भोटेकोशी बाढीले प्राधिकरणका आयोजनामा भएको क्षति धमाधम अध्ययन गर्दै एनइए इन्जिनियरिङ

बिजमाण्डू
२०८३ मंसिर ८ गते १७:४८ | Nov 24, 2026
भोटेकोशी बाढीले प्राधिकरणका आयोजनामा भएको क्षति धमाधम अध्ययन गर्दै एनइए इन्जिनियरिङ

काठमाडौं। भोटेकोशी बाढीले क्षतिग्रस्त नेपाल विद्युत प्राधिकरणका विभिन्न ५ वटा आयोजनाको पुनर्निर्माणका लागि अध्ययन सुरु गरिएको छ।

GBIME
Tata

आयोजनाको पुनर्निर्माणका लागि आवश्यक पर्ने आर्थिक र प्राविधिक पाटोबारे अध्ययन सुरु गरिएको हो। क्षतिग्रस्त आयोजनाको विस्तृत प्राविधिक मूल्यांकन तथा पुनर्निर्माणका लागि डिजाइन र फाइनान्सिङको विषयमा परामर्शदाताका रूपमा एनइए इन्जिनियरिङ कम्पनीले काम सुरु गरेको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) चिरनटन विक्रम राणाका अनुसार अध्ययनको दायरामा जलविद्युत, सवस्टेसन र सौर्य ऊर्जा गरी ५ वटा संरचना परेका छन्।

‘हामीले ३ वटा हाइड्रोपावर, एउटा सवस्टेसन र सोलार आयोजनाको अध्ययनको जिम्मेवारी पाएका छौं। हामीले काम पनि सुरु गरिसकेका छौं,’ सीइओ राणाले भने।

कम्पनीले आयोजनास्थलमा पुगेर संरचनाहरूको अवस्था, क्षतिको विवरण, उपकरणहरूको स्थिति र आवश्यक इन्जिनियरिङ डिजाइनबारे विस्तृत प्रतिवेदन तयार पार्नेछ। कम्पनीले पहिलो चरणमा संरचनागत अवस्था र प्राविधिक सम्भाव्यताको आकलन गर्नेछ।

प्राधिकरणका उत्पादन निर्देशनालयका उपकार्यकारी निर्देशक किरण कुमार श्रेष्ठका अनुसार कम्पनीलाई संरचना र पूर्वाधारको अवस्था, उपकरण र मर्मत सम्भाव्यता, उत्पादन क्षमता र डिजाइन, पुनर्निर्माण मोडालिटी र लागतको विषयमा अध्ययन गर्ने जिम्मेवारी दिइएको छ।

‘हाम्रा आयोजना पूर्णरूपमा वासआउट भएका छन्। अहिलेसम्म कुन आयोजनाका कुन-कुन इक्विपमेन्टमा क्षति पुगेको छ? कुन-कुन पूर्वाधार मर्मत गरेर सञ्चालन गर्न सकिन्छ? र कति काम लाग्ने छन् भन्ने यकिन छैन,’ श्रेष्ठले भने, ‘अध्ययनको रिपोर्टपछि पुनर्निर्माण कसरी गर्ने भन्ने हुन्छ।’

बाढीले प्राधिकरणका पाँच वटा आयोजना ध्वस्त छन्। २२ मेगावाट क्षमताको चिलिमे, २४ मेगावाटको त्रिशूली, १४.१ मेगावाटको देवीघाट, ६० मेगावाटको माथिल्लो त्रिशूली थ्री ए र २५ मेगावाटको नुवाकोट सौर्य आयोजना भदौ १० गतेको बाढीले ध्वस्त भएका हुन्। यस्तै प्रसारण लाइनतर्फ त्रिशूली थ्री बी हब सबस्टेसन पनि बाढीमा परेको छ।

प्राधिकरणले पुनर्निर्माणका लागि सहयोग गर्न भारत, चीन र विश्व बैंकलाई आग्रह गरेको छ। यसअघि ती आयोजना भारत, चीन र विश्व बैंकको सहयोगमा निर्माण भएका थिए।

उनीहरुले सहयोग नगरेको अवस्थामा वैकल्पिक स्रोतबाट कसरी लगानी जुटाउने भन्ने विषयमा समेत छलफल भइरहेको प्राधिकरणका अधिकारीहरुले बताएका छन्।