनीले नगद पाउँदा त्यो रकम उपभोगदेखि ऋण तिर्ने, लगानी बढाउने लगायत प्रयोजनमा खर्च हुन्छ। यसले बजारमा पैसाको प्रवाह बढाउँछ।’

बजारमा पैसाको प्रवाह बढेर उपभोग्य वस्तुको माग बढ्दा उत्पादनमूलक कम्पनीलाई थप वस्तु उत्पादन गर्ने अवसर मिल्छ। तर लाभांशको रकम तत्काल नै सबै उपभोगमा खर्च हुन्छ भन्ने हुँदैन। सेयरधनीले बैंकमा बचत गरेर राख्न पनि सक्छन्।